PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

२० वर्षपछि मध्यपुर थिमिमा गुञ्जियो 'ङाकु र चति' बाजाको धुन



रोजन श्रेष्ठ

२० वर्षपछि मध्यपुर थिमिमा गुञ्जियो 'ङाकु र चति' बाजाको धुन

थिमि : शुक्रवार बिहानबाट मध्यपुर थिमिमा भिन्न किसिमको धुन गुञ्जिन सुरु भएको छ। गुँला पर्वको अपसरमा बौद्ध नेवारहरुले चैत्य, बहा: बही परिक्रमा गर्दा धा: बाजा (गुँला बाजा) बजाउने गर्दै आएका थिए। यसपटक भने स्थानीय मानन्धर समुदायले दुर्लभ मानिएको ङाकु (नेकू/ङेक) बाजा प्रयोगमा ल्याएका छन्।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो।

यसरी गुँलाको अर्थ नवौं महिना हो। नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यो पर्वलाई गुँला पर्व भन्ने गरिएको हो। हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ। गुँलाका अवसरमा काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहा:बही मन्दिरहरु परिक्रमा गर्ने गरिन्छ। बौद्ध नेवारहरु यस पर्वमा स्वयम्भु महाचैत्य, नमोबुद्ध,बंगमती लगायत धा: बाजा (गुँला बाजा) बजाउँदै चैत्य परिक्रमा गर्छन्।

करिब २० वर्षपछि गुँला पर्वमा थिमिमा ङाकु बाजाको धुन गुञ्जिन थालेको सिवा सायमि खलका अष्ट रत्न मानन्धरले बताए। उनका अनुसार यस किसिमको बाजा पहिला थिमिका प्रत्येक घरमा हुन्थ्यो र गुँलामा बजाउने गरिन्थ्यो। तर, २० वर्षयता उक्त बाजा बजाउन बन्द भएको थियो।

'बाजा कहाँ छ भनेरै थाहा भएन। धेरै खोज्यौं तर फेला परेन,' उनले भने, 'अहिले भने साथीहरुले बाजा खोज्नै पर्‍यो भने निकै कुरा उठाए। यहीकै एक जना साथीको घरमा धानको बोराहरुमुनि बाजा भेटाइयो।'

करिब ५०० वर्ष पुरानो ङाकु बाजा अर्नाको सिङबाट बनाइएको उनी बताउँछन्।

ङाकु बाजासँगै भेडाको सिङबाट बनाइएको चति बाजा पनि बजाउने गरिन्छ। चतिको तालसँगै ङाकु बाजा बजाइन्छ।

शुक्रवारबाट सुरु भएको गुँला पर्वमा ङाकु बाजा बज्न सुरु भएसँगै स्थानीय पुरानो सम्पदाहरु सरंक्षण हुनेमा आशावादी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell