PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

प्रतिनिधिसभामा एक सिटसहित ५० पदमा मंसिर १४ गते उपनिर्वाचन, कहाँ कहाँ हुँदैछ चुनाव?



पहिलोपोस्ट

प्रतिनिधिसभामा एक सिटसहित ५० पदमा मंसिर १४ गते उपनिर्वाचन, कहाँ कहाँ हुँदैछ चुनाव?

काठमाडौँः निर्वाचन आयोगले विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा आउँदो मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ।

सरकार र राजनीतिक दलको परामर्शमा आयोगले उपनिर्वाचनको मिति तोकेको हो। ०७४ मा सम्पन्न स्थानीय तह, प्रदेश तह तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भएपछि विभिन्न कारणले रिक्त रहेका स्थानमा आयोगले निर्वाचन गर्न लागेको हो। 

निर्वाचन आयोगका अनुसार ३७ जिल्लामा एक उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य ३, र प्रतिनिधिसभा सदस्य १ स्थानमा रिक्त छ। कूल ५० पदका लागि निर्वाचन हुनेछ।

 

कहाँ कहाँ रिक्त?

बाहलवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि प्रतिनिधिसभातर्फ कास्की २ मा स्थान रिक्त छ। अधिकारी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए। कास्कीमा उनले तेस्रो पटक निर्वाचन जितेका थिए।

यस्तै प्रदेशसभातर्फ,  भक्तपुर,  बाग्लुङ र दाङका एक–एक स्थान रिक्त छन्। भक्तपुर १ (क) का प्रदेशसभा सदस्य हरिशरण लामिछाने मृत्युपछि उक्त स्थान रिक्त छ। लामिछाने तत्कालीन एमालेबाट विजयी भएका थिए।

लामिछानेको २०७५ जेठमा निधन भएपछि उक्त क्षेत्र जनप्रतिनिधिविहीन छ।

यस्तै  बाग्लुङ क्षेत्र नम्बर २ (ख) का टेकबहादुर घर्ती र दाङ ३ (ख) का उत्तरकुमार ओलीको निधनपछि उक्त क्षेत्रहरू खाली छन्। घर्ती जनमोर्चाका तर्फबाट बाग्लुङमा विजयी भएका थिए। भने ओली तत्कालीन एमालेबाट निर्वाचित भएका हुन्। ओलीको दुर्घटनामा निधन भएको हो।

घर्तीको क्षेत्र गत मंसिरदेखि रिक्त छ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्वाङ,  हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालको निधनका कारण स्थान रिक्त छन्।

३८ वडाध्यक्षमध्ये अधिकांशको मृत्यु भएका कारण स्थान रिक्त छ। केहीमा भने अध्यक्षहरु जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण खाली छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell