PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

जेलमा 'ड्रग डिलर' भन्दा एडिक्ट धेरै : बढ्दो 'ट्रेन्ड'मा लागू औषध प्रयोगकर्ता



सविन ढकाल

जेलमा 'ड्रग डिलर' भन्दा एडिक्ट धेरै : बढ्दो 'ट्रेन्ड'मा लागू औषध प्रयोगकर्ता
प्रतीकात्मक फोटो : एएफपी

काठमाडौं : लागु औषध कारोबारी प्रहरीका लागि सधैं 'ठूलो माछा' हुने गर्छ। कदम्, त्यस्ता ठूला माछा जालमा पर्‍यो भने बढो तामझामका साथ सार्वजनिक गरिन्छ। अझ समातिने अभियुक्त विदेशी नागरिक रहेछ भने त ठूलै हल्लाखल्ला हुन्छ। पत्रकार सम्मेलन आयोजना हुनु सामान्य बन्छ त्यस्तो अवस्थामा।

समातिएको कारोबारी स्वदेशी पर्‍यो भने कम्तिमा प्रेस रिलिज निकालेर प्रहरीले आफ्नो सफलताको राम्रै प्रचार गर्छ।

यस्ता सबै घटनाक्रमबाट धेरैलाई लाग्न सक्छ, देशभित्र लागु औषध कारोबारी कति धेरै बढेका होलान्? तर, प्रहरीको तथ्याङकले ठीक उल्टो जवाफ दिन्छ - लागू औषध कारोबारीभन्दा सेवनकर्ता बढे।

गएको आर्थिक वर्षमा देशभर झन्डै ११ प्रतिशतले लागु औषध प्रयोगकर्ताको संख्या वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७४/७५ मा ३ हजार ८८ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए यससम्बन्धमा। त्यस्तै २०७५/७६ मा ३ हजार ३५७ वटा मुद्दा दर्ता भएका छन्।

केही ग्राम लागु औषधसहित पक्राउ परेकाहरू अदालतको आदेशबाट जेलसम्म पुग्ने गरेका छन्। उपत्यकाभित्र रहेका तीन जेलमा हेर्ने हो भने सबैभन्दा धेरै लागु औषध सम्बन्धी मुद्दाका थुनुवा रहेका छन् - त्यसमा पनि सबैभन्दा धेरै लागु औषध सेवनकर्ता।

क्षमताको हिसाबले देशका ठूला कारागार भनिएको केन्द्रीय कारागार सुन्धारा, डिल्लीबजार कारागार र नख्खु कारागारमा अहिले लागु औषध मुद्दामा १ हजार २ सय ३१ जना थुनामा रहेका छन्। जसमा सेवनकर्ताको सङ्ख्या कारोबारीको तुलनामा झन्डै दोब्बर रहेको छ। सात सय ६८ जना सेवनकर्ता थुनामा रहँदा ३४८ जना लागु औषधी कारोबारी जेलमा छन्।

केन्द्रीय कारागार सुन्धारामा २५ सय कैदी बन्दी छन्। यीमध्ये ७ सय ३० जना लागु औषध मुद्दामा रहेका छन्। ३ सय ३९ जनाको फैसला भइसकेर कैद सजाय सुनाइएको छ। बाँकी ३ सय ९१ जना पुर्पक्षका लागि जेल पुगेका हुन्। यसरी थुनामा रहेका मध्ये ५ सय ५० जना सेवनकर्ता हुन्। १ सय ८० जनालाई बेचबिखनमा थुनिएको हो। ४९ जना विदेशी सेवन र कारोबारीका रूपमा जेलमा छन्।

केन्द्रीय कारागारमा पुरुष मात्र होइन महिलाको पनि सङ्ख्या उत्तिकै देखिन्छ। ८२ जना महिला लागु औषध मुद्दामा जेलमा छन्। जसमा सेवन कर्ता ४९ र कारोबारी १३ जना छन्। १९ जनाको फैसला भइसकेको छ भने बाँकी अदालतको निर्णय कुरेर बसेका हुन्। यसरी कारागारमा रहनेमा २० जना विदेशी महिलासमेत छन्।

‘युवा पुस्तालाई यसले नराम्रोसित गाँजेको छ। जनचेतनाको अभावले पनि लागु औषधि सेवनकर्ता बढी रहेका छन्,' लागु औषध नियन्त्रण व्यूरोका एसएसपी वसन्त लामाले भने।

डिल्लीबजार कारागारमा ६ सयभन्दा बढी कैदी बन्दी रहेका छन्। जसमा ९० जना लागु औषध मुद्दामा थुनामा पुगेका हुन्। डिल्लीबजार कारागारमा पनि सेवनकर्ताको कमी छैन। ३२ जना सेवन गरेको मुद्दामा जेलमा छन्। ९० जना मध्ये ४८ जनाको मुद्दा फैसला भइसकेर कैद सजाय तोकिएको छ। २ जना विदेशीसमेत रहेका छन्।

ललितपुरको नख्खु कारागारमा १३ सय जना थुनुवा छन्। ३ सय २९ जना लागु औषध मुद्दामा थुनामा रहेका छन्। लागु औषध कारोबारीभन्दा ५५ जनाले बढी सेवनकर्ता रहेका छन् त्यहाँ। प्रहरीको तथ्याङ्क अनुसार १ सय १५ जना लागु औषध कारोबारी रहेका छन्। अदालतबाट ७३ जनाको फैसला भइ कैद सजाय सुनाइसकिएको छ। ४४ जना विदेशी समेत रहेका छन् नख्खुमा। प्रहरीले लागु औषध ऐन २०३३ लाई टेकेर मुद्दा चलाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell