
काठमाडौं: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका अर्जुन भण्डारीलाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ।
साउन १६ गते बसेको बैठक मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।
गत भदौ ७ गते निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागी भण्डारी घाइते भएका थिए। गोली प्रहारपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै बैठकले ८ जनाको नागरिकता खारेज गर्ने निर्णय गरेको छ। अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द भएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
त्यस्तै सार्वजनिक खरिद नियमावली ८ औँ संशोधन गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि सरकारले गरेको छ।
एशियाली विकास बैंकबाट राजमार्ग सुधारका लागि करिब २१ अर्ब ४५ करोड बराबरको सहुलियत ऋण लिन वार्ता टोली गठन गर्ने अख्तियारी दिइएको मन्त्री बाँस्कोटाले बताए।
त्यस्तै सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीले मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको तथा यो सम्झौता अधिकृतस्तरसम्म गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए।