काठमाडौं: शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा आदिवासी जनजातिहरु विश्व आदिवासी जनजाति दिवस मनाउन भेला हुँदै थिए।
र्यालीको तयारी हुँदै गर्दै मुल गेट नजिकै भने विभिन्न देशका महिलाहरु नदी जोगाउन माग गर्दै आफ्नै भाषामा नारा घन्काइरहेका थिए।
'इफ वुमन स्टप, द वर्ल्ड स्टप' प्लेकार्डसहित उनीहरु नदीलाई जोगाउनुपर्छ भन्दै उफ्रन थाले। बेलाबेला आफ्नै भाषामा चिच्याए पनि।
'खोलालाई बग्न देऊ', 'खोला हाम्रो जीवन' नारा लेखेको ब्यानरमा माझी महिला उनीहरुलाई साथ दिइरहेका थिए।
समूहको अगुवाइ गर्दै थिइन् इन्डोनेसियाकी प्याट्रिसिया वटीमेना।
नेपाली माझी महिलाहरुको मागमा ऐक्यबद्धता जनाउन आफू इन्डोनेसियादेखि आएको उनले बताइन्। 'सुनकोशीमा ड्याम बन्ने कुरा रहेछ। त्यसले माझीहरुलाई निकै अप्ठेरो पार्ने देखियो,’ प्याट्रिसियाले भनिन्, ‘यस्तो काममा सरकारले अध्ययन गरेरमात्र काम गर्नुपर्छ भन्ने हाम्रो माग छ।'
विश्वभरका आदिवासी एक हुनुपर्ने आवाज घन्काउन र नेपाली आदिवासीको मुद्दामा साथ दिन आफू नेपाल आएको उनले बताइन्। माझी बस्ती उठे आदिवासीको अस्तित्व समाप्त हुने उनको तर्क छ।
उनीसँगै २४ जना विदेशी महिला आदिवासी दिवसमा माझी समूदायसँगै आइपुगेका थिए।
उनीहरु ‘एसिया प्यासिफिक फोरम अन वुमन ल डेभलप्मेन्ट’(एपीडब्लुएलडी)बाट प्रतिनिधित्व गर्न नेपाल आएका हुन्। संस्थाभित्र एसिया मुलुकका दुई सय ४८ महिला अधिकारवादीहरुको संस्था आवद्ध रहेको भारतकी नेहा गुप्ताले बताइन्।
समूहमा म्यानमार, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स, ताजकिस्तान पाकिस्तान, बंगलादेश, समोअ, भारत र पकिस्तानका महिलाहरु छन्।
'सरकारले सुनकोशीमा विद्युत आयोजना बनाउँदै रहेछ। यसले त यहाँको आदिवासी माझी समूदायको उठीवास हुने देखियो। यस्ता समस्याको त सरकारले समाधान गरिदिनुपर्ने हो,' नेहा गुप्ताले भनिन्, 'तर यसका लागि केही ध्यान दिएको देखिएन। हामीले खासमा माझी महिला समूदायका लागि भर्खरै काम थालेका हौं।'
माझी समूदायका महिलालाई भने रामेछाप कुनौरीकी ममता माझीले नेतृत्व गरेकी थिइन्। रामेछापको कुनौरी र भटौरीबाट काठमाडौंमा पहिलोपटक माझी महिला सुनकोशीबारे आवाज उठाउन आइपुगेको ममताले सुनाइन्।
'हामी १५ जना रामेछापबाट आएका हौं। म त पहिलोपटक यस्तो माग लिएर काठमाडौं आएकी,’ ममताले भनिन्, ‘विभिन्न देशकासहित ५२ जना छौं। आज विश्व आदिवासी दिवस भएकोले पनि हाम्रो सहभागिता महत्वपूर्ण रह्यो। अर्को कुरा नदीलाई जोगाउनपर्छ भन्ने हाम्रो माग हो।'
माझी समूदायको बस्ती नै नदीको छेउमा हुने उल्लेख गर्दै ममताले दोस्रो सुनकोशी बने गाउँ नै डुबानमा पर्ने दाबी गरिन्। 'मुख्य समस्या भनेको सुनकोशी दोस्रो बन्दैछ। यसका लागि ड्याम बन्दैछ,’ उनले चिन्ता व्यक्त गर्दै भनिन्, ‘यसले गर्दा हाम्रो गाउँ डुबानमा पर्छ। माझी समूदायको जीवन चलाउने भनेको नदीबाटै हो। हामी नदी छेउछाउ बस्नेको उठीबास हुन्छ नि।'
र्याली शुरु भएपछि उनीहरुले डुंगासहित आफ्नो यात्रा शुरु गरे। र्यालीमा पनि उनीहरुको मुख्य माग 'नदीलाई बग्न देऊ' भन्ने नै थियो। उनीहरु माइतीघरसम्मै डुंगासहित सहभागी भए।
रामेछापमा बन्ने सुनकोशी दोस्रोले त्यहाँको माझी समूदायलाई कतिको असर पर्छ त?
यसबारेमा सुनकोशी दोस्रोका इन्जिनियर श्यामकिशोर यादवसँग बुझ्दा उनले यो परियोजना अध्ययनकै क्रममा रहेको बताए।
यादवले पहिलोपोस्टसँग भने, 'यो परियोजना अध्ययनकै क्रममा छ। यसले के कति बस्ती डुबानमा पर्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन। त्यसैपनि विस्तृत अध्ययन बिना आयोजना शुरु हुँदैन।'
सुनकोशी दोस्रो एकहजार एकसय १६ मेगावाटको जलाशययुक्त जलविद्युत आयोजना हो। नेपाल विद्युत विकास विभागले यसको सम्भव्यता अध्ययन गरिरहेको छ।