
बैंकक: थाइल्यान्डको राजधानी बैंककमा दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को विदेश मन्त्री स्तरीय बैठक भइरहँदा आज बिहान शृङ्खलाबद्ध बम विस्फोट भएका छन्।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ समेत सहभागी रहेको आसियान बैठकमा सदस्य राष्ट्रका विदेश मन्त्रीहरु सहभागी रहेका छन्। कम क्षमताका पछिल्ला विस्फोटमा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
हिंसात्मक राजनीतिक इतिहास रहेको थाइल्यान्डमा गएको मार्चमा सम्पन्न विवादास्पद आम निर्वाचनबाट त्यहाँको समाज नराम्ररी विभाजित छ। थाइल्यान्डका प्रधानमन्त्री प्रायुत चान ओचाले बम विस्फोटको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न आदेश दिनुभएको छ। प्रधानमन्त्रीकी प्रवक्ता नारुमोन पिन्योसिनवातले देशको सुरक्षा व्यवस्था कडा बनाइएको र सर्वसाधारणलाई नडराउन आग्रह गरेकी छन्।
टेबल टेनिसको बल जत्रा साना विस्फोटक वस्तु राजधानीका विभिन्न स्थानमा एकै पल्ट विस्फोट भएका थिए। यी विस्फोटहरु धनजनको क्षति पुर्याउन नभएर थाई सरकारविरुद्ध सांकेतिक विरोध गर्न गराइएको सरकारी अधिकारीले अनुमान गरेका छ।
राजधानी बैंककको माहानाकोर्न टावरको वरपर बम निस्क्रिय पार्न सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थानीय सुरक्षा अधिकारीले यो टावर वरिपरि तीन वटा बम विस्फोट भएका थिए।
यी विस्फोटहरु अमेरिकी विदेश मन्त्री पोम्पिओले सम्बोधन गर्नुअघि भएका थिए। विदेश मन्त्री पोम्पेओले आफूलाई लोकतान्त्रिक पद्धतिमा पुनर्स्थापित गरेकामा थाई सरकारको प्रशंसा गरेका थिए।
थाई सरकारले बम आक्रमण किन गराइएको हो जथाभावी अड्कल नकाट्न सबैसँग आग्रह गरेको छ। उपप्रधानमन्त्री प्रवित वोङसुवोनले पत्रकारहरुसँग बम विस्फोटमा संलग्नहरुबारे अझै जानकारी प्राप्त भइनसकेको बताए।
थाइल्यान्डले यसअघि अन्तिम पटक सन् २००९ मा आयोजना गरेको आसियान शिखर बैठक पनि बैंककमा भएको हिंसात्मक विरोध प्रदर्शनले ओझेलमा परेको थियो। त्यसबखत लोकतन्त्र पक्षधर 'रेड सर्ट' प्रदर्शनकारीले स्वतन्त्र चुनाव गराउन माग गर्दै आसियान बैठक कक्षको ढोका फोडेर सभाहलभित्र प्रवेश गरेका थिए। त्यसबेला आसियान सदस्य राष्ट्रका नेताहरुलाई थाई सेनाले हेलिकप्टरबाट सुरक्षित उद्धार गर्नु परेको थियो। रासस