काठमाडौं : बिहीवार एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी अस्पताल महाजगञ्ज पुगिन्।
उनको स्वास्थ्यमा समस्या थियो। त्यसैले परीक्षणका लागि अस्पताल पुगेकी थिइन्।
उपचारका लागि अस्पताल पुगेकी उनलाई त्यहाँ रहेका एक प्रहरीले अप्रत्यासित रुपमा नियन्त्रणमा लिए। किन आफ्नै बर्दीमा खटिएका प्रहरीलाई नियन्त्रणमा लिए त? नियन्त्रणमा लिने प्रहरी उनीभन्दा तल्लो दर्जाका (सई) थिए।
अस्पतालमै नियन्त्रणमा लिइएकी उनलाई सिधै महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुर्याइयो। शंका लागेर ल्याएका ती प्रहरी महिला माथि प्रहरीले अनुसन्धान सुरु गर्यो। प्रहरीलाई निष्कर्षमा पुग्न धेरै समय नै लागेन। तर, प्रहरीलाई नै चकित पार्ने एउटा तथ्य फेला पर्यो।
बर्दीमा आएकी उनी खासमा नक्कली इन्स्पेक्टर रहेको खुल्यो।
‘हाम्रो टोलीले शंका लागेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो। उनी नक्कली प्रहरी भएको खुलेको छ,' महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणीन्द्र प्रसाईले भने।
ती महिलाले विगत केही वर्षदेखि नै यसरी प्रहरी अस्पतालबाट स्वास्थ्य सुविधा लिने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनले आफ्नोमात्र होइन बर्दीमै आएर छोराको समेत उपचार गराएको भेटिएको छ।
‘लामो समयदेखि उनले अस्पतालको सुविधा लिएको देखियो। पाठेघरको उपचार समेत गराएकी थिइन्,' अनुसन्धानमा खटिएका एक प्रहरीले सुनाए।
ती महिलाले पहिले असईको पोशाकमा अस्पताल पुगेर उपचार सेवा लिएको देखिएको छ। केही वर्षपछि बढुवा भएको भन्दै इन्स्पेक्टरको दर्ज्यानी चिन्ह लगाएर उपचार गराउन पुगेकी थिइन्। उनले प्रहरीको पोशाक र दर्ज्यानी चिन्ह काठमाडौंको एक पसलबाट किनेको अनुसन्धानमा खुलेको छ।
‘अहिले पोशाक र दर्ज्यानी चिन्ह पसलमा किन्न सजिलै पाइन्छ। उनले पनि पसलबाट किनेको देखियो,‘ अनुसन्धानमा खटिएका ती अधिकृतले भने।
उनले यसरी नै कतिपटक अस्पतालको सेवा लिइन भन्ने खुलेको छैन। त्यसबाहेक प्रहरीको भेषमा अन्य केही गतिविधि गरेको पनि खुलिसकेको छैन।
तर, उनले पोशाक खरीद गरेको रकम समेत तिर्न बाँकी रहेको खुलेको छ। करिब ७ हजार रुपैयाँ उधारै रहेको अनुसन्धानमा देखिएको हो।
‘उधारोमा पोशाक खरीद गरेको भेटियो। अरु बुझ्दै छौं,' डिएसपी प्रसाईले भने।
अर्को तथ्य पनि प्रहरीले पहिचान गरिसकेको छ - महिलाको मानसिक सन्तुलन सहि अवस्थामा छैन।
उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनका आफन्तले प्रहरीबाट बुझेर उनको उपचार गराइरहेका छन्।
‘मानसिक सन्तुलन गुमेकाले आफन्तलाई जिम्मा लगाएर अहिले उपचार भइरहेको छ,' डिएसपी प्रसाईले भने।
(मानसिक सन्तुलन गुमेको महिला भएकाले उनको नाम ठेगाना र परिचय खुल्ने अन्य कुरा समाचारमा गोप्य राखिएको हो।)