PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई नागर्जुनबाट निकाल्ने चेतावनी दिइरहँदा रक्षा मन्त्री पोखरेल निर्मल निवासतिर के गर्दै थिए?



सविन ढकाल

प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई नागर्जुनबाट निकाल्ने चेतावनी दिइरहँदा रक्षा मन्त्री पोखरेल निर्मल निवासतिर के गर्दै थिए?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिए।

विपी मार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्ने सुनकोसी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्न पुगेका अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै 'बकबक गरिरहे' जनताले नागार्जुनबाट निकाल्ने चेतावनी दिएका थिए।

पार्टीका अध्यक्ष प्रचण्डले पूर्व राजालाई नागार्जुनबाट निकाल्ने चेतावनी दिइरहँदा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सचिवालय सदस्य तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा गएर भेटेको खबर पनि सँगसँगै सनसनीरुपमा फैलियो। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको लागि शनिवार राति सिङ्गापुर गएपछि अहिले कार्यवाहक प्रधानमन्त्री बनेका छन् - उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल।

के रक्षा मन्त्री पोखरेलले पूर्व राजा शाहलाई निर्मल निवास पुगेर भेटका हुन् त?

शुक्रवार बिहान रक्षा मन्त्री पोखरेल निर्मल निवास रहेको महाजगञ्जमा नजिकै पुगेका थिए। बिहान ८ बजेको समयमा पौने घन्टा उनी निर्मल निवासकै वरिपरि थिए।

तर, रक्षा मन्त्री पोखरेल निर्मल निवासको गेटबाट भित्र छिरेको भने पुष्टि हुन सकेको छैन। बिहान रक्षामन्त्रीका सुरक्षाकर्मीको गाडी निर्मल निवासको नजिकै पार्क गरेर राखिएकाले धेरैले उनी पूर्व राजालाई भेट्न पुगेको अड्कल काट्नु स्वाभाविक थियो।

उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले पूर्वराजालाई भेटको विषयलाई भने ठाडै अस्वीकार गरे। त्यसो भए उपप्रधानमन्त्री पोखरेल किन निर्मल निवास पुगे त?

प्रेस संयोजक केसीले नेपाल ट्रस्टको जग्गा हेर्नका लागि शुक्रवार बिहान निर्मल निवास नजिकै पुगेका हुन्।

‘हो निर्मल निवास अगाडि गाडी पार्क भएको थियो। त्यसैलाई लिएर धेरैले पूर्व राजालाई भेटेको दाबी गरे। तर, उहाँ नेपाल ट्रस्टको जग्गा हेर्न जानु भएको थियो,' केसीले भने।

उनले दाबी गरे जस्तै निर्मल निवास नजिकै नेपाल ट्रस्टको जग्गा छ कि छैन त?

काठमाडौं महानगरपालिका वडा नम्बर ३ अन्तर्गत १०२-९८६-१२ सिट नम्बर भएको नेपाल ट्रस्टको जग्गा रहेको देखियो। यो जग्गाको क्षेत्रफल १ रोपनी ७ आना १ पैसा छ। अहिले सशस्त्र प्रहरीको एउटा गण त्यही जग्गामा बस्दै आएको छ।

‘त्यो जग्गा केमा प्रयोग गर्ने? कसरी प्रयोग भइरहेको छ भनेर निरीक्षण गर्न जानुभएको हो,' प्रेस संयोजक केसीले भने।

करिब ४५ मिनेटजतिमा उनी निस्किएको देखिन्छ। नेपाल ट्रस्टको अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पोखरेल त्यसपछि लाजिम्पाटमा रहेको ट्रस्टकै अर्को जग्गा हेर्न पुगेका थिए। पूर्व राजा ज्ञानेन्द्र शाहका सहयोगी फणी पाठकले पनि उपप्रधानमन्त्री निर्मल निवास अगाडि पुगेको जानकारी दिए। तर पूर्व राजासँग भेटलाई पुष्टि भने गर्न सकेनन्।

‘उहाँ निर्मल निवास नजिकै आउनु भएको सुनेको थिएँ। तर, भेट भयो भएन केही थाहा छैन,' पाठकले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell