काठमाडौं : आफ्नै अपहरणको हल्ला फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी पर्साको टोली झुटो हल्ला फैलाउने दुई जनलाई नियन्त्रणमा लिएको हो। विन्दवसिनी गाउँपालिका वडा नम्बर ४ मधुवल बस्ने २३ वर्षीय उपनेस चौरसिया र २१ वर्षीय सनुप दास तत्वालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमिन्द्रसिंह राठौरले जानकारी दिए। उपनेस चौरसियालै आफू अपहरण भएको हल्ला फैलाउन लगाएको एसपी राठौरले बताए।
गत मंगलवार चौरसिया आफै मोटरसाइकल चलाएर भारतको रक्सौल पुगेका थिए। एउटै मोटरसाइकलमा पछाडि बसेर उनीसँगै गाँउका २८ निरंजन तिवारी र एजाजुल मिया अंसारी समेत रक्सौल पुगेका थिए। त्यसपछि उनीहरुले श्याम इन्टरनेशनल होटलको कोठा नम्बर ५ बुक गरेर बसेका थिए। होटेलमा पुगेपछि गाउँका अर्का साथी सनुपलाई बोलाएका थिए।
होटेलमा उनीहरु बीच अपहरण भएको नाटकको योजना बन्यो। योजनाअनुसार सनुप वीरगंज फर्किए। सनुपलाई मोटरसाइकलमा राखेर निरंजन र एजाजुल पनि फर्किएका थिए।
त्यसपछि सनुपले अपहण भएको हल्ला गाँउभर फैलाएका थिए। छोरो अपहरणमा परेको जानकारी पाएपछि आफन्तले प्रहरीमा उजुरी दिए।
‘अपहरणको नाटक गरेर आफ्नो परिवारसँग पैसा माग्ने योजना रहेछ। तर, हामीले पहिले नै विफल पार्यौं,' एसपी राठौंरले भने।
घटनामा संलग्न अन्य दुई जना भने अझै फरार रहेका छन्। उनीहरु गाँजा तस्कर भएको र तस्करीको फसेको रकम उठाउन अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानमा खुलेको एसपी राठौरले बताए। प्रहरीको अनुसन्धानमको क्रममा चारै जना भारतमा बसेर बिरयानी खाएको जानकारी आएपछि प्रहरीले सनुपलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणलगत्तै नक्कली अपहरणको पर्दाफास भएको थियो।