13.jpg)
काठमाडौः ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा जोडिएको मुद्दामा सर्वोच्च अदालतले एकजना बाहेक अन्य व्यक्तिको हकमा उच्च र जिल्ला अदालतको फैसला नै सदर गरेको छ।
त्यस्तै व्यवसायी महाविर प्रसाद गोल्यानलाई भने १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले यो मुद्दामा व्यवसायी गोल्यानबाहेक सबैको हकमा उच्च अदालतकै फैसला सदर भएको बताए।
लामो समयको बहसपछि शुक्रवार न्यायाधीशहरु अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले अघिल्ला अदालतहरुको निर्णय नै सदर गर्ने निर्णय सुनाएको हो। सुन प्रकरणमा र हत्या प्रकरणमा जोडिएका २९ जना जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङको निर्णय विरुद्ध सर्वोच्च अदालत आएका थिए। सर्वोच्चको यो निर्णयसँगै अब उनीहरुले जेलभित्र नै बसेर मुद्दा लड्नु पर्ने छ।
निलम्बित डिएसपी सञ्जय राउत, महाविर प्रसाद गोल्यान, तुलाराम थारु, रामकुमार तिवारी, पूर्वडिआइजी गोविन्द प्रसाद निरौला, हेमन्त गौतम, विमल पोद्धार, राजेन्द्र कुमार शाक्य, भुजुङ गुरुङलगायत २९ जनाले सर्वोच्च अदालत आएका थिए। अपराधिक समुह स्थापना संचालन सुन चोरी पैठारी र चोरी निकासी अपहरण शरीर बन्धक र कर्तव्य ज्यान मुद्धामा आरोपपत्र दायर भएको थियो।
सुन प्रकरण र सनम शाक्य प्रकरणमा न्यायपरिषदले तीन न्यायाधीशलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। परिषद्ले न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेश सिंहलाई स्पष्टीकरण सोधेको थियो। त्यस्तै दुई न्यायाधीशहरु अवकाश पाइसकेका कारण अनुसन्धान तामेलीमा राखिको छ। न्यायाधीश नगेन्द्र लाभ कर्ण र उमेश राज पौड्यालको मुद्दा तामेलीमा राखिएको हो।
विराटनगरका तत्कालीन मुख्य न्यायाधीश डाक्टर कलुरत्न भुर्तेल, साराङ्गा सुवेदी र जनक पाण्डेलाई सामान्य ध्यानआकर्षण गराइएको थियो। उच्च अदालत मोरङको निर्णय अनुसार सुन प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहन, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायत साधरण तारिखका छुटेका थिए। उनीहरुको हकमा पनि अदालतले उच्च अदालतकै फैसला सदर गरेको छ।