काठमाडौं: विख्यात अमेरिकी पप स्टार टेलर स्विफ्ट ३ वर्षपछि एमटिभीको भिडियो म्युजिक अवार्ड कार्यक्रमको स्टेजमा कम्मर मर्काउने पक्कापक्की भएको हलिउड रिपोर्टरले जनाएको छ। स्विफ्टले सन् २०१५ यता कुनै पनि पुरस्कार समारोहमा सांगीतिक प्रस्तुति दिएकी छैनन्।
उनले सन् २०१७ मा रिलिज भएको एल्बम 'रेप्युटेसन' को प्रवर्द्धनका लागि दुई वर्षअघि देखि नै स्टेजमा कुनै परफर्मेन्स गरेकी थिइनन्। युवामाझ औधी लोकप्रिय 'पप आइकन' स्विफ्टले सातौं एल्बम 'लवर' अगस्ट २३ मा रिलिज भएपछि हुने यस वर्षको भिएमएको स्टेज नै ३ वर्षयता उनको पहिलो टेलिभिजन परफर्मेन्स हुनेछ। उनले नयाँ एल्बमको तीन वटा गीत 'मि', 'यु निड टु काम डाउन' र 'द आर्चर' सार्वजनिक गरिसकेकी छिन्।
यस वर्षको भिएमए निकै रमाइलो हुने संकेत देखिएको छ। विभिन्न १० विधाका पुरस्कारका लागि यसपटक स्विफट र अर्की पप स्टार एरियाना ग्रान्डेबीच प्रतिस्पर्धा हुनेछ। 'भिडियो अफ दी इयर', 'सङ अफ दी इयर' र 'भिडियो फर गुड' सहित १० विधामा स्विफट र ग्रान्डे दुवै मनोनयनमा परेका छन्। स्विफट सन् २०१५ मा पनि यो अवार्डका १० विधामा मनोनयन भइसकेकी छिन्। स्विफ्टको 'यु निड टु काम डाउन' अवार्डका ७ विधामा मनोनयनमा परेको छ।
न्यु जर्सीको नेवार्कस्थित प्रुडेन्सियल सेन्टरमा अगस्ट २६ मा हुने अवार्ड समारोहको सञ्चालन कमेडियन सेबास्टियन म्यानिसकाल्कोले गर्ने छन्। समारोहको प्रत्यक्ष प्रशारण एमटिभीले गर्ने छ।
कन्ट्री सिंगरबाट पप गायनमा प्रवेश गरेर पनि लोकप्रियता कमाउन सफल यी 'सेक इट अफ' गायिकाले यसपल्टको भिएमए समारोहका दर्शकलाई आफ्नै 'स्टाइल' मा निकै तताउने अनुमान सहजै गर्न सकिन्छ।
नयाँ क्याटागोरीः के-पप
यसपटक एमटिभीले अवार्डमा नयाँ क्याटागोरी पनि थपेको छः के-पप अर्थात् कोरियाली पप। यो क्याटागोरीमा अहिले विश्वकै सर्वाधिक लोकप्रिय के-पप ब्यान्ड 'बिटिएस' पनि मनोनयनमा परेको छ। यसबाहेक पनि बिटिएसको ह्याल्सी फिचर्ड गीत 'बोई विद लभ' बेस्ट कोलाबोरेसन क्याटागोरीमा परेको सिएनएनले उल्लेख गरेको छ।