
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उप कप्तान रोहित शर्माबीचको सम्बन्धलाई लिएर मिडियामा धेरै बहस भए। बेलायतमा आयोजना भएको आइसीसी क्रिकेट वर्ल्डकप २०१९ को सेमिफाइनलबाट घर फर्किनु परेको भारतीय टिमका यी दुई लिडरप्रति भारतीय मिडियाको कडा प्रस्तुती पनि सार्वजनिक भएको थियो। तर, वेस्ट इन्डिजसँग टी २० खेल्ने तयारीमा रहेको उनीहरुले मिडियामा आएका विषयको कडा प्रतिवाद गरेका छन्।
रोहित शर्मासँगको सम्बन्धलाई लिएर गरिएको टिप्पणीप्रति भारतीय टिमका कप्तान विराट कोहली कडा रुपमा प्रस्तुत भए लगत्तै रोहित शर्मा पनि किन कम हुन्थे। उनले ट्विट गरे - म टिमका लागि मात्र होइन, देशका लागि खेल्छु।
कोहलीले उनीहरुबीचको सम्बन्धलाई लिएर मिडियामा आएको विषयको प्रतिकार गरेलगत्तै रोहितले यस्तो टिप्पणी गरेका हुन्।
'हामीबारे झुटो प्रचार गरिन्छ। नचाहिने कुरालाई हामी बढ्दै ध्यान दिन्छौं,' वेस्ट इन्डिजसँगको टुरमा निस्किनुअघि कोहलीले भनेका थिए, 'यस्तो कुरा लामो समयदेखि देखिरहेको छु। व्यक्तिलाई जबरजस्ती तानिएको छ। म र रोहितबीच कुनै समस्या छैन।'
कोहलीको यस्तो प्रष्ट भनाइ आउनुअघि भने मिडियामा भारतको सेमिफाइनलमा भएको पराजयलाई लिएर दुईजनाबीच मनमुटाव बढेको खबर भाइरल भएको थियो।