PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अपराध लुकाउन ढाँटको सहारा : पोलिग्राफ परीक्षणमा पनि अधिकांश बोल्छन् झुट्



पहिलोपोस्ट

अपराध लुकाउन ढाँटको सहारा : पोलिग्राफ परीक्षणमा पनि अधिकांश बोल्छन् झुट्
फाइल फोटो

काठमाडौं: समाजमा अपराधको ट्रेन्ड बदलिएसँगै पोलिग्राफ परीक्षणको सङख्या पनि बढेर गएको छ। पाँच वर्षको अवधिमा अभियुक्तको पोलिग्राफ परीक्षणको ग्राफ बढ्दो छ।

नेपाल प्रहरीले देशभरबाट आर्थिक वर्ष २०७५/०७६ मा ५८४ जनाको पोलिग्राफ परीक्षण गरेको जनायो। तीमध्ये ५१७ जना पुरुष र ६७ जना महिला थिए। सत्यता पत्ता लगाउन प्रयोग गरिने पोलिग्राफमासमेत यो अवधिमा ३ सय ९ जनाले झुट बोलेका छन्। बाँकी दुई सय ३२ जनाले झुट नबोलेका थिए।

परीक्षण गरिएकामध्ये २८ जनाको कुनै पनि राय दिन नमिल्ने देखाएको प्रहरीले उल्लेख गरेको छ। अभियुक्तको स्वीकृति विना पोलिग्राफ परीक्षण गर्न नपाइने भएकाले १५ जनाले परीक्षणको लागि सहमति नदिएको भेटिएको छ।

समाजमा प्रविधिको प्रयोगले जटिल किसिमका अपराध बढेसँगै प्रहरीले गर्ने पोलिग्राफ टेस्टको सङ्ख्या पनि बढ्दै गएको हो। अनुसन्धानको जटिलतालाई सहज पार्ने भएकाले पोलिग्राफ टेष्टको सङख्या बढेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज सुवेदीले बताए।

'अनुसन्धानमा केही जटिलता भएको खण्डमा पोलिग्राफले सम्बन्धित अभियुक्तबाट अनुसन्धान गर्न मार्ग निर्देशन गर्छ। अनुसन्धान गर्ने कि नगर्ने टुङगोमा पुर्‍याउँछ,'  डिआइजी पोखरेलले भने।

देशभर आर्थिक वर्ष २०७०/७१ मा प्रहरीले २ सय २५ जनाको पोलिग्राफ परीक्षण गरेको थियो। २२५ जनाको  परीक्षण गरिएमा १८९ जना पुरुष र ३६ जना महिला थिए। जसमा झुट बोलेको सङ्ख्या ८०,  झुट नबोलेको सङ्ख्या १३४, राय दिन नसकिने सङ्ख्या ११ जना रहेको प्रहरीले जानकारी दिएको छ।

आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६७ पुग्यो यो सङ्ख्या ३९८ जना पुरुष र ७० जना महिलाको परीक्षण गरिएको , झुट बोलेको सङ्ख्या १८८,  झुट नबोलेको सङ्ख्या २४४,  राय दिन नसकिने सङ्ख्या ३६ रहेको छ।

'पोलिग्राफ प्रमाण नै चाँहि होइन। तर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने एउटा पाटो हो। प्रहरी अब कसरी अगाडि बढ्ने भन्ने कुरालाई निर्देशित गर्छ,' डिआइजी पोखरेलले भने। 

२०७२/७३ मा ३ सय ९१ जनामाथि यसको परीक्षण भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। ३३२ जना पुरुष र ५९ जना महिला रहेकोमा,  झुट बोलेको सङ्ख्या २ सय ९ जना र झुट नबोलेको सङ्ख्या १ सय ५० रहेको छ। राय दिन नसकिने सङ्ख्या ३० छ। दुई जनाले परीक्षणको लागी सहमति दिएका छैनन्।

२०७३\७४ मा पनि यो सङ्ख्या झनै बढेर ५ सय ४३ पुग्यो। ४६५ जना पुरुष र ७८ जना महिला रहेकोमा,  झुट बोलेको सङ्ख्या २ सय ९९,  झुट नबोलेको सङ्ख्या १ सय ९७  राय रहेको छ। तीन जनाले टेस्टको लागि असहमति जनाएका थिए।

चालु आर्थिक वर्षको करिब एक महिनाको अवधिमा २३ जनाको पोलिग्राफ परीक्षण गरी सकिएको छ। १९ जना पुरुष र ४ जना महिला रहेका छन्।  झुट बोलेको सङ्ख्या १२, झुट नबोलेको सङ्ख्या ८,  परीक्षणको लागि सहमति नदिएको सङ्ख्या ३ जना रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको विभागीय कारबाही, भष्टाचार, घुस लिएको, चोरी, कर्तव्य ज्यान, सवारी ज्यान, साइबर अपराध लगायतका विषयमा अभियुक्तहरुको पोलिग्राफ हुनेको गरेको छ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०७० माघ २३ गतेबाट पोलिग्राफ परीक्षण गर्न सुरु गरेको हो। पछिल्लो समय नेपाल प्रहरीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पोलिग्राफ गर्दै आएको छ। अख्तियारले प्रहरीको सहयोगमा पोलिग्राफ गर्न थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell