काठमाडौं: प्रहरीले उपत्यकाभित्र चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्र गुडिरहेको गाडीबाट विभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिकाका २४ वर्षीय अमित तुलाधार, २१ वर्षीय अव्य तुलाधर, ३३ वर्षीय हरिकृष्ण तिवारी र जुम्ला सिन्जा धाफका २५ वर्षीय हरि शर्मा रहेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए।
उनीहरूले साउन ८ गते वर्ल्डलिङ्क प्राइभेट लिमिटेडको इन्टरनेटमा प्रयोग हुने १६ लाख ८० हजार रुपैयाँ बराबरको सामाग्रीहरू चोरी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले इन्टरनेटको सामान जावलाखेल कुसुन्तीमा रहेको शाखा कार्यालयबाट चितवन, हेटौंडा र बुटवल पठाउनका लागि लोड गरी लैजान लागेको अवस्थामा चोरी गरेका थिए।
महाशाखाले उनीहरूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जानकारी दिएको छ।