PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुमार पौडेल इन्काउन्टर प्रकरणः मानवअधिकार आयोगले ११ जना प्रहरीको बयान लियो, काठमाडौँबाट गएका दुई प्रहरीमाथि शङ्का



पहिलोपोस्ट

कुमार पौडेल इन्काउन्टर प्रकरणः मानवअधिकार आयोगले ११ जना प्रहरीको बयान लियो, काठमाडौँबाट गएका दुई प्रहरीमाथि शङ्का

काठमाडौँ: सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको घटनालाई लिएर मानवअधिकार आयोगले छानबिन गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा नक्कली मुडभेडमा मृत्यु भएको जानकारी दिएको आयोगले घटनामा संलग्नहरूको बयान लिइरहेको छ।

बुधवार र बिहीवार गरेर आयोगले ११ जना प्रहरीको बयान लिएको छ। बुधवार ६ जना र बिहीवार ५ जनाको बयान लिएको आयोगका सदस्य गोविन्द शर्माले जानकारी दिए। ‘ हामीले ११ जना प्रहरीसँग बयान लिइसकेका छौँ। बाँकीलाई पनि बोलाएका छौँ,‘ शर्माले भने।

आयोगले नेता पौडेलेको मृत्युबारे जिल्ला अस्पताल सर्लाहीले तयार पारेको रिपोर्ट प्राप्त गरिसकेको छ। रिपोर्टका अन्य कुराको छानबिन गर्नेको लागि विज्ञ टोलीसँग छलफल गर्ने आयोगले तयारी गरेको छ।

घटनास्थलमा मुचुल्का उठाउने प्रहरी जवान महेश कार्की भने बयानका लागि उपस्थित भएका छैनन्। उनको सरुवा भएका कारण बयानमा उपस्थित हुन ढिला भएको बुझिएको छ। ‘ एक जना आउनुभएको छैन। उहाँलाई हामीले बयानको लागि पत्राचार गरिसकेका छौँ,‘ शर्माले बताए।

प्रहरीको 'इन्काउन्टर'मा मारिएका पौडेल सर्लाही वागमती नगरपालिका २ का स्थानीय हुन्। बयानमा उनीहरूले पौडेल इन्काउन्टरमा नै मारिएको दाबी गरेका छन्। करिब दुई सय मिटरको दुरीबाट गोली चलाएको र आफूहरूले पौडेल तर्फबाट चलाएको गोली छल्न सफल भएको समेत उनीहरुले बयान दिएका छन्। आयोगले प्रहरीलाई जम्काभेट कसरी भयो? उनीहरूको उपस्थितिको अवस्था कस्तो थियो? गोली कसले र कसरी चलायो जस्ता प्रश्न गरेको थियो।

मानव अधिकार आयोगको छानविनले दुईजना प्रहरी काठमाडौँबाट जानुलाई शङ्कास्पद रूपमा हेरेको छ। आयोगले बयानका क्रममा दुईजना प्रहरी किन काठमाडौँबाट गए त भन्ने प्रश्न समेत गरेको थियो। आयोगका अनुसार प्रहरीले चित्तबुझ्दो जवाफ दिएका छैनन्। आयोगका छानबिन समितिका एक सदस्यले भने, ’काठमाडौँबाट प्रहरी जानु र घटना हुनुले शङ्का देखाएको छ।‘

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले नेता पौडेलको इन्काउन्टरलाई लिएर संसद् अवरुद्ध गर्दै आएको छ। बिहीवार पनि झन्डै एक घण्टा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका कारण संसद् स्थगित भएको थियो।

सम्बन्धित समाचार

सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन

प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?

असार ५ गतेको ती दुई कल: सञ्चै छु भनेको ४ घन्टामा मृत्युको सन्देश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell