PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

विराटनगरमा ट्रान्सफर्मर राख्ने ठाउँ नपाइएको प्राधिकरणको गुनासो, लाइन नियमित हुन पुस कुर्नुपर्ने



अनन्तराज न्यौपाने

विराटनगरमा ट्रान्सफर्मर राख्ने ठाउँ नपाइएको प्राधिकरणको गुनासो, लाइन नियमित हुन पुस कुर्नुपर्ने
फाइल फोटो

विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगर क्षेत्रमा बिजुलीको लाइन नियमित हुन आगामी पुस महिनासम्म पर्खनु पर्ने भएको छ।

नेपाल विद्युत प्राधिकरण विराटनगर शाखाका प्रमुख राजीव सिंहले ढिलोमा पुस मसान्तसम्ममा यस क्षेत्रको बिजुली नियमित भइसक्ने जानकारी दिएका हुन्।

महानगर क्षेत्रमा दिनभरिमा दर्जनौँ पटक लाइन जाने गरेको छ। बिना सूचना पटक–पटक लाइन जाने समस्याले महानगरवासी पीडित भएका हुन्। लाइन आए पनि पर्याप्त भोल्टेज नहुँदा सक्नेले स्टेपलाइजरमा थप खर्च गरिरहेका छन् भने नसक्नेले दुःख सहिरहेका छन्। भोल्टेज कम हुँदा गर्मीमा पङ्खा राम्रो नचल्ने समस्या छ।

‘अहिले महानगर क्षेत्रमा ३ वटा निकायबाट बिजुलीका खम्बा सार्ने काम भइरहेको छ’, प्रमुख सिंहले भने, ‘छ लेन सडक आयोजनाले धरान–विराटनगर रोडमा खम्बा सारिरहेको छ। त्यस्तै शहरी विकास कार्यालयले महानगरको दक्षिण क्षेत्रमा पर्ने रोडशेष चौकदेखि दक्षिणको भागमा र महानगरको क्षेत्रभरि जहाँतहीँ एसियाली विकास बैङ्कको प्रोजेक्टले खम्बा सारिरहेको छ। यस्तो अवस्थामा लाइन जानु स्वाभाविक हो।’

प्रमुख राजीवले थपे, ‘प्राधिकरणले पनि महानगरमा सुधारको कामलाई अघि बढाएको छ। महानगर क्षेत्रमा हामी २ सय ५० किलोमिटर नयाँ तार लगाउँदैछौँ र जीर्ण भएका ५ सय ६५ वटा खम्बा फेरेर नयाँ खम्बा गाड्दैछौँ।’

विराटनगरभरि नयाँ ट्रान्सफर्मर २ सय वटा लगाउने कार्यालयको कार्यक्रम भएको उनले जानकारी दिए।

‘ट्रान्सफर्मर लगाउन खोज्यो ठाउँ नै उपलब्ध हुँदैन, टोलबासीको विरोध आउँछ’, सिंहले भने, ‘तर पनि ९० वटा नयाँ ट्रान्सफर्मर हामीले लगाइसक्यौँ।’
यस पटकको बर्खा र हावाहुरीले पनि बिजुलीको तार र खम्बालाई असर गरेको उनको भनाइ छ।

‘खाँबा लडेका र झुकेका ठाउँ धेरै छन्, त्यहाँ पनि मर्मत कार्य जारी छ’, उनको कथन थियो, ‘हावाहुरी र बर्खाले समस्या थपिदिएको छ।’

आफ्नो कार्यक्षेत्रभरि जम्मा ६ सय वटा नयाँ ट्रान्सफर्मर लगाउने विराटनगर कार्यालयको योजना छ। त्यसमध्ये विराटनगर महानगरलाई २ सय वटा छुट्याइएको छ। कार्यक्षेत्रमा विराटनगर महानगरसहित बुढीगङ्गा, कटहरी, जहदा र ग्रामथान गरी ४ गाउँपालिका छन्।

‘मुख्य समस्या ट्रान्सफर्मरका लागि ठाउँ हो’, उनले दोहोर्‍याए, ‘निर्धारित सबै ठाउँमा नयाँ ट्रान्सफर्मर लगाउन पाउने हो भने भोल्टेज र लाइन गइरहने, दुबै समस्या हुँदैन। त्यसैले स्थानीय बासिन्दाले ट्रान्सफर्मरका लागि ठाउँ बनाइदिनु आवश्यक हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell