'म मोदी विरोधी होइन। म मोदीसँग प्रश्नमात्र सोध्छु'
भारतमा अप्रिल ११ देखि सुरु भएको लोकसभा निर्वाचन मे १९ मा गएर टुंगियो। निर्वाचनबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले बहुमत ल्यायो। मोदी दोस्रोपटक प्रधानमन्त्री भने।
तर, निर्वाचनका बीच उनले दिएका केही अन्तर्वार्ता विवादास्पद रहे। आफ्नो पाँच वर्ष कार्यकालको दौरान मोदी मिडियाका प्रश्नबाट भाग्दै आएका थिए। न कुनै अन्तर्वाता न पत्रकारसँग भेटघात नै। तर जब निर्वाचन नजिकियो मोदी टेलिभिजनका पर्दामा देखापरे। क्रिटिक्सहरुले मोदीको आलोचना गर्दै भने, 'प्रधानमन्त्री आफूलाई सहज र राम्रो लाग्ने पत्रकार र टेलिभिजन च्यानललाई मात्रै अन्तर्वाता दिइरहेका छन्।'
सामाजिक संजालमा एउटा आवाज उठ्यो, 'मोदी एनडीटिभीमा रवीश कुमारलाई किन अन्तर्वार्ता दिँदैनन्? के मोदी रवीशका प्रश्नहरुसँग डराउँछन्?'
चर्चाबीच रवीशले मुख खोले र भने, 'शायद प्रधानमन्त्री नरेन्द्र मोदी मेरो प्रश्नहरुसँग डराउँछन् त्यसैले उनी मलाई अन्तर्वार्ता दिँदैनन्।'
आलोचकहरुले मोदीको अन्तर्वार्तामा सोधिने प्रश्न र उत्तरहरु पहिलै 'स्क्रिप्टेड' रहेको आरोप समेत लगाउँदै गर्दा रवीश भने निर्धक्क साथ भन्थे, 'जब उनी मेरो अगाडि आउने छन् तब म उनको प्रवचन सुन्ने छैन। म पकौडा कहाँ बन्छ भन्ने कुरा सुन्दिन... २०० रुपैयामा कहाँ बिक्री हुन्छ सुन्दिन। म उनलाई काउन्टर प्रश्न गर्छु। यो मेरो बानी हो। त्यो प्रश्न उनको अनादर भने हुने छैन। त्यो त भारतीय जनताको सम्मान हुनेछ किनभने जसलाई चुनेर पठाएका छौं उनलाई हामी प्रश्न सोध्ने छौं।'
रवीशले भारतीय हिन्दी न्यूज च्यानल कशिश टिभीमा सोधिएका प्रश्नको उत्तर दिँदै मोदीप्रति प्रहार गरेका थिए।
प्रश्न सोध्नु पत्रकारको अधिकार हो। तर, ती प्रश्नले कसैको व्यक्तिगत स्वतन्त्रतामा आँच भने पुर्याउनु हुँदैन। तर, मोदी एक व्यक्तिमात्रै होइनन्। उनी १ सय ३० करोड भन्दा बढी भारतीय जनताका प्रधानमन्त्री हुन। त्यसैले मोदीले जवाफदेहिता कायम गर्नुपर्छ भन्ने मान्यता कुमारको थियो।
९९ प्रतिशत मिडिया मोदीको पक्षमा वकालत गर्दै गरेको अवस्थाले समाजमा असन्तुलन उत्पन्न भएको भन्दै रवीशले टेलिभिजनमा सोधिएको प्रश्नको उत्तर दिँदै मोदीलाई नै सिधै प्रश्न तेर्साए, '२०१४ मा भएको निर्वाचन अघि त मोदीले मलाई कार्यक्रममा आउन भन्थे। अब उनलाई के भयो ?'
मोदीलाई प्रश्न सोध्ने उनै रवीश कुमारले एसियाको नोबेल पुरस्कार मानिने 'रोमन म्यागसेसे अवार्ड' जितेका छन्।
४४ वर्षीय रवीश एनडीटिभीका वरिष्ठ कार्यकारी सम्पदक हुन्।
अवार्ड कमिटीले प्रकाशित गरेको विज्ञप्तिमा रवीशको 'प्राइम टाइम'कार्यक्रमले सामान्य मानिसको वास्तविक जीवन र उनीहरुका कथाहरु प्रस्तुत गर्ने गरेको उल्लेख गर्दै लेखिएको छ, 'यदि तिमी आवाज बिहीनको आवाज बनेका छौ भने तिमी पत्रकार हौ।'
रवीशलाई म्यागासेसे अवार्ड दिइएपछि निर्वाचनपछि शान्त रहेको बहस फेरि चुलिएको छ।
धेरैको प्रश्न छ। रवीशले अवार्ड पाउनुको कारण के हो?
उत्तर पनि उनीहरु नै दिइरहेका छन्। मोदीको विरोध!
उसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफू नोबेल पुरस्कारका लागि योग्य भएको तर्क गर्दै आएका छन्। तर, तर्क गर्दैमा नहुने रहेछ।
कसैको विरोध वा समर्थनले पुरस्कार जितिने पक्कै होइन। यदी तपाइले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सहयोग गर्नु भएको छ भने तपाइँ पुरस्कार र सम्मानको हकदार हुनुहुनेछ।
यता रवीशले मोदीको विरोध गर्दैमा पुरस्कार पाएका होइनन्। उनले आम जनताको समस्या ल्याएर मोदीलाई प्रश्न गर्छु भने। मोदीलाई जवाफदेही बन्न आग्रह गरे। 'स्क्रिप्टेड' प्रश्न र उत्तर होइन आँखामा आँखा मिलाएर जनताको प्रश्न सामना गर्न भने त्यसैले पत्रकारका रुपमा उनलाई अवार्ड प्रदान गर्ने निर्णय गरियो।
मोदीले आफ्ना आलोचकलाई बाँकी छोड्दैनन्। बेलाबखतमा मिले सम्म टुच्चटुच्च दुई कुरा सुनाइ हाल्छन्, हाम्रा प्रधानमन्त्री के पी ओली झै। ओली न पत्रकारलाई छोड्छन् न अरु कसैलाई। बरु आफै झुकिन्छन्।
तर, मोदी झुक्ने मुडमा छैनन्। उनी रवीशको प्रश्न प्रति मौन छन्।
मोदी मौन भएपनि भारतीय मिडिया मौन छैन। आलोचकहरुले मिडियाले 'मोदी भक्ति' प्रदर्शन गरिरहेको टिप्पणी गरिरहेका छन्।
निखिल इमान्दारले बिजेपीले नयाँ मिडिया खोल्न सावधानी अपनाउँदै एक किसिमको सिन्डिकेट लागू गर्न खोजेको बताएका छन्। उनले 'नरेन्द्र मोदीले भारतीय मिडियालाई कसरी मार्दैछन्' शीषर्कको आलेखमा पूण्यप्रसुन बाजपेयीले एकपछि अर्को मिडिया छोड्नु र 'हेट क्राइम' बारेमा समाचार सम्प्रेषण गरेको निँहुमा हिन्दुस्तान टाइम्सका सम्पादक बबी घोसले राजीनामा दिनुपर्ने अवस्थालाई उदाहरणका रुपमा प्रस्तुत गरेका छन्।
बाजपायी आजतकबाट एभीपी न्यूज पुगेका थिए। तर, मोदी कै आलोचनाका कारण उनले जागिरबाट हात धोए। त्यो सबै कुरा उनले द वायरमा एक लेख मार्फत प्रस्त गरेका छन्।
उनले सो लेखमा भारतीय सरकारले मिडियाको अनुगमन गर्न २०० जना कर्मचारी खटाएको खुलासा गर्दै उनीहरुले मिडिया सम्पादकहरुलाई भारतीय प्रधानमन्त्री मोदीको क्रियाकलापलाई कसरी प्रस्तुत गर्ने भनेर निर्देशन गर्ने गरेको आरोप समेत लगाएका थिए।
भारतका वरिष्ठ पत्रकार सतिश मिश्राले मोदी राजमा एकतर्फी रुपमा सूचना प्रवाह भइरहेको भन्दै अर्फ अनलाइनमा लेख नै लेखेका छन्।
संचार माध्यमलाई राज्यको चौथो अंगका रुपमा लिइन्छ। उनीहरुको हतियार भनेकै सूचना हो। जनताको मतलाई जस्ताको त्यस्तै गर्नु र राज्य सत्तालाई जनताको कठघरामा उभ्याउनु संचारमाध्यमको धर्म हो। तर, हाल 'मोदी युग'मा भारतका भिडियामाथि चौतर्फी दबाब र सेन्सर हुने गरेको स्वयम् भारतीय पत्रकारहरुले बताउँदै आएका छन्। विश्वकै ठूलो प्रजातान्त्रिक व्यवस्था भएको मानिने भारतमा सरकार प्रेसप्रति सरकार अनुदार हुँदा र स्वयम् प्रधानमन्त्री जनताको प्रश्नबाट भागिरहँदा कुमारले एसियाको नोबेल पुरस्कार पाएका हुन्।
कुमारसँगै म्यानमारका को स्वी विन, थाइल्यान्डका आङखाना निलापाइजीत, फिलिपिन्सका रेमुन्डो पुजान्ते र दक्षिण कोरियाका किम जोङ कि समेत २०१९को म्यागसेसे अवार्डबाट सम्मानित हुँदैछन्।
रोमन म्यागसेसे अर्वाड पाउने उनी पहिलो भारतीय पत्रकार भने होइन। यस अघि भारतीय पत्रका पी साइनाथ यस अवार्डबाट पुरस्कृत भइसकेका छन्। यस्तै नेपालका पत्रकार भारत कोइराला रोमन म्यागसेसे अवार्डबाट सम्मानित भइसकेका छन्। सन् २००२ मा सो अवार्डबाट पुरस्कृत हुँदा नेपालमा जनताको प्रश्न सजिलै सोध्न सक्ने अवस्था थिएन। नेपाल सशस्त्र द्वन्द्व र अस्थिर राजतन्त्रको चंगुलमा थियो। प्रेसमाथि केही हदसम्मको सेन्सरसिप थियो। प्रश्न माथि नियन्त्रण गर्ने प्रयास हुन्थ्यो। हाल भारतमा जस्तै।
गोरखापत्रको जिम्मेवारी सम्हाल्दा धेरै 'सेल्फ सेन्सरसीप'को सामना गर्नुपरेको कोइरालाले स्वीकार गरेको म्यागसेसे अवार्डको वेबसाइटमा उल्लेख छ। नेपाल प्रेस इन्स्टिच्युट स्थापना गरेर उनले व्यवसायिक पत्रकारितको सुरुवात गर्ने जग हालेका थिए। गोरखापत्र छोडेपछि उनी ग्रामीण जिल्लामा केन्द्रित भएका थिए। कृषि विकास बैकको अनुदानमा उनले ग्रामीण क्षेत्रमा 'वाल न्यूजपेपर' सुरु गरे। जुन निकै सान्दर्भिक बन्यो।
कोइरालाको सक्रिय समयदेखि हालसम्म नेपाली मिडियामा धेरै परिवर्तन आइसकेको छ। प्रेस स्वतन्त्र हुँदै जाँदा विकृतीहरु पनि त्यससँगै भित्रिँदैछन्। मिडिया आधुनिकबन्दै गर्दा सरकारलाई प्रश्न सोध्ने कुरामा मिडिया आफैले कति कुरामा 'सेल्फ सेन्सरसिप' गरिरहेको आरोप समेत लागिरहेको छ। भारतमा जस्तै।
पत्रकारहरुका कलम राजनीतिक आस्थाले प्रेरित भएका उदाहरण नै छन्। मोदी झै प्रत्यक्ष रुपमा' मिडिया फ्रेन्डली' नदेखिएका प्रधानमन्त्री ओली आफै झुकिएको बताउँदै हिँडिरहेका छन्। तर पनि केही संचार माध्यम बाहेक अरुले झुकाउनेलाई हालसम्म केही कारवाही नगरिएको र अझै प्रधानमन्त्री झुकि नै रहेको तथ्य उजागर नगरेको आवान नउठेको पनि होइन।
पक्क पनि नेपाली मिडियामा भारतीय मिडियाको प्रभाव परेकै छ। उता झै यता पनि प्रधानमन्त्रीलाई 'क्रस क्वोसन' गर्छु भन्ने पत्रकार विरैले छन्। उता आजतकले पाकिस्तानले भारतमाथि सर्जिकल स्ट्राइक गर्यो भनेर समाचार प्रसारण गरे त्यो हाम्रो मिडियाका लागि पनि 'हट केक' हुन्छ। पाकिस्तानी मिडियाको रिफ्रेन्स त हामी कहाँ लिन्छौं र!
तर, रावीशले प्रश्न गरे सर्जिकल स्ट्राइकमाथि। तर उनका प्रश्नलाई भारतीय जनताका कार्यकर्ताले ट्रोल र मिमबाट उडाए। हामीले पनि 'फ्याक्ट चेक' गरेनौं।
तर, जति ट्रोल बने पनि, ठट्टा गरेपनि रवीश प्रश्न सोधिरहेका छन्। जनताका लागि। आशा छ उनी सोधि रहनेछन्।