PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कर्णाली सरकारको नयाँ गाडी : थन्किएपछि यसरी थोत्रिँदै



पी बी खड्का

कर्णाली सरकारको नयाँ गाडी : थन्किएपछि यसरी थोत्रिँदै

सुर्खेत: कर्णाली प्रदेश सरकारले खरिद गरेको नयाँ गाडी प्रयोगमा ल्याउन नसक्दा थन्किएका छन्। प्रदेश सरकारले तीन महिनाअघि खरिद गरेको ५ वटा नयाँ गाडी प्रयोगमा नआउँदा त्यत्तिकै थन्किएर खिया लाग्न थालेका छन्। सरकारले गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी खरिद गरेको नयाँ गाडीसमेत प्रयोगविहिन बनेका हुन्।

गत आर्थिक वर्षको झण्डै २२ करोड बढी बजेट रकामान्तर गरी ५४ वटा नयाँ गाडी खरिद गरेकोमा अहिले पाँच वटा गाडी मन्त्रालय परिसरमा थन्किएका छन्। मन्त्री, सचिव र जिल्लामा पठाउने गाडी प्रयोगमा ल्याए पनि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खरिद गरेको १६ वटा गाडीमध्ये प्रहरीको २ वटा पिकअप भ्यान, भौतिक पूर्वाधार विकास मन्त्रालयले खरिद गरेको १६ वटा गाडीमध्ये २ वटा बोलेरो जिप, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६ वटा बोलेरो जिपमध्ये एक गाडी थन्किएर खिया लाग्न सुरु गरिसकेको छ। गाडी खरिद गरेको महिनौँ वितिसक्दा पनि अझै प्रयोग नगर्दा र सुरक्षित स्थानमा राख्न नसक्दा ती गाडीहरु घाम पानीले गर्दा खिया लागेर थोत्रिन लागेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यले जिल्लाका संरचना अपुग र गाडी प्रयोग गर्ने कर्मचारी आईनपुगेकाले गाडी थन्किएको बताए। उनले गाडी थन्किएको विषयलाई बाहिर नल्याउन आग्रह गर्दै मन्त्रालयमा कर्मचारी लगाएत संरचनाको अभाव भएको विषय सञ्चारमाध्यमले उठाउनुपर्ने बताए।

‘दुई चार वटा गाडी राखिएको विषय ठुलो होइन। यसलाई बाहिर ल्याउनु उपयुक्त हुदैँन,’ उनले भने,‘कर्णालीकै विकासको लागि खरिद गरिएको हो। अन्यथा मान्नु पर्दैन। अहिले जिल्लामा संरचना पनि बनिनसकेको अवस्था र गाडी चढ्ने कर्मचारी पनि आइनसकेको अवस्था छ। त्यसैले गाडी पठाएर दुरुपयोग गर्नुभन्दा मन्त्रालयमै राखिएको हो।’ फेरि थपे,‘विकास निर्माणका काम र कर्मचारी अभाव हुँदा काम रोकिएको जस्ता विषयलाई उठाउनु  पर्‍यो।’

आवश्यक संरचना विनै गाडी किनेर थन्क्याउनुभन्दा गाडी खरिद नगरेकै बेश हुने देखिन्छ। अधिकांश मन्त्रालय राम्रा र मंहगा गाडी प्रयोग गरिसकेका छन् भने कम मूल्यका गाडी यो वर्षे झरीमा राखेरै खिया लाग्न थालेका छन्।

एक त, नागरिकका महत्वपूर्ण माग र आवश्यकतालाई छोडी विकास बजेट नै रकमान्तर गरी गाडी खरिद गर्ने प्रवृतिले सुशासनकै खिल्ली उडाएको छ। अर्कातिर, किनेका गाडी पनि थन्काइनुले आवश्यकता विनै गाडी खरिद गरिएको पुष्टि हुन्छ।

गएको वर्ष मात्रै आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले १६/१६ वटा गाडी खरिद गरेकोमा २/२ वटा नयाँ गाडी प्रयोगमा ल्याउन सकेको छैन। पहिलो चरणमा आफुहरुले प्राप्त गरेको गाडी हस्तान्तर गरिसकेको र ढिला गरी प्राप्त भएकाले अब छिट्टै वितरण गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको भनाई छ।

‘हामी रकमान्तर गरेर गाडी खरिद गरेका होइनौँ। पहिलो चरणमा प्राप्त गरेको गाडीहरु प्रहरी लगाएत दिनुपर्ने निकायलाई हस्तान्तरण गरिसकेका छौँ,’ उनले भने,‘भर्खरै प्राप्त भएको गाडीहरु हस्तान्तर गर्ने प्रक्रियामै छौँ। अव छिट्टै हस्तान्तरण गर्छौ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell