
काठमाडौ: बलामी इन्टरटेनमेन्ट अन्तर्गत नेफा अवार्ड आयोजना हुने भएको छ। आगामी दशैंपछि हुने उक्त अवार्डलाई बलामी फिल्म इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो।
नेफा अवार्डका लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने भएका छन्। २१ जना फिल्म पत्रकारको समूह बलामी फिल्म इन्टरटेनमेन्ट मिडिया ग्रुपले नेपाली फिल्मको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त अवार्ड समारोहको घोषणा गरेका हुन्।
अवार्डमा पपुलरतर्फ ५ विधा रहनेछन् भने १४ विधामा निर्णायकले चयन गर्ने छन्। पपुलर अवार्ड भने दर्शकको भोटिङका आधारमा दिइने बताइएको छ। करिब २ करोडको लगानीमा आयोजना हुन लागेको अवार्ड समारोहलाई चार चरणमा विभाजन गर्दै पहिलो चरणमा घोषणा, दोस्रोमा मनोनयन सार्वजनिक समारोह, तेस्रोमा अवार्ड वितरण र चौथोमा विशेष धन्यवाद समारोह गरिने बलामी इन्टरटेनमेन्टका अध्यक्ष तथा सञ्चारकर्मी समीर बलामीले जानकारी दिए।
लाइफ टाइम एचिभमेन्ट अवार्डमा भने १ तोला सुन र नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ राखिएको छ।
पपुलर अवार्डतर्फ फिल्म, अभिनेता, अभिनेत्री, सिंगर मेल र सिंगर फिमेल रहेका छन्। त्यस्तै बेस्ट अवार्डमा भने फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, नव निर्देशक, नव अभिनेता, नव अभिनेत्री, संगीतकार, पटकथाकार, सिनेम्याटोग्राफर र आदिवासी फिल्मलगायत रहने बताइएको छ।