
काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पेरिस डाँडा पुगेर शहीदहरु प्रति श्रद्धान्जली ब्यक्त गरेका छन्।
मन्त्री नियुक्त हुनासाथ तत्कालीन नेकपा माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडा पुगेर जनयुद्ध र जनआन्दोलनका शहीदहरुको सम्झनामा निर्माण गरिएको स्मारकमा माल्यापर्ण गरे। पेरिस डाँडामा तत्कालीन माओवादीले शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा शहीद तथा बेपत्ता योद्धा स्तम्भ निर्माण गरेको छ। त्यहाँ पुगेर उनले शहीदप्रति श्रद्धान्जली ब्यक्त गरेका हुन्।
मन्त्री भट्टराईले आजै बिहान तत्कालीन नेकपा एमालेको पुरानो पार्टी कार्यालय रहेको मदननगर बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका थिए।
यसैबीच नवनियुक्त मन्त्री भट्टराईले आफूले काम गर्न नसके तत्काल पछाडि हट्ने प्रतिक्रियासमेत दिएका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसकेको महसुस गर्नासाथ राजिनामा दिने घोषणा गरे।
'उहाँले सबै मन्त्रीसँग करार सम्झौता गर्नुभयो हिजो। म भर्खरै हिजो आएँ। त्यसैले मैले हिजो गर्न पाएको छैन,' उनले भने, 'मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु। केही दिनभित्र म गर्छु। सबभन्दा मेरो ठूलो करार सम्झौता यही हुन्छ - जुन दिन मैले काम गर्न सकिन अथवा म असफल भएँ। वा मैले काम अगाडि बढाउन सकिन भन्ने प्रधानमन्त्रीलाई महसुस भयो भने त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नुहुनेछ, म पछाडि हट्छु।'
उनले प्रधानमन्त्री ओलीको आफू आलोचक र कटोर समर्थक पनि रहेको स्पष्ट पारे।
'सुखी नेपाली समृद्ध नेपाल' भन्ने सरकारको नारालाई पर्यटन मन्त्रालयको तर्फबाट अभियानलाई साथ र पूरा गर्न पर्यटन प्रवर्द्धनको तर्फबाट नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन एकीकृत ढंगले कामहरुलाई अगाडि बढाउने प्रतिवद्धतासमेत जनाए। उनले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य भएको बताए।
उनले आफ्नो निगरानी गर्नसमेत मिडियालाई आग्रह गरे। मन्त्रालयमा भएका विकृति विसंगतीलाई केलाउँदै अगाडि बढ्ने आफ्नो काम भएको उनको भनाइ थियो।
नवनियुक्त मन्त्री भट्टराईले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीका अधुरा काम पूरा गर्ने बताए।
'मैले पदभार ग्रहण गर्दा मैले उहाँ (रवीन्द्र अधिकारी)लाई सम्झेको छु। त्यो मन्त्रालयमा उहाँले त्यहाँका कामहरु अगाडि बढाउनु भयो। त्यसलाई नयाँ उचाइ दिने जिम्मेवारी मेरो काँधमा आएको छ,' उनले भने, 'प्रधानमन्त्रीले विश्वास गरेर मलाई यो ठाउँ दिनुभएको छ। त्यसलाई कुठाराघात हुन नदिनु मेरो दायित्व हो।'
आम नेपाली जनताले धेरै ठूलो बधाई दिएको भन्दै त्यो बधाई आफ्ना लागि चुनौती भएको बताए।
मन्त्री भट्टराईले अस्वभाविक बाटोबाट आफू मन्त्री बन्न पुगेको बताए।
'एउटा अस्वभाविक बाटोबाट म यहाँ आइपुगेको छु,' उनले भने, 'यसलाई स्वभाविक मार्ग दिने मेरो कर्तव्य हुन्छ। र त्यो कर्तव्यका साथ म अगाडि बढ्छु।'
मन्त्रालयको जिम्मेवारी लिएर आएको केही घन्टा भएको भन्दै केही दिनपछि मन्त्रालयका काम कारवाहीका बारेमा सार्वजनिक गर्ने बताए।
'मन्त्रालयका काम कारवाहीको बारेमा त्यहाँका विवादास्पद कतिपय विषयबस्तुका बारेमा र हामीले मन्त्रालयले लिने निर्णयहरुका बारेमा सविस्तार आमसंचार माध्ययमबाट नेपाली जनतालई बताउँछु,' उनले भने।
पाँच महिना मन्त्रालय खाली जस्तो अवस्थामा रहेको भन्दै उनले यसबीचमा रोकिएर रहेका मन्त्रालयका कामहरुलाई द्रुत गतिमा अगाडि बढाउने बताए।
भ्रमण वर्ष २०२० लाई सफल बनाउन तथा गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई भ्रमण वर्षलाई नै लक्षित गरी सन्चालन गरिने मन्त्री भट्टराईले बताए।
त्यस्तै, मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधहरुलाई सबै राजनीतिक दलसँग सहमति जुटाएर सबै सम्बन्धित निकायसँग समन्वय गरी क्यालेण्डर वर्कको रुपमा अगाडि बढाउने बताए। उनले केही दिन भित्र आफुले गर्ने कामहरुको प्रतिवद्धता सार्वजनिक गर्ने बताए।