
काठमाडौं: टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका विभिन्न जिल्लाका झन्डै दुई दर्जन टावरमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले आगजनी गरेको छ। आगजनीबाट टावरमा क्षति पुगेको छ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र नेपाल टेलिकमको एउटा टावरमा यसरी आगजनी भएको हो । प्रहरीका अनुसार बुधबार साँझदेखि आज बिहानसम्मको विवरण बमोजिम धेरै ठाउँमा जुटको बोरा सल्काएर टावरमा आगजनी गरेको देखिएको छ।
प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले 'विप्लव' नेकपाले नै आगजनी र तोडफोड गरेको जानकारी दिँदै अर्घाखाँचीको टावरमा आगजनीमा संलग्नताको आरोपमा एक जनालाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न ठाउँम रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको छ।
प्रहरीले अर्घाखाँचीको पाणिनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको जनाएको छ। गएराति ललितपुरमा भने प्रेसरकुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको डिस्पोजल टोलीले बम निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ। 'विप्लव' नेतृत्वको नेकपाले विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो ।