
सुर्खेत: कर्णाली प्रदेशको राजधानीमा रहेको प्रसिद्ध पर्यटकीय गन्तव्य कांक्रेविहारमा तोडफोड भएको छ। पुरातात्विक तथा ऐतिहासिक स्थल कांक्रेविहार पुनर्निर्माणको अन्तिम चरणमा रहेको बेला तोडफोड हुँदा असुरक्षित बन्दै गएको छ।
वीरेन्द्रनगर ९ लाटिकोइलीमा रहेको कांक्रेविहार लगातार तीनदेखि तोडफोड हुँदै आएको छ। तीन दिनदेखि अज्ञात समूहले गेट भत्काउने, गजुर र काउन्टर तोडफोड गर्ने लगायत गर्दै आएको छ।
शनिवार, आइतवार र सोमवार राति लगातार कांक्रेविहार भग्नावशेषको संरक्षणका लागि लगाइएको तारबार र त्यहाँ बनाइएको गेट तथा टिकट काउन्टर तोडफोड गरिएको छ। कांक्रेविहार बस्तीदेखि अलग्गै जंगलको छेउमा भएकाले पनि असुरक्षित बनेको हो। कांक्रेविहारको रेखदेख दिउँसो मात्रै हुने भएकाले रातिको समयमा तोडफोड हुने गरेको स्थानीय हेरालु सीता कार्कीले बताइन्।
लगातार एउटै अज्ञात हतियारधारी समूहले तोडफोड गरेको हुनसक्ने उनको तर्क छ।
कांक्रेविहारको मुल प्रवेशद्वारमा ताला लगाइएपनि फोडेर भित्र टिकट काउन्टर घरको झ्यालका सिसाहरु, हात धुने बेसिन, टेबुल लगाएतका सामान तोडफोड भएको छन्। शिखरशैलीमा निर्माणाधिन मन्दिरको टुप्पामा समेत पुगी त्यहाँ राखिएको थैला, बोरा च्यातचुत पारिएको छ। कांक्रेविहारको संरक्षणका लागि लगाइएको घेराबारको दक्षिणतर्फ गेटको गजुर समेत भाँचिएको भेटिएको छ। यसरी दिनप्रतिदिन धामिर्क पर्यटकीय स्थल तोडफोड हुँदा असुरक्षित भएको भन्दै स्थानीय त्रासमा छन्। स्थानीयले तत्काल कांक्रेविहारको सुरक्षा गर्नुपर्ने माग अघि सारेका छन्। अझैपनि कांक्रेविहारको सुरक्षामा ध्यान नदिए आगामी दिनमा ठुलो क्षति हुन सक्ने स्थानीय बताउँछन्।
गेट र काउन्टर तोडफोड भएपछि वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को वडा कार्यालयले सुरक्षा बढाउने तयारी गरेको छ। वडाअध्यक्ष सुरेश मानन्धरले तोडफोड गर्ने समूहलाई खोजी गर्न प्रहरीलाई आग्रह गरिएको बताए। उनले मंगलवारदेखि नै काँक्रेविहारको सुरक्षाका लागि थप हेरालुको व्यवस्था गरिने बताए। अब निर्माणको अन्तिम चरणमा रहेकाले पनि कांक्रेविहारको रेखदेख गर्न आवश्यक रहेको भन्दै छिट्टै सुरक्षा र रेखदेखका लागि कर्मचारी राखिने भएको छ।
यता काँक्रेविहारमा भएको तोडफोडका बारेमा जिल्ला प्रहरी कार्यालयले कुनै पनि जानकारी नपाएको बताएको छ। कांक्रेविहारको गेट तथा गजुर तोडफोड भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले काँक्रेविहार तोडफोड भएकोबारे कुनै जानकारी नआएको भन्दै सुरक्षाको माग गरेको खण्डमा उक्त क्षेत्रमा प्रहरी विट राख्न सकिने बताए। जिल्लामा शान्ति सुरक्षामा कमी आउन नदिने भन्दै कुनै बखत सुरक्षाका लागि आफुहरु तयार रहेको उनले बताए।