PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

प्रम ओली उपचार गर्न सिंगापुर जाँदा, उनका जनसम्पर्क सल्लाहकार र विवादित मेडिकल कलेजका संचालक पनि उतै



पहिलोपोस्ट

प्रम ओली उपचार गर्न सिंगापुर जाँदा, उनका जनसम्पर्क सल्लाहकार र विवादित मेडिकल कलेजका संचालक पनि उतै
तस्बिर: सुजित महतको ट्विटर

काठमाडौं : स्वास्थ्योपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सिंगापुरमा छन्। उनीसँगै उनका सहयोगीहरु पनि सिंगापुर गएका छन्।

प्रधानमन्त्री ओली र उनका सहयोगी सिंगापुर गएको विषयलाई धेरैले सामान्य रुपमा नै लिएका छन्। मुलुक सम्हालिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति संवेदनशील रहनुलाई सबैले सहज रुपमा लिनु ठीकै हो। तर, सामाजिक सञ्जालमा देखिएको एउटा तस्बिरले भने सिंगापुरमा अरु पनि केही पाक्दै त छैन भन्ने शंका भने उब्जाएको छ।

तस्बिरमा बसुरुद्धिन अन्सारी र अच्युत मैनाली सिंगापुर घुमघाममा रहेको देखिन्छ। अन्सारी विवादित मेडिकल कलेज नेशनल मेडिकल कलेजका सञ्चालक हुन् भने मैनाली प्रधानमन्त्रीका सल्लाहकार। नेपालको चिकित्सा शिक्षा क्षेत्रमा चर्चित अन्सारी र प्रधानमन्त्री एकैसाथ सिंगापुरमा देखिनु र ठीक त्यतिखेर नै प्रधानमन्त्री पनि आफ्नो स्वास्थ्य परीक्षणका लागि पुग्नु संयोगमात्र हो या त्यसभित्र केही छ? सहजै भन्न सकिन्नँ।

के प्रधानमन्त्रीका सल्लाहकार मैनाली र मेडिकल कलेजका साहु अन्सारी प्रधानमन्त्रीको स्वास्थोपचार टोलीको हिस्सा बनेर सिंगापुर पुगेका हुन् त?

'उहाँहरु सरकारी खर्चमा सिंगापुर जानु भएको होइन,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले भने, 'प्रधानमन्त्रीको टोलीमा पनि होइन।'

त्यसो त, अहिले सिंगापुर घुम्ने प्याकेजको विज्ञापन फेसबुकमा छ्यासछ्यास्ती देखिन्छ। बसुरुद्धिन अन्सारी र अच्युत मैनाली सिंगापुरमै रहेको भने उनीहरुको फोटोले नै पुष्टि गर्छ। तर, यी दुवै प्रधानमन्त्री ओलीसँगै गएका भने होइनन्। ओली गएको भोलिपल्ट अन्सारी र मैनाली सिंगापुर पुगेका हुन्।

अन्सारी मेडिकल कलेजसँग जोडिएका मात्र छैनन्, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेले वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवार समेत बनाएको थियो उनलाई। उनीसँगै गएका मैनाली त प्रधानमन्त्रीका सल्लाहकार नै हुन्। उनी प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार। मानिसहरु भेटघाटको चाँजोपाँजो मिलाउने जिम्मेवारी उनकै काँधमा हुने गर्छ।

पार्टीका नेता र व्‍यवसायी तथा प्रधानमन्त्रीका सल्लाहकार सिंगापुर घुम्नै गएको भए पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न र उनलाई भेट्न नजाने कुरै भएन। विदेशमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न उनीहरु जानु अस्वभाविक पनि होइन।

सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको उपचार खर्च राज्यले नबेहोर्ने बताइसकेका छन्। प्रधानमन्त्रीले निजी खर्चमै उपचार गराउने चर्चा चलिरहँदा अन्सारी टुप्लुक्क सिंगापुरमा देखिनु संयोग मात्रै हुन सक्ला त?

तर, यतिमात्र हो- उनीहरुको सिंगापुरमा घुमघामको फोटो चाहिँ सार्वजनिक भयो, प्रधानमन्त्रीसँग भेटे नभेटेको खुलाउने फोटो चाहिँ सार्वजनिक भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell