
काठमाडौं: प्रहरीले एक वर्षमा उपत्यकाका तीन जिल्लाबाट १ हजार २ सय २४ जना चोरलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर १ हजार २ सय २४ जना चोरहरु पक्राउ परेका हुन्। सबैभन्दा धेरै काठमाडौंमा चोरी भएको प्रहरीको तथ्याङकले देखाएको छ। काठमाडौंबाट मात्र ९ सय ३३ जना पक्राउ परेका हुन्।‘धेरै मानिसको बसोवास र धेरै थरिका मानिस भएकाले अन्य जिल्लाको तुलनामा काठमाडौंमा धेरै चोरी भएको देखिन्छ', महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले भने। राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बसपार्क लगायत क्षेत्रमा बढी चोरी भएको पाइएको छ।
यो वर्ष ललितपुरमा सबैभन्दा थोरै चोर समातिएका छन्। ललितपुरमा १ सय २२ जना र भक्तपुरमा १ सय ६९ जना चोर समातिएको एसएसपी ज्ञवालीले जानकारी दिए। प्रहरीले पक्राउ परेकामध्ये ८ सय ८८ जनामाथि मुद्दा चलाएको छ। राजधानीमा मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म चोरी हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। ‘ घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने ट्रेन बढी देखिएको छ', एसएसपी ज्ञवालीले भने।