PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रहरीलाई निर्देशन दिन सहज कि जनताका एकपाने योजना बोकेर मन्त्रालय धाउन? सांसद नवराज सिलवाललाई पाँच प्रश्न



पहिलोपोस्ट

प्रहरीलाई निर्देशन दिन सहज कि जनताका एकपाने योजना बोकेर मन्त्रालय धाउन? सांसद नवराज सिलवाललाई पाँच प्रश्न

प्रहरी नेतृत्वको दौडमा पछि परेपछि तत्कालीन डिआइजी नवराज सिलवाल एकाएक राजनीतिमा होमिए। राजनीतिमा होमिएनन् मात्र सिलवालले आलोचकलाई एकपछि अर्को 'सरप्राइज' दिइरहे। उनीमाथि लागेका अभियोगबाट बच्न तत्कालीन एमालेमा प्रवेश गरेको परिचर्चा सेलाउन नपाउँदै सिलवालले प्रतिनिधिसभाको टिकटमात्र टुंगो गरेनन् संसद्को यात्रा पनि निश्चित गरे। ललितपुर कांग्रेसका परिचित युवा नेता उदयशमशेर राणालाई हराउँदै सिलवाल सांसद् बने। 

डिआइजीसम्‍म हुँदा सेलिब्रेटी प्रहरीको छवि बनाएका उनको खुला राजनीतिक यात्रा दुई वर्ष हाराहारीमा प्रवेश गरेको छ। प्रहरीको उच्च तहको अधिकारी र जनप्रतिनिधिको फरक फरक अनुभवबारे उनलाई हामीले सोधेका छौँ-

प्रहरीको उच्च तहमा रहेर निर्देशन दिन सहज कि जनताका एकपाने योजना बोकेर मन्त्रालय धाउन?

प्रहरीमाहुँदा सीमित दायरामा बसेर काम गर्नुपर्ने हुन्थ्यो। तर, म अहिले ठीक छु। यहाँ(राजनीतिमा)त असीमित दायरा हुन्छ। जनताले सांसद् बनाएर संस्थाको हैसियत दिनुभएको छ। सांसद् बनेर जनताको दुःख बोकेर जाँदा कुरा सुन्दिने ठाउँ छन्। जनताका काम गर्दिने अवस्था छ। काम गर्ने अवसरहरू छन्। अधिकारपूर्वक आफ्ना कुरा भन्न पाइएको छ। सन्तोष मान्ने वातावरण छ।

यसका लागि देउवा सरकारलाई धन्यवाद दिने गरेको छु।मेरा लागि झनै फराकिलो ढोका खुल्ला भयो। जनताको सेवा गर्न पाउनु, प्रतिनिधि बन्न पाउनु, उहाँहरूको समस्यामा सहजकर्ता हुन पाउनु ठूलो अवसर हो। हिजोभन्दा आज झनै 'इन्जोय' गरिरहेको छु। पहिले पेसा थियो। अहिले सेवा गर्ने ठाउँमा छु।

प्रहरी सेवामा रहँदा ‘सेलिब्रेटी’ हुनुहुन्थ्यो।राजनीतिमा स्थापित हुन सहज रहेछ? समय व्यवस्थापन कत्तिको सहज हुँदो रहेछ ?

मलाई ‘सेलिब्रेटी प्रहरी’ बनाउनमिडियाको महत्त्वपूर्ण भूमिका छ। कुनै स्वार्थ नराखी काम गरेँ। सधैँ राम्रो काम गर्ने प्रयत्न गरेँ। त्यसले गर्दा म ‘रोल मोडल’बन्न सकेँ। विभिन्न घटना परिघटनाले म चर्चामा नै रहेँ। नवराज सिलवाल कस्तो हो भन्ने जनतालाई राम्रोसँग थाहा छ।

म राजनीतिमा पलायन हुने ढंगले आएको होइन। एक हिसाबले स्थापित भई पनि सकेको छु। जनताको मन र पार्टीमा स्थापित छु। संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छु। राजनीतिमा 'पार्टटाइम' वा समय बिताउन भनेर आएको होइन। राजनीतिलाई एउटा कोर्समा लानुपर्छ भन्ने अभियन्ताको हिसाबले आएको हुँ। मेरा लागि अब राजनीति पेसा होइन 'प्यासन; भइसक्यो।

परिस्थितिले १८ घण्टा खट्नुपर्ने बनाइदिएको छ। बिहान ६ बजेदेखि जनताको भीड लाग्छ।त्यसपछि संसद्, समितिका बैठक, कार्यक्रम, भेटघाट हुन्छ। बेलुका केही घण्टा पढ्छु। तर रमाइलो लागिरहेको छ।

जीवनमा सबैभन्दा सुन्दर पक्ष भनेको साधारण बन्नु हो। तर साधारण बन्नु भनेको संसारमा सबैभन्दा असाधारण काम हो। त्यो असाधारण काम म गरिहेको छु।फाटेको टोपी लगाउने मानिसले मसँग आफ्नो कुरा खुलेर राख्न सक्छ। माग राख्न सक्छ। उसले आफ्नो कोही छ भनेर सम्झन्छ। अनि म एउटा मिसनमा छु। मुलुक परिवर्तन गर्ने,दुःखी जनताहरूको अनुहारमा हाँसो ल्याउने। अन्यायमा परेकाहरूको पक्षमा लड्ने मिसन बोकेर हिँडेको छु।

एकाएक राजनीतिमा होमिनुभयो। के कुराले राजनीतिमा तान्यो? जाने बित्तिकै टिकट पाउनुभयो र चुनाव पनि जित्नुभयो?

मलाई परिस्थितिले राजनीतिमा ल्यायो। परिस्थिति यस्तो निर्माण भयो, जसले म राजनीतिमा आउन बाध्य भएँ। प्रहरीमार्फत् जनताको सेवा गरिरहेको थिएँ। म प्रहरी प्रमुख हुने अवस्थामा थिएँ। तर, तत्कालीन शेरबहादुर देउवा सरकारले सर्वोच्च अदालतको परमादेश पनि मानेन। प्रधानन्यायाधीशमाथि नै महाभियोग लाग्ने परिस्थिति सिर्जना भयो। ममाथि गलत चार्ज लगाइयो।

राजनीति मेरो रुचिको विषय पनि थियो। प्रहरी सेवामा हुँदा पनि राष्ट्रिय/अन्तर्राष्ट्रियराजनीति नियालिरहेको हुन्थेँ। प्रहरीको करिअरपछि विश्वविद्यालयमा पढाउने र लेखन यात्रालाई अघि बढाउने सोचमा थिएँ।एकेडेमिक फिल्डमा योगदान पुर्‍याउने सोच बनाएको थिएँ। तर,देउवा सरकारले प्रहरी प्रमुख बन्न ढोका बन्द गरिदियो।मेरा लागि अर्को ढोका खुल्ला भयो।

म अर्कै फिल्डबाट आएर पनि सांसद् बन्ने अवसर पाएँ। एउटा त त्यो क्षेत्रको बासिन्दा थिएँ। प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सबैसँग चिनजान नै थियो।मेरो पहिलेको इमेजले पनि यो मानिस हाम्रो प्रतिनिधि बन्न लायक, योग्य छ भनेर जिताउनुभयो।

ममाथि राज्यबाट थिचोमिचो भएको थियो। त्यसका विरुद्ध बोल्ने अवसर पनि भयो जनतालाई।

चुनावताका खेतमा धान काट्दै गरेको फोटो आएको थियो। असारमा अरु हिलाम्मे भएर धान रोपिरहेका बेला यहाँको भने पञ्जा लगाएर धान रोपेको फोटो भाइरल भयो नि?

असार १५ गते बिहान गोदावरी खोला सरसफाइ अभियान थियो। त्यो कार्यक्रमको म प्रमुख अतिथि थिएँ। सरसफाइ गर्दा त पञ्जा, मास्क त लगाउनै परिहाल्यो। जुत्ता पनि त लगाइन्छ नै। त्यही दिन साढे ११ बजे टीका भैरवमा रोपाइँ कार्यक्रम थियो। म त्यहाँ (थैव) बाट सीधै रोपाइँ मा गएँ। त्यहाँ त मैले खेतमै गएर रोपाइँ पनि गरेँ। सरसफाइ भएको ठाउँमा रोपाइँ त थिएन। रोपाइँको पञ्जा र जुत्ता लगाएको फोटो आएछ। त्यो सत्य होइन। मेरो अनुहार बिक्ने भएकाले फोटोग्राफी गरियो। त्यो फोटो भाइरल पनि भयो। त्यो फोटोको विषयमा धेरै प्रश्न पनि आए। मैले कति जनालाई सत्यता बुझाउने?

हो चुनावताका धान काट्दै गरेको फोटो पनि भाइरल भएको थियो। म चुनाव प्रचारप्रसारका लागि हिँडेको थिएँ। मतदाताहरु खेतमा धान काट्न लाग्नुभएको रहेछ। हामी पनि खेतमा नै गयौँ। त्यही क्रममा धान काट्न आउँछ भन्ने प्रश्न उब्जियो?म पनि त किसानकै छोराआउँछ भन्दै धान काटेँ। पछि त्यसलाई ठूलो इस्यू बनाइयो। यो सस्तो लोकप्रियताका लागि चुनावी प्रचार पनि भनियो। कांग्रेसका साथीहरूले त्यसको गलत प्रचार गरे।

प्रहरी प्रशासनमाथि प्रश्न उठ्दै आएको छ। निर्मला पन्त लगायतका विभिन्न हत्याको दोषी पत्ता लगाउन प्रहरी प्रशासन चुक्यो भनेर।एक पूर्व डिआइजी भएर हेर्दा यहाँलाई कस्तो लाग्छ?

म हत्याको दोषी पत्ता लगाउने कुरामा अहिले बोल्न चाहन्नँ।प्रहरीले जहिले पनि जनताको आकाङ्क्षा अनुसार ऐन नियममा रहेर अपराध अनुसन्धानको काम गर्नुपर्ने हुन्छ। अन्यायमा परेकालाई न्याय दिने, अपराधीलाई सजाय दिने र राज्यको तर्फबाट जनताको संरक्षक हो प्रहरी।प्रहरीले इमानदारितापूर्वक आफ्नो जिम्मेवारी व्यावसायिक ढङ्गले निर्वाह गर्नुपर्दछ।

प्रहरी इमानदारिताबाट डगमगाउनु थाल्यो भने न्याय मर्न सक्छ। न्यायमूलक समाज निर्माण गर्न र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीको महत्त्वपूर्ण भूमिकाहुन्छ।

प्रहरीले राम्रै काम गरिरहेको छ। तर अझै राम्रो काम गर्न सक्छ भन्ने अपेक्षा चाहिँ छ। अझै राम्रो गर्न सक्ने ठाउँ छ। त्यसअनुसार आफूलाई प्रशिक्षित बनाउन आवश्यक छ।राज्यले अझै जिम्मेवार, उत्तरदायी बनाउनुपर्ने देखिन्छ।

प्रस्तुतिः कुञ्जरमणि भट्टराई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell