PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

सार्वजनिक यातायातमा प्रहरीको ‘सेफ्टी पिन अपरेसन’: महिलामाथि दुर्व्यवहार गर्नेमा अविवाहित पुरुष धेरै



पहिलोपोस्ट

सार्वजनिक यातायातमा प्रहरीको ‘सेफ्टी पिन अपरेसन’: महिलामाथि दुर्व्यवहार गर्नेमा अविवाहित पुरुष धेरै
फाइल फोटो

काठमाडौः बिहानको करिब साढे ९ बजिसकेको थियो। रुपा ( नाम परिवर्तन) लाई अफिस पुग्न हतारो थियो। उनीसँग नीजि सवारी साधन थिएन। सार्वजनिक सवारीकै माध्यमबाट नयाँ बानेश्वरदेखि कमलपोखरीसम्म पुग्नु पर्ने थियो। राजधानीको सवारी अवस्था उस्तै। त्यसमा पनि पिक आवर। उनी नेपाल यातायातमा चढिन्। बस यात्रुले खचाखच थियो।

सबै आफ्नै धुनमा मस्त थिए। एक्कासी रुपा झस्किइन्। बसभित्र सँगै रहेको एक युवकको हात उसको शरिरमा परिसकेको थियो। एक्कासी उनी चिच्याइन्। बसमा हल्लाखल्ला मच्चियो। सादा पोसाकमा खटिएका प्रहरी आएर ती युवकलाई नियन्त्रणमा लिए।

दुईबर्षदेखि महानगरीय प्रहरी कार्यालय रानी पोखरीले सार्वजनिक स्थानमा महिलामाथि हुने दुर्व्यवहार र चोरी नियन्त्रण गर्ने एक सय जनाभन्दाबढी सादा पोसाकमा प्रहरी परिचालन गरेको छ।‘सेफ्टी पिन अपरेसन’ नाम दिएको अप्रेसनमा अहिले बर्षमा करिब ४ सय जना प्रहरीको अनुसन्धान दायरामा आउने गरेका छन्। यसै अपरेसन अन्तगर्त नेपाल यातायातबाट प्रहरीले सो युवकलाई नियन्त्रणमा लिन सफल भएको हो। 

उपत्यकाभित्रका कालिमाटी, कोटेश्वर, गौशाला, कलंकी, नयाँ बसपार्क, जाउलाखेल, भक्तपुर लगायतका स्थानमा महिलामाथि बढी दुर्व्यवहार हुने गरेको प्रहरीको दाबी छ। गएको आर्थिक वर्षमा प्रहरीले सार्वजनिक सवारीमा हुने गतिविधिमा संलग्न ३ सय ८४ जनालाई नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै काठमाडौंबाट ३ सय १२ जना, ललितपुरबाट ५३ जना र भक्तपुरबाट १९ जनालाई नियन्त्रणमा लिएको छ।

‘कतिपय पीडितले प्रतिकार नगर्दा झन् यस्ता घटनाले प्रसय पाउँछ। प्रहरीलाई तत्काल खबर भए हामी कारबाही गर्छौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले भने।

प्रहरीले नियन्त्रणमा लिएका मध्ये २ सय ४५ जनालाई परिवारको जिम्मा लगाएर पठाएको, ६० जनालाई मुद्दा चलाएको र बाँकीको अनुसन्धान भइरहेको छ।

पक्राउ पर्ने सबैभन्दा धेरै अश्लिल हर्कत गर्ने रहेका छन्। ९० जना अश्लिल हर्कत गर्ने, ४३ जना शारीरिक यौन दुर्व्यवहार गर्ने, २९ जना अपशव्द तथा अश्लिल गाली गरेको अभियोगमा प्रहरी नियन्त्रणमा छन्। यसरी प्रहरीको नियन्त्रणमा पर्नेहरु १५ देखि २५ वर्ष उमेर समूहका रहेका छन्। १६ वर्षसम्मका ११ जना, १६ देखि २५ उमेर समुहका दुई सय ६६ जना, २६ देखि ३५ सम्म ६६ जना र ३६ माथिका ४९ जना रहेका छन्।

साना सवारीभन्दा ठूला बस र नेपाल यातायातमा यस्ता घटना बढी भएको प्रहरीको भनाइ छ। अफिस समयमा यस्ता घटना सबैभन्दा धेरै घट्ने गरेका छन्। बिहानको ८ बजेदेखि १२ बजेसम्म २ सय ३० वटा घटना भएका छन्। १२ बजेपछि १ सय ५४ वटा घटना भएका छन्।

‘मानिसको आवतजावत बढी हुने समयमा मौकाको फाइदा समेत लिएर सार्वजनिक सवारीमा यस्ता गतिविधि हुने गरेको पाइन्छ। त्यसैले पिक आवरमा हामीले सादा पोशाकमा सार्वजनिक सवारीमा प्रहरी खटाएका छौं,‘ एसएसपी ज्ञवालीले भने।

अविवाहित र नपढेका पूरुषबाट महिला दुर्व्यवहार

प्रहरीको अनुसन्धानमा यसरी महिलामाथि दुर्व्यवहार गर्ने अधिकांश अविवाहित पुरुष नै हुने गरेको देखिएको छ। प्रहरीले पक्राउ गरेका मध्ये दुई सय आठ जना अविवाहित र एक सय ७२ जना विवाहित भएको देखिएको छ। ४ जनाको हकमा भने केही खुल्न सकेको छैन। त्यसो त पढेलेखेका, स्नातक उत्तीर्ण गरेका  युवाले समेत सार्वजनिक सवारीमा यस्तो गलत हर्कत गर्ने गरेको पाइएको छ। तर सबैभन्दा धेरै साधारण पढलेख गरेका पुरुष परेका छन्।

‘चेतना र शैक्षिकस्तरले पनि फरक पार्छ। शिक्षितबाट भन्दा अशिक्षितबाट नै यस्ता गतिविधि भएको दखिन्छ,‘ एसएसपी ज्ञवालीले भने।

प्रहरीको तथ्यांक अनुसार पक्राउ पर्नेमा साधारण लेखपढ गरेका दुई सय ८६ जना, एसएलसी पास ६१ जना, प्रमाणपत्र १६ जना र स्नातकतह माथिका २१ जना रहेका छन्।

प्रहरीको मोबाइलमा म्यासेज गर्नुहोस्

तपाईं माथि कुनै दुर्व्यवहार भयो। अपराधी गतिविधि भए। फोन गर्दा अपराधी वा कसैले थाहा पाउने अवस्था छ। यदि यस्तो छ भने तपाईंले म्यासेज गरेर पनि प्रहरीलाई जानकारी दिन सक्नुहुनेछ। आफ्नो मोबाइलमा गएर १०० मा गएर म्यासेज गर्नुहोस्।

प्रहरीलाई म्यासेज गरे १० मिनेट भित्रमा प्रहरी घटनास्थलमा आइपुग्ने प्रहरीले जनाएको छ। प्रहरीले गत  मङ्सिर १ गतेबाट म्यासेज सेवा सञ्चालनमा ल्याएको हो। महानगरीय प्रहरी कार्यालयमा अहिले दैनिक ३० देखि ३५ वटा म्यासेज आउने गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell