- नीता भल्ला -
केन्याको नाइट क्लबमा गएर नाच्दा नेपालको ब्युटी पार्लरमा काम गरेभन्दा सात गुणा आम्दानी हुने थाहा पाएपछि व्युटिसियन शीलालाई उतै जाने निर्णय गर्न कति पनि समय लागेन।
२३ वर्षीया युवतीका लागि दक्षिण अफ्रिकी मुलुक केन्याबारे थाहा नहुनुले कुनै महत्त्व राखेन। न त उनलाई नृत्यको कुनै पनि अनुभव नहुँदा फरक पर्यो। न त क्लबका मालिकलाई नभेट्दा नै फरक पर्यो। अझ उनलाई रोजगारीको करारनामा समेत देखाइएको थिएन।
आफ्ना वृद्ध अभिभावकको हेरचाहसँगै मोटरसाइकल दुर्घटनामा घाइते भएका भाइको उपचारको खर्च तिर्नपर्ने बाध्यता बोकेकी शीलाका लागि मासिक ६०० अमेरिकी डलर (केन्याको ६० हजार सिलिङ) सँगै खान बस्न तथा यातायातको खर्च पनि उपलब्ध गराउने भनेपछि उनले अरु केही सोचिनन्।
'तर, यस्तो होला चिताएकै थिइन्,' गत अप्रिलमा केन्याको मोम्वासा शहरमा रहेको नाइट क्लबबाट उद्दार गरिएका ११ नेपाली मध्येकी एक शीलाले भनिन्।
उनी यहाँको क्लबमा राति ९ बजेदेखि बिहान ४ बजेसम्म नाच्थिन्। पुरुष ग्राहकहरुलाई रिझाउँदै टिप्स कमाउँथिन्।
'मलाई हरेक ठाउँमा निगरानी गर्नका लागि काम बाहेक फ्ल्याटबाट बाहिर निस्कन दिँदैनथे। पासपोर्ट र आफ्नो फोनसमेत साथमा नराख्नु मेरै सुरक्षाको लागि थियो,' आफ्नो वास्तविक नाम बताउन नचाहने शीलाले भनिन्।
नेपाल, भारत र पाकिस्तान लगायतका दक्षिण एसियाली मुलुकबाट केन्याको बयस्क मनोरन्जन उद्योगमा बलिउड स्टाइलको नृत्यका लागि पुग्ने महिलाहरुको संख्या बढ्दैछ। यसरी पुग्ने अधिकांश अवैध रुपमा रहेको केन्याको मानव बेचविखनविरुद्धका अभियन्ता र प्रहरीको दाबी छ।
यस्तो संख्या कति छ भन्ने त्यहाँ कुनै आधिकारिक तथ्यांक छैन। तर, प्रहरीले छापा मार्दा उद्दार गरिएका महिलाको संख्याले महिला तथा उमेर नपुगेका किशोरीहरु मानव तस्करका शिकार बन्दै दक्षिण एसियाबाट केन्या पुगेको देखिन्छ।
राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकलले ४३ जना महिला तथा किशोरीहरुलाई २०१६/१७ मा केन्या र तान्जानियाबाट उद्दार गरी नेपाल ल्याइएको उल्लेख छ। यसबाहेक कति उता पुगे यकिन तथ्यांक भने उपलब्ध छैन।
गत अप्रिलमा ११ नेपाली महिलालाई केन्याको नाइट क्लबबाट उद्दार गरिएसँगै मानव बेचविखनको जालोको विषय बाहिर आएको हो। यस्ता अपराधविरुद्ध सचेतना कार्यक्रम भए पनि मानव बेचविखनको यो 'ट्रेण्ड' हेर्दा अवस्था डरलाग्दो देखिन्छ।
मोम्वासा क्लबका सञ्चालक आसिफ अमिराली अलिभाइ जेठविरुद्ध मानव बेचविखन, पासपोर्ट जफत गरेको तथा आफ्नो क्लबलाई मानव तस्करी प्रोत्साहन गर्न प्रयोग गरे लगायतका अभियोग लागेको छ।
क्यानाडा र बेलायती नागरिक उनले अदालतसमक्ष अभियोग अस्वीकार गरेका छन्। उनले महिलाहरु आफूखुशी केन्या आएको र वैधानिक रुपमा सांस्कृतिक नृत्यङ्गनाका रुपमा काम गरेको दाबी गरेका छन्। असिफले आफ्नो क्लबमा यौन उत्तेजना फैलाउने नृत्य तथा यौन हिंशा हुन नदिएको दाबी गरेका छन्।
उनी धरौटीमा छुटेका छन् र अर्को सुनुवाइका लागि कुरिरहेका छन्।
बलिउड संगीतमा भारतमा 'मुजरा' झै युवतीहरु केन्याको बारमा नाच्ने गर्छन्। अहिले केन्याका नैरोबी, मोम्बासा र किसुमुमा च्याउ उम्रे जस्तैगरी बारहरु खुलेका छन्। यहाँ दक्षिण एसियाका अनगिन्ती महिलाहरु पेशेवर रुपमा नाचिरहेका छन्।
केही निजी क्लबहरुले देखाउनका लागि बाहिर एउटा नृत्य देखाउने, भित्र महिला तथा किशोरीहरुलाई यौन दाशीका रुपमा काम गर्न दबाब दिने गरेको र कतिपयलाई आफ्ना ग्रहाकहरुसँग यौन सम्पर्कका लागि दबाब दिने गरेको भन्दै मानव तस्करविरुद्धका समूहहरुले निरन्तर रुपमा आवाज उठाइरहेका छन्।
मोम्वासाबाट उद्दार गरिएका शीला र अन्य महिलाहरुले आफूहरुलाई यौनका लागि दबाब नदिइएको रोयटर्स फाउन्डेसनलाई बताएका छन्।
इक्वालिटी नाउ नामको मानवअधिकार समूहकी अधिवक्ता अनिता न्यानजोङले उद्दार गरिएका महिलाहरुबाट यथार्थ कुरा निकाल्न गाह्रो हुने गरेको र उनीहरुले आफ्नो बारेमा खोल्न नचाहने गरेको बताइन्।
'अधिकांश पीडित महिलाहरु गरिब तथा रुढीवादी परिवारबाट छन्। यस्तो किसिमको काम यहाँ लज्जाबोधको विषय हो,' उनले भनिन्, 'यदि, पीडितहरुलाई जबरजस्ती यौन कार्यमा लगाएको भए पनि उनीहरुलाई दलालहरुले यस विषयमा कसैलाई नभन्न मनाएका हुन्छन। भन्यो भने यौन व्यवसय गरेको भन्दै पक्राउ पर्ने धम्की दिएका हुन्छन्।'
केन्यामा अधिकांश स्थानीय महिला तथा किशोरीहरुलाई राम्रो कामको प्रलोभनमा परेर घरेलु कामदार वा यौन दाशीका रुपमा काममा लगाउने गरिन्छ। कतिपयलाई यौन पर्यटन उद्योगमा समेत लगाइन्छ।
केन्या हाल पनि ३ लाख २८ हजार दाशीहरुको देश मानिन्छ। देशको कुल जनसंख्यामा १४३ मध्ये एक जना दाशीको रुपमा रहेको अष्ट्रेलियाको अधिकारवादी समूह वाक फ्रि फाउन्डेशनले जारी गरेको ग्लोबल सेलवरी इन्डेक्सले देखाएको छ।
पछिल्ला वर्षमा प्रहरीले एसियाली परम्परागत नृत्यको नाम दिएर खोलिएका मुजरा बारहरुमा छापा मार्दै आएको छ। यसले दक्षिण एसियाबाट संगठित रुपमा मानव तस्करी हुने गरेको तथ्यांक अमेरिकाले सार्वजनिक गरेको मानव तस्करी सम्बन्धी प्रतिवेदनमा उल्लेख छ।
'यी छापाहरुले हामीलाई केन्यामा मानव तस्करहरुले अपनाउने उपायहरुको बारेमा थाहा पाउन सहयोग गरेको छ। यस्ता तस्करहरुले युवती भर्ती गराउनका लागि विदेशमा दलालहरु राखेका छन्,' केन्याको अपराध अनुसन्धान निर्देशकको कार्यालयका अधिकारीले नाम नबताउने शर्तमा भने, 'उनीहरुलाई सांस्कृतिक नर्तकका रुपमा कामको प्रस्ताव गरिन्छ। एक महिना बराबरको तलब अग्रिम दिइन्छ। तर, जब उनीहरु यहाँ (केन्या) पुग्छन् उनीहरुलाई हिँडडुल गर्न प्रतिबन्ध लगाइन्छ। उनीहरुलाई यौन उत्तेजना फैलाउने नृत्यका लागि दबाब दिइन्छ र आफ्ना ग्रहाकहरुसँग यौन सम्पर्कका लागि दबाब दिइन्छ।'
यस्ता पीडितहरु केन्यामा दक्षिण एसियालीका लागि दिइने तीन महिनाको पर्यटक भिसामा प्रवेश गर्छन्। नभए सांस्कृतिक कार्यक्रम प्रस्तु गर्ने कलाकारका रुपमा विशेष अस्थायी वर्क परमिट लिएर।
शीलासहित मोम्वासाबाट उद्दार गरिएका १२ नेपाली महिलाहरु केन्यामा पछिल्लो ९ महिनाको अन्तरालमा पुगेको बताएका छन्। उनीहरु भारतदेखि जहाजबाट इथियोपिया हुँदै क्लबका सन्चालकले व्यवस्था गरिदिएको खर्च लिएर केन्या पुगेका हुन्।
अदालतमा बयान लिइएका १६ देखि ३४ वर्षीया युवतीले आफूहरुलाई एउटा हाते झोलामात्र बोक्न लगाइएको र अध्यागमनका अधिकारीले सोधे केन्यामा साथी तथा आफ्ना परिवारका सदस्यलाई भेट्न आएको जवाफ दिन लगाएको बताएका छन्।
यसरी पुर्याइएकाहरुलाई हरेक रात काममा खटाइन्थ्यो र प्रत्येक महिना ४ हजार डलरसम्म टिप्स संकलनका लागि टार्गेट दिइन्थ्यो।
'हामीले टिप्स पाउँदैनथ्यौँ। सबै मालिकको हुन्थ्यो,' आफ्नो नाम बताउन नचाहने २० वर्षीया मिनाले भनिन्, 'तर उत्कृष्ट प्रदर्शन गर्ने तथा निर्धारित लक्ष्य पूरा गर्ने केटीलाई २० हजार सिलिङ (२०० डलर), २० हजार सिलिङ (३०० डलर) र ५० हजार सिलिङ (५०० डलर) बोनस दिइन्थ्यो।'
यसरी उद्दार गरिएका महिलाले आफ्नो पासपोर्ट मालिकले राखेको र आफूले काम गर्ने क्लब तथा बस्ने ठाउँको बारेमा समेत जानकारी नभएको अदालतसमक्ष बताएका छन्।
उद्दार गरिएका १२ नेपाली महिलालाई बसोवासको व्यवस्था मिलाएको केन्याको मानव अधिकार सम्बन्धी काम गर्ने संस्था ट्रेस केन्याका प्रमुख पाउल अधोचले यी महिलालाई पीडितको रुपमा व्यवहार गर्नुभन्दा पनि उपचारको आवश्यकता भएको बताए।
'उनीहरुलाई जुन तरिकाले केन्या ल्याइएको छ। उनीहरुको हिँड्डुल गर्नेसम्मको स्वतन्त्रतामा बन्देज लगाइएको छ। उनीहरुको पासपोर्ट खोसिएको छ। यी सबै मानव तस्करीका संकेत हुन्,' अधोचले भने।
यसरी उद्दार गरिएका महिलालाई गत महिना नै नेपाल फर्काइएको छ।
'यी सबै चिजहरु भयानक रहे,' वास्तविक नाम नबताउने २४ वर्षीया सोनियाले नेपाल फर्किनु अगाडि भनेकी थिइन्, 'म यहाँ आउनु नै हुने थिएन। यो मेरो गल्ती थियो। म घर पुग्न चाहन्छु। र फेरि केन्या आउने छैन।'
(थोमसन रोयटर्स फाउन्डेशनमा प्रकाशित नीता भल्लाको फिचरको विधुर ढकालले गरेको भावानुवाद)