PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कर्णाली करिडोरमा कामको रफ्तार, बन्दैछ मानसरोबर जाने सबैभन्दा छोटो बाटो



पी बी खड्का

कर्णाली करिडोरमा कामको रफ्तार, बन्दैछ मानसरोबर जाने सबैभन्दा छोटो बाटो

सुर्खेत : कर्णाली प्रदेशलाई दक्षिणको भारत र उत्तरको चीनलाई जोड्ने मुख्य सडक हो कर्णाली करिडोर। प्रदेशको विकास र समृद्धिको मुख्य आधार मानिएको कर्णाली करिडोरको काम अहिले तीव्र गतिमा भइरहेको छ। ५१ प्रतिशत भन्दा बढी गरिबीको रेखामुनि रहेको कर्णाली प्रदेश करिडोर सञ्चालपछि कर्णालीवासीको मुहारमा उज्यालो छाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको तीन देश जोड्ने यो करिडोरको मुख्य बिन्दु कालिकोटको खुलालु हो। कालिकोटको खुलालुदेखि हुम्ला सिमीकोटसम्मको कूल लम्बाई १ सय ९६ किलोमिटर छ। बाँकेको जमुनाह हुँदै कर्णाली राजमार्ग र कालिकोटको खुलालुदेखि हुम्लाको सिमीकोट अनि हिल्सा र मानसरोबरसम्म करिडोरले सिधा सम्पर्क स्थापित गर्नेछ।

कर्णाली करिडोरलाई ‘जमुनाह–सिमकोट–हिल्सा प्रधानमन्त्री द्रुत मार्ग’ समेत नामाकरण गरिएको छ। बाँकेको जमुनाहदेखि हुम्लाको हिल्सासम्मको यो सडकको कूल लम्बाई ५ सय ३० किलोमिटर हुनेछ। यो सडक खण्डबारे चिनियाँ कम्पनीले सर्भे गरेर प्रारम्भिक प्रतिवेदनसमेत सरकारलाई बुझाइसकेको छ। अहिले कालिकोटको जीते बजारदेखि बाजुराको पिलीचौरसम्मको १ सय ३० किलोमिटर छिचोलिएको छ भने यातायातका साधनहरु सञ्चालनमा पनि छन्।

सेनाको भरमा करिडोर

अधिकांश करिडोरको काम नेपाली सेनाकै भरमा चलिरहेको छ। ठूला ठूला पहाड फुटाउनेदेखि लिएर चट्टान ब्लास्ट गर्ने काममा सेना तल्लिन छ। अरुले काम अघि बढाउन नसकेको करिडोरको सेनाले जिम्मा लिइसकेपछि मात्रै काम अघि बढेको हो।

कर्णाली करिडोर कालिकोटको खुलालुदेखि हुम्ला सिमीकोटसम्मको कूल १ सय ९६ किमीमा अहिले काम धमाधम भइरहेको छ। त्यस करिडोर अन्तर्गत कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा १ सय १३ किलोमिटर क्षेत्र पर्दछ। कूल १ सय ९६ किलोमिटर सडकको ५१ किलोमिटर खण्ड सडक विभागले र १ सय ४५ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ।

२०५७ सालदेखि चर्चामा रहेको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको सडक धेरैपछि मात्रै काम सुरु भयो। राजनीतिक अस्थिरता र दश वर्षे जनयुद्धको समयमा काम नै हुन सकेन। लामो समयसम्म चर्चामा रहे पनि काम भने २०७१ साल चैत ९ गते नेपाली सेनाले निर्माण कार्यको जिम्मा लिएपछि तात्यो। सेनाले जिम्मा लिएको विभिन्न स्थानमा गरी ६९ किलोमिटर सडकमा गाडी हुँइकिन थालिसकेको छ।

नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलका अनुसार कालिकोट खण्डको ४० किलोमिटर मध्ये ३८.५ किमी र बाजुरा खण्डको ४३ किमीमध्ये ३१ किलोमिटर सडकमा गाडी गुड्न थालेको हो।

कालिकोटको लालिघाट बजारदेखि बाजुराको हिमाली गाँउपालिकाको लेबडीसम्म सडक निर्माण भइसकेको छ। करिडोर अन्तर्गत गाडी गुडेपछि कालिकोट र बाजुरालाई यातायातले सिधा जोडेको छ।

सेनाले हुम्ला खण्ड अन्तर्गतको ६१ किलोमिटर सडकमध्ये १२ किलोमिटर सडक निर्माण गरिसकेको छ। हाल करिडोरको १ सय ७ किलोमिटरसम्म सडक निर्माणको काम भइरहेको छ। कालिकोटको खुलालुदेखि हुम्ला सिमीकोटमा पर्ने करिब आठ किलोमिटर क्षेत्रको कडा चट्टान फुटाइएको छ।

त्यस्तै, करिडोरको हुम्ला क्षेत्रमा पनि काम द्रुत गतिमा भइरहेको छ। दक्षिणतर्फको कवाडी सलिसल्लामा पनि सेनाले आफ्नो कामलाई तीब्र पारेको छ। बेलाबेलामा प्राकृतिक समस्याले काममा ढिलाइ भए पनि अन्य समयमा भने नेपाली सेनाले भीरमा विष्फोट गर्ने र सडक निर्माण गर्ने कार्य तीब्र पारेको छ। सडक मार्गले नछोएको हुम्लावासी विकास र सम्बृद्धिको मुल फुट्ने आशामा छन्।

करिडोर अन्तर्गत करिब ५०० मिटर कडा चट्टानी भाग अन्तिम चरणमा रहेकाले जतिसक्यो छिटो चट्टान फोडेर सक्ने हिल्सा सिमकोट सडक आयोजनाले जनाएको छ।

सिमकोट हिल्सा खण्डकै हेक्पा खोलादेखि च्याछरासम्मको सडक निर्माण कार्य पनि अन्तिम चरण छ। सिमकोट हिल्सा सडकको ९५ किलोमिटर छ। यो सडक खण्डमा हेक्पा, ताक्रु, सल्ली र याङगार खोला पुल निर्माण गर्नुपर्ने हुन्छ। तीमध्ये तीन वटाको टेण्डर आव्हान भएर निर्माणको चरणमा रहेको छ।

कर्णाली करिडोरकै हुम्लाको दक्षिणी क्षेत्रतर्फको सडकमध्ये ६१ किलो मिटरमा कवाडीदेखि सलिसल्लासम्म नेपाली सेनाले काम गर्ने जिम्मा पाएको छ। सेनाले कवाडी नदीमा बेलिब्रिज बनाउने काम अगाडि बढाइसकेको छ।

जतिसक्यो छिटो पुल निर्माण कार्य सम्पन्न गरेर हुम्ला जिल्ला राष्ट्रिय सडक संजालसँग जोडिने खुलालु लैफु कवाडी सलिसल्ला निर्माण कार्यदलले जानकारी दिएको छ। कुलमध्ये सेनाले २५ किलोमिटर सडकमा १५ किलोमिटर सडक निर्माण सकाएर यातायात सञ्चालनमा छ भने बाँकी ३६ किलोमिटर सडक पनि छिट्टै सुरु गर्ने छ।

झण्डै पौने अर्ब खर्च

कर्णाली करिडोर निर्माणमा हालसम्म करिब पौने अर्ब खर्च भएको छ। गत आर्थिक वर्षमा २० करोड मात्रै रकम विनियोजन गरेकोमा हालसम्म जम्मा करिब ८३ करोड बढी रकम खर्च भइसकेको छ। यता करिडोरको काममा तल्लिन नेपाली सेनाले भने थप ५५ करोड भए तोकिएको समय सीमामा सडकको काम पूरा हुने अपेक्षा गरेको छ।

करिडोरको १ सय ९६ किलोमिटर मध्ये हालसम्म सेनाले एक सय किलोमिटर सडक खण्डमा चट्टान फुटाइसकेको छ। तर, पनि हुम्लाको कुवाडी खोलामा पुल नहुँदा ट्रयाक खुलेको भए पनि सर्केघाटसम्म गाडी पुग्न सकेको छैन। कुवाडी खोलामा निर्माण गरिने ५१ मिटर बेलिब्रिज पुलका लागि सामान ढुवानी हुन सकेको छैन।

करिडोरले जगाएको आशा

करिडोरको काम धमाधम भइरहँदा स्थानीयमा विकास र सुविधा हुने आशाको डोरी कसिँदै गएको छ। वर्षौदेखि चर्को हवाई भाडा तिर्दै आएका हुम्लावासी पछिल्लो समय करिडोरको कामले निकै खुशी छन्।

दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माण र लत्ता कपडा हवाई मार्गबाट ढुवानी गर्ने हुम्लाबासी र उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने दिन अन्त्य हुने आशा लिएको हुम्ला ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल बताउँछन्।

‘अहिले जनताले स्वास्थ्य उपचारदेखि विद्यार्थीले पठनपाठन गर्न सम्म पनि ठूलै लगानी गर्नु पर्ने अवस्था छ,’ उनले भने, ‘करिडोर बनेपछि त्यो दिनको अन्त्य हुने र दैनिक उपभोग्यवस्तु लगाएतको सामग्री ढुवानीमा सहुलियत हुने आशा गरेका छौँ। साविकका कर्णाली अञ्चलका नागरिकले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने दिन पनि अन्त्य हुने विश्वास छ।’

अहिले छिमेकी जिल्ला बाजुराको धुलाचौरसम्म गाडी पुग्दा जिल्लाको दक्षिण क्षेत्रका दुई वटा अदानचुली र ताँजाकोट गाउँपालिकाका जनतालाई केही राहत भएको उनले बताए। कर्णाली करिडोर हुम्ला र हुम्लाबासीको विकास र सम्मृद्धिको आधार भएको उनको भनाई छ।

कर्णाली नदीको किनारैबाट सडकको ट्र्याक खोलिएको करिडोर सञ्चालनमा कर्णालीको विकासमा सहज हुने निश्चित छ। नेपाली सेनाको कडा संघर्ष र मिनेहतले करिडोरमा यातायातका साधन चले कर्णालीवासीको मुहार उज्यालिनेमा दुईमत छैन। करिडोरले आसपासका नागरिकहरुको दैनिकीमा समेत सुधार ल्याउने छ भने सडक छेउछाउका वस्तीसँगै कालिकोट, बाजुरा, मुगु र करिडोरसँग जोडिएको हुम्लाको तल्लो बस्तीलाई आउजाउ गर्न र दैनिक उपभोग्य वस्तु आपूर्ति गर्न सहज हुने देखिन्छ।

कर्णालीका नागरिकहरुको दैनिकी पनि फेरिने र घरआगँनको बारीमा उत्पादन भएको कृषिवस्तु बजारसम्म पुग्ने र बजारको वस्तु पनि सहज आपूर्ति हुने भएपछि नागरिकहरुको दैनिकीमा परिवर्तन आउने देखिन्छ। यसरी करिडोरले दक्षिण भारत र उत्तरको चीनसँगको दोहोरो सम्पर्कले कर्णाली प्रदेशको विकास र समृद्धिले छिट्टै फड्को मार्नेमा कुनै दुविधा छैन्।

बढ्नेछन् मानसरोवर यात्री

प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई समेत कर्णालीको आर्थिक समृद्धिको रुपमा लिएको छ। पर्यटन क्षेत्रको संरक्षण र प्रवर्धन गर्न सके यहाँको धार्मिक, ऐतिहासिक तिर्थस्थलले पर्यटकको मन जित्ने छ। करिडोर निर्माण पूरा भए चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक हुनेछ।

करिडोर पूर्णरुपमा निर्माणपछि सञ्चालनमा आए वर्षेनी भारतबाट मानसरोवर आउने हजारौँ पर्यटकका लागि निकै सहज र छोटो दुरीको मार्ग हुनेछ। जसले गर्दा मानसरोवर आउने पर्यटकको संख्यामा समेत वृद्धि हुने निश्चित देखिन्छ। अहिले पनि पनि मानसरोवर तीर्थयात्रा गर्ने भारतीय पर्यटक नेपालगञ्ज र सुर्खेत हुँदै हुम्ला पुग्ने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell