PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कश्मिरका बारेमा 'ठूलो निर्णय' लिँदै मोदी सरकार,कश्मिरको 'स्वायत्त दर्जा खारेज' गर्ने तयारी



कश्मिरका बारेमा  'ठूलो निर्णय' लिँदै मोदी सरकार,कश्मिरको 'स्वायत्त दर्जा खारेज' गर्ने तयारी
फोटो: AP

भारतको जम्मू कश्मिरमा केन्द्र सरकारले धारा १४४ लागू गर्दै धेरै स्थानमा कर्फ्यु लगाउनुका साथै मानिसहरुलाई स्वतन्त्र रुपमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ।

आइतबार बिहानै कश्मिरमा रहेका पर्यटक र अमरनाथ यात्रामा गएका तीर्थालुहरुलाई फर्कन एडभाइजरी जारी गरेको केन्द्र सरकारले मध्यरातमा जम्मू कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र महबुबा मुफ्तीलाई घरमै नजरबन्द गरिएको छ। उनीहरुसँगै जम्मू कश्मिर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई समेत नजरबन्दमा राखिएको छ।  

अहिले केहीबेरमा नै भारतको केन्द्र सरकारको आकस्मिक बैठक बस्ने र सो बैठकले कश्मिरसम्बन्धी ठूलो फैसला लिने सक्ने अनुमान गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको संविधानको धारा ३५ 'ए' अन्तर्गत जम्मू कश्मिरले पाएको विशेष अधिकार समाप्त गर्ने पक्षमा केन्द्र सरकार रहेको बुझिएको छ। यस्तै, धारा ३७० अन्तर्गत कश्मिरले स्वायत्त राज्यका रुपमा पाएको विशेष दर्जा पनि खारेज गर्ने तयारी गरिरहेको बताइएको छ। जम्मू कश्मिरको सीमालाई लिएर पनि फैसला हुनसक्ने अनुमान गरिएको छ।

पढ्नुस:  'प्रतिकुल परिस्थिति' मा कश्मिर, मध्यरातमा जम्मू कश्मिरका पूर्व मुख्यमन्त्रीहरु नजरबन्दमा

धारा ३५ ए अन्तर्गत जम्मू कश्मिरलाई विशेष अधिकारहरु दिइएका छन्। सन् १९५४ को राष्ट्रपतिको आदेशबाट लागू भएको सो धारा अनुसार कश्मिर बाहिरका मानिसहरुले त्यहाँको जग्गा किन्न नपाउने व्यवस्था रहेको छ।  सो धारा अन्तर्गत रहेको स्थायी बसोवास कानुनमा कश्मिरकी महिलाले कश्मिर बाहिरका मानिससँग विवाह गरेमा उनीहरुको त्यहाँको जमिनमा केही अधिकार नहुने व्यवस्था गरिएको छ। यद्यपि, अदालतले भने त्यस्तो व्यवस्था लागू हुन सक्ने फैसला गरेको थियो।

मोदी सरकारले धारा ३५ 'ए' लाई कार्यकारी अधिकार प्रयोग गरि हटाउन सक्ने छ। त्यसका लागि राष्ट्रपतिको स्वीकृति आवश्यक रहन्छ।

धारा ३७० ले कश्मिरलाई दिएको स्वायत्त अधिकार खारेज गर्न भने लोकसभा र राज्य सभाबाट पारित गराउनु पर्नेछ।

हाल श्रीनगरमा धारा १४४ लागू गरिएको छ भने जम्मूमा कफर्यु लगाइएको छ। धारा १४४ लागू भएसँगै श्रीनगरमा कोही पनि व्यक्तिले आवतजावत गर्न पाउने छैनन्। हाल जम्मू कश्मिरमा रहेका सबै शैक्षिक संस्था र कार्यालयहरु बन्द गरिएको छ। यस्तै मोबाइल र इन्टरनेट सेवा समेत बन्द गरिएको छ। त्यहाँ पहिलो पटक ल्यान्ड लाइन सुविधा समेत बन्द गरिएको छ।  

कश्मिरको विशेष अधिकार कटौतीसँग हुन सक्ने आन्दोलनलाई लक्षित गर्दै कश्मिरभरी हजारौं संख्यामा सेना परिचालन गरिएको छ भने वायु सेनालाई पनि तयारी अवस्थामा राखिएको छ। कश्मिरमा मात्रै नभएर अन्य राज्यमा समेत सुरक्षा सतर्कता अपनाउन केन्द्र सरकारले एडभाइजरी जारी गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell