PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

ठूला विपतका घटना: समन्वय र सहकार्य चाहिँ खै कहाँ?



अनन्त कोइराला

ठूला विपतका घटना: समन्वय र सहकार्य चाहिँ खै कहाँ?
बुधबार बालुवाटारस्थित सुबिसुको कार्यालयमा भएको आगलागी

जबजब कुनै दुर्घटना हुन्छन् त्यसपछि हाम्रो व्यवस्थापन क्षमतामाथि प्रश्न उठने गर्छ। दुर्घटना हुँदा सबैभन्दा पहिला उद्दार र क्षति न्युनीकरण पहिलो प्राथमिकतामा पर्छ। त्यसमा कसले कसरी र कति योगदान गर्‍यो भन्ने पाटोले कम्तिमा दुर्घटना भइरहेको बखतमा महत्व राख्दैन। दुर्घटनाको क्षति न्युनीकरणका लागि व्यवस्थापन महत्वपूर्ण कुरा हो।

बुधबार मध्याह्न साढे १२ बजे बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको ‘मुख्य सर्भर’ रहेको कार्यालयमा आगलागी भयो। कार्यालयको बाहिर गेट नजिकै रहेको पेट्रोलियम पदार्थ भण्डारण कक्षमा विद्युत सर्ट भएर आगो लागेको बुझिएको छ। आगलागी पछि आगो नियन्त्रण गर्ने कुराको व्यवस्थापन पनि अनेक अप्ठेराहरु देखिए।

‘म पनि आगलागी हुँदा त्यहीँ थिएँ। नेपालको इमर्जेन्सी सेवाको काम गराई हेर्दा हामीले राज्यलाई तिरेको कर खेर गएको महशुस भयो,’ आगलागीका प्रत्यक्षदर्शी उद्दव अधिकारीले फेसबुकमा लेखेका छन्, ‘आगो दमकलले निभाएको होइन, आफैं निभ्न थालेपछि बल्ल दमकलका कर्मचारी अगाडि बढेका थिए।‘

प्रत्यक्षदर्शीको यो भनाइ केही हदसम्म सत्य पनि थियो। पहिलोपोस्टले आगलागीका लागि जानकारी लिने क्रममा जुद्ध वारुण यन्त्रका अग्नि नियन्त्रक बद्री अधिकारीलाई सोध्दा उनले भनेका थिए, ‘पहिला त आगो गेट छेउको पेट्रोल ट्याङ्कीमा लागेको थियो। हामीले आगो निभाउन खोज्दै गर्दा ट्याङ्की पड्किएको थियो। बच्नका लागि हामी पछाडि सर्‍यौं, मेरो खुट्टाको छाला नै खुइलिएको छ।‘

बालुवाटारको प्रधानमन्त्री निवासबाट लगभग ३ सय मिटर दुरीमा रहेको सुबिसुको कार्यालयको नजिकै प्रधानन्यायाधीशको निवास छ। अनि अर्कोपट्टि राष्ट्र बैंकको केन्द्रीय कार्यालय। यी कार्यालयलाई छोड्ने हो भने पनि यो कार्यालय बस्तीकै बीचमा छ। यस्तोमा जतिसक्दो चाँडो आगो नियन्त्रण गर्नु जरुरी हुन्छ। जुद्ध वारुण यन्त्रका कर्मचारीको कुरा मान्ने हो भने आगलागी भएको खबर पाएको ४ मिनेटभित्र जुद्ध वारुण यन्त्रको पहिलो दमकल न्युरोडबाट हिँडिसकेको थियो र १० मिनेटमा घट्नास्थल पुगिसकेको थियो।

भलै त्यो पहिलो दमकलमा पानी थोरै भएकाले प्रभावकारी हुन सकेन। त्यसमाथि आगो पेट्रोलियम पदार्थमा लागेको थियो। जुद्ध वारुण पछाडि नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौं महानगरपालिका, विमानस्थलको एभियसन रेस्क्यु एण्ड फायर सर्भिस्का दमकल सबै पुगे। तर, सबै दमकल पुगे पनि यी दमकल बीच कोअर्डिनेसनमा भने कमजोरी देखियो।

जुद्ध वारुण यन्त्रका कर्मचारी बद्री अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको आगो नियन्त्रक टोलीप्रति आक्रोश नै व्यक्त गरे।

‘सहयोग त भयो तर राम्रो सहयोग भएन,’ उनले भने, ‘मेल जोड भन्दा फिमेल जोड्दिने, फिमेल जोड भन्दा मेल। अनि काम कसरी प्रभावकारी हुन्छ?’

उनले त्यतिमात्रमा चित्त बुझाएनन्, आगो नियन्त्रण गर्नका लागि ‘दक्ष’ नभएको समेत आरोप लगाए।

आगलागी भएको स्थान नेपाल प्रहरीको मुख्यालय नक्सालबाट १ दशमलब ६ किलोमिटरको दुरीमा छ। यहाँ पुग्न सामान्य सवारीलाई बढीमा ५ मिनेट लाग्छ। प्रहरी मुख्यालयको यति नजिकै आगो लाग्दा देखिएको धुवाँको मुस्लो स्पस्ट देखिन्छ। नेपाल प्रहरीको मुख्यालयबाट ५ मिनेटको दुरीमा रहेको घट्नास्थलमा प्रहरी भने करिब १५ मिनेटपछि पुगेको थियो।

प्रहरीको मुख्यालयमा पनि दमकल उपलब्ध छ। बालुवाटारमा लागेको आगो नियन्त्रणको लागि मुख्यालयबाट दमकल पुगेको थियो, ढिलो गरी।

‘नेपाल प्रहरीलाई जानकारी आएपछि हामी तत्कालै घट्नास्थलमा गइहाल्छौं,’ नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने, ‘प्रहरीलाई जानकारी आएपछि दमकल उपलब्ध भएका अरु सबै निकायसँग कोअर्डिनेसन गरेर प्रहरीले काम गर्छ।‘

नेपाल प्रहरी, जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिकाको वारुण यन्त्र, भक्तपुरबाट आएको वारुण यन्त्रदेखि विमानस्थलको एभियसन रेस्क्यु एण्ड फायर सर्भिस्का वारुण यन्त्रहरु आगो लागेको १० देखि २० मिनेटभित्र पुगेका थिए। तर, आगोलाई नियन्त्रणमा लिन भने लगभग डेढ घण्टा लाग्यो। सुबिसुको कार्यालय रहेको दुई तले भवन हो। त्यसको पनि पछिल्लो भागमा आगो फैलिइसकेको थिएन।

विमानस्थलको एभियसन रेस्क्यू एण्ड फायर सर्भिसको दमकल भने सजिलै परिचालन हुँदैन। तर, सुबिसुको कार्यालयमा लागेको आगो नियन्त्रणका लागि यो दमकल गृह सचिवको आदेशमा घट्नास्थल पुगेको थियो। विशेष गरी पेट्रोलियम पदार्थमा आगलागी हुँदा यो दमकल बढी प्रभावकारी मानिन्छ। यो ‘फोम’वाला दमकल हो।

‘घटनाको संवेदनशीलतालाई हेरेर गृहबाट एकदम चाँडो एक्सन लिइएको हो,’ एभियसनको दमकल परिचालनबारे प्रवक्ता पोखरेलले भने।

 

किन लाग्यो त यति समय आगो नियन्त्रण गर्न?

जुद्ध वारुण यन्त्रका बद्री अधिकारीलाई हामीले सोध्यौं, ‘यहाँको आगो निभाउन के अप्ठेरो थियो?’

उनले भने, ‘अलि अप्ठेरो भयो। प्रहरीले सहयोग त गर्‍यो तर उनीहरु दक्ष भएनन्। राम्रो सहयोग भएको भए अलि सजिलै चाँडै नियन्त्रणमा लिन सकिन्थ्यो।‘

उनले एभियसन रेस्क्यु एण्ड फायर सर्भिस्को दमकल आगो नियन्त्रण हुन लाग्दा बल्ल पुगेको सुनाएका थिए।

उता, सशस्त्र प्रहरी र सेना पनि आफूहरु आएपछि बल्ल आगो नियन्त्रणमा आएको दाबी गरिरहेका थिए। आगो निभाउन सशस्त्र र सेनाका अग्नि नियन्त्रकहरु कार्यालय भवन भित्रै पुगेका थिए। आगोमा नपरेका सामान हटाउनदेखि आगो निभाउनसम्म उनीहरु खटिइरहेका थिए। तर, ठूलो जनशक्तिलाई आवश्यक व्यवस्थापन गर्न भने कठीन परेको स्पष्टै देखिन्थ्यो।

आगो नियन्त्रणका लागि सशस्त्रको २४ नम्बर गुल्म कान्तिपथबाट गुल्मपति डिएसपी शेरबहादुर अधिकारीको टोली पुगेको थियो। सशस्त्रको टोली बालुवाटार १२ बजेर ५० मिनेटमा पुगेको दाबी गर्छन् अधिकारी। ‘हामीलाई १२ बजेर ३५ मिनेटमा रिपोर्टिङ् भएको थियो,’ अधिकारीले भने, ‘१२ बजेर ५० मिनेटमा हामी त्यहाँ पुगिसकेका थियौं।‘

डिएसपी अधिकारीका अनुसार सशस्त्र प्रहरीले विपदका घटनामा मानव शक्ति उपलब्ध गराउँछ। सुबिसुमा लागेको आगो नियन्त्रणका लागि पनि जुद्ध वारुण यन्त्रका लागि दक्ष जनशक्ति उपलब्ध गराउँछ। ‘हामीले जुद्ध वारुण यन्त्रलाई आवश्यक सामाग्री र जनशक्ति उपलब्ध गराउने हौं,’डिएसपी अधिकारीले भने, ‘जुद्धसँग हाम्रो सहकार्य हुन्छ। बुधवार पनि हामी सबैभन्दा पहिला पुगेका हौं।‘

यस्ता घट्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबैको व्यवस्थापन गर्ने काम गृह मन्त्रालयको विपद व्यवस्थापनले गर्छ। तर, आपतकालीन अवस्थामा जसलाई जतिबेला जानकारी आयो, तुरुन्त घट्नास्थल पुग्ने गर्छन् यी निकाय। अनि घट्नास्थलमा जजसको कमाण्डमा टोली पुगेको हुन्छ उनीहरुले आफ्नै तरिकाले काम गरिरहेका देखिन्छ।

सुबिसुको कार्यालयमा भएको आगलागी नियन्त्रणमा पुगेका टोलीहरुमा पनि आपसी समन्वयको अभाव देखिन्थ्यो।  एकातिर जुद्ध वारुण यन्त्रका कर्मचारी पत्रकारहरुसँग घट्नास्थल आफू पहिला पुगेको र आगो नियन्त्रणमा लिएको अन्तर्वार्ता दिइरहेका थिए। अनि केही पर्तिर सशस्त्रका टोली प्रमुख आफू पहिला पुगेको बताइरहेका थिए। कतिसम्म भने आगलागी नियन्त्रण भइसकेपछि आगलागी नियन्त्रणमा खटेका कुनै पनि टोली एक अर्कासँग शुभकामना आदानप्रदान गर्न लागेको देखिएन। काम सकियो, आफ्नो टोली लियो हिँड्यो। विपदका बेला सँगै काम गर्नुपर्ने यी निकायहरुमा सामान्य औपचारिकता र सम्मान पनि देखिएन।  

प्रहरी र दमकलका कर्मचारीले १० मिनेट वा १५ मिनेटमा पुगेको भनेपनि आगो लागेको देख्ने प्रत्यक्षदर्शीहरु आगो लागेको २५ मिनेटपछि मात्र दमकल पुगेको बताउँछन्। यसमा प्रहरीकै भनाइ मान्न सकिएला। तर, यस्ता ठूला विपदका घटनामा खटिने निकायका बीच समन्वय नहुँदा हुने क्षति भने असमान्य हुन्छ।  एउटा निकाय र अर्को निकायले आफू मात्र दक्ष मान्ने अवस्थाले क्षति न्युनीकरण गर्न सहयोग गर्दैन।

गृह मन्त्रालयमा विपद व्यवस्थापन भन्ने छुट्टै युनिट छ। यस्ता घट्नामा यो युनिट सक्रिय हुनुपर्ने हो। विपदमा खटिने सबै निकायबीच समन्वयको काम पनि यसले गर्नुपर्ने हो। तर धेरै घट्नामा यसको प्रभावकारिता देखिएको छैन। यी फरक फरक निकायबीच आपतकालीन अवस्थामा कसरी समन्वय गर्ने? सूचनामा कसरी प्रभावकारिता कायम गर्ने? भिन्न निकायका जनशक्तिबीच कसरी समन्वय गर्ने भन्नेमा काम गर्नुपर्ने जरुरी भैसकेको छ।

बालुवाटारजस्तो शक्ति र स्रोतको सहज पहुँच भएको स्थानमा समेत आपतकालीन अवस्थामा चुस्त व्यवस्थापन गर्न नसक्ने हो भने स्रोत र सुविधाको पहुँच नपुग्ने ठाउँमा हुने घटनामा कति ढिला सुस्ती होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell