
काठमाडौं: प्रदेश नम्बर ३ को सरकारको अगुवाइमा काठमाडौंमा युवा उद्यमशील सम्मेलन गरिने भएको छ। युवाहरुलाई उद्यममा लाग्न प्रेरित गर्न, त्यसका लागि चाहिने स्रोत, साधन र सोचको विकास गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको प्रदेश ३ सरकारका उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए।
आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने सम्मेलनमा उद्यमशील सोच राख्ने देशभरीका ११ सयभन्दा बढी युवाहरुले भाग लिने छन्। उद्यमी बन्नका लागि सीप, दक्षता, आत्मविश्वास, पुँजी र लगानीको वातावरण चाहिने भएकोले युवा उद्यमशीलता सम्मेलनले उद्यमशीलताको उपयुक्त अवसर निर्माणमा पहल गर्ने पनि मन्त्री नेपालले बताए।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन उद्यम गर्न चाहने युवाहरुका लागि महत्वपूर्ण प्लेटफर्म भएको बताए।
स्थानीय सरकार, प्रदेश सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यमा हुने सम्मेलनले युवा उद्यमीलाई प्रोत्साहन मिल्ने उनले बताए। ‘उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचानमा यो सम्मेलनले सहयोग पुग्नेछ,’ ढुङ्गेलले भने।
प्रदेश ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजना र आइएमई फाउन्डेसनको सह—आयोजनामा हुने सम्मेलनको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक हुनेछ।
११ वटा ‘सेसन’रहने सम्मेलनमा देशभरीबाट आवेदन दिएका ११ सय ५ जनामध्येबाट छानिएका ५ सय युवाहरुमाझ ४० भन्दा बढी उद्यमी अतिथिहरुले युवा उद्यमशीलताका बारे आफ्ना धारणा प्रस्तुत गर्ने आयोजकले जनाएको छ।