
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनबाट नेपाली जनताले दिलैदेखि गरेको स्वागत र पार्टी एकताको अनुमोदनलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताएका छन्। वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्त महासंघ नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले भने, ‘नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याइपुर्याइदियो। हामी असफल भयौं भने नेपाल राष्ट्र असफल हुन्छ। राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ।’
उनले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको जनतालाई बोझ थप्न नभएको भन्दै जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्नका लागि भएको दावी गरे। सबैले कर उठाएर करको भार जनताको थाप्लोमा थोपर्ने बिल्कुल उद्देश्य नभएको उनको भनाई थियो। ‘हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं। हामीले रोपेको एउटा अर्कै उम्रेला जस्तो भएको छ, ’ उनले भने।
उनले ढिलै भए पनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आइपुगेको बताउँदै अबको दशक भनेको समृद्धि र विकासको दशक रहेको बताए।
‘सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामहरुलाई अगाडि बढाउने अवसर नेपालमा फेरि प्राप्त हुन्छ कि हुन्न। योभन्दा राम्रो अवसर हुनै सक्दैन। हामीले वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझै धेरै गर्न काम बाँकी छ, ’ उनले भने।