काठमाडौं: विभिन्न व्यापारीलाई फोन गरेर रकम माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका वडा नम्बर २४ का उदय गिरीलाई नियन्त्रणमा लिएको हो। ललितपुरका तीन जना व्यापारीलाई धम्की दिई पच्चीस-पच्चीस लाख रुपैयाँ मागेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए। ‘विभिन्न नम्बरको फोनबाट धम्की दिई रकम माग्ने गरेको जानकारी आएपछि गिरीलाई नियन्त्रणमा लिएका हौँ,‘ एसपी ढकालले भने।
गिरीले भारतमासमेत पुगेर भारतीय नम्बरबाट फोन गरी रकम मागेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनले एक जना व्यापारीसित २५ लाख रुपैयाँ माग गरेका थिए। उनी यसअघि पनि हातहतियार तथा खरखजाना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति भएको खुलेको एसपी ढकालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।