PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

पुरातात्त्विक सम्पदाको पुनर्निर्माणः ३८० निर्माण सम्पन्न, कुन कुन सम्पदा भए पुनर्निर्माण?



पहिलोपोस्ट

पुरातात्त्विक सम्पदाको पुनर्निर्माणः ३८० निर्माण सम्पन्न, कुन कुन सम्पदा भए पुनर्निर्माण?

काठमfडौं: २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामध्ये तीन सय ८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माण सम्पन्न सम्पदामध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन्। अन्य दुई सय ८४ वटा छन्। सम्पदाहरूको पुनर्निर्माणमा हालसम्म दुई अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ।

 

कुन-कुन भए पुनर्निर्माण?

पुनर्निर्माण सम्पन्न सम्पदाहरूमा हनुमानढोका दरबार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक तथा तलेजु मन्दिर मुख्य छन्। त्यसै गरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायण लगायतका मन्दिरहरूको पुनर्निर्माण कार्य सम्पन्न भएका छन्।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ। स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अनन्तपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण सकिएको छ।

त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनःस्थापना भएको छ। मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ। ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्य समेत गरिएको छ।

प्राधिकरणका अनुसार रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित साततले दरबारलगायत पुनर्निर्माणका चरणमा छन्।

भूकम्पबाट कूल आठ सय ९१ वटा पुरातात्त्विक एवं सांस्कृतिक महत्त्व बोकेका सम्पदामा क्षति पुगेको थियो। तीमध्ये सात सय ५३ वटा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका छन्। प्रभावित १७ जिल्लाका एक सय ३८ वटा सम्पदा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell