PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल लिटरेचर फेस्टिभलको आठौँ संस्करण मंसिरमा पोखरामा हुने



पहिलोपोस्ट

नेपाल लिटरेचर फेस्टिभलको आठौँ संस्करण मंसिरमा पोखरामा हुने

काठमाडौँः नेपाल लिटरचेर फेस्टिभल २०७६ को मिति घोषणा भएको छ। फेस्टिभलको आठौँ संस्करण आउँदो मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पोखरामा हुने छ।

फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी र विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिने जानकारी बुकवर्म फाउन्डेसनले दियो। यस वर्ष महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् लोकप्रिय साहित्यकार डा. शशी थरुर, भारतका प्रसिद्ध गीतकार एवम् कवि जावेद अख्तर, भारतीय अभिनेत्री शबाना आजमीलगायत चर्चित हस्तीहरूका साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट डिएससी पुरस्कार समेत महोत्सवमा प्रदान गरिने आयोजकले बताएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशी बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको छ।

डिएससी पुरस्कार २०१९ को नवौँ संस्करण पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१९ को अन्तिम दिन मङ्सिर ३० गते घोषणा गरिने छ। हरेक वर्ष पालैपालो दक्षिण एसियाली देशहरूमा यो पुरस्कार वितरण गरिन्छ। गत वर्ष सन् २०१८ को डिएससी पुरस्कार भारतको कोलकातामा टाटा स्टिल कोलकत्ता लिटरेरी मिटमा घोषणा गरिएको थियो। यसै रोलक्रमअनुसार यस वर्ष भने दक्षिण एसियाली साहित्य डिएससी पुरस्कार नेपालको लिटरेचर फेस्टिभलमा घोषणा गर्न लागिएको हो। पुरस्कारका लागि मनोनीत स्रष्टा र विजेताको घोषणा महोत्सवमा गरिनेछ।

आइएमई नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बरालले भने, ‘डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रुपमा उभ्याउन मद्दत पुर्‍याउनेछ।’

डिएससी पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले साहित्य क्षेत्रको यो महोत्सवमा पुरस्कार हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गरिन्। भनिन्, ’दक्षिण एसियाली साहित्यलाई विश्वसामु साक्षात्कार गराउनु हाम्रो प्रमुख उद्देश्य हो। योपटक नेपालको साहित्य महोत्सवमार्फत् त्यसो गर्न पाउँदा हर्षित छौं।‘

नेपाल भ्रमण वर्षलाई पनि महोत्सवले सघाउने विश्वास नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले व्यक्त गरिन्।

नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं २ का संयोजक एवम् फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी अधिकृत मनीष झा भन्छन्, ‘५०० वर्ष पुरानो धार्मिक र सांस्कृतिक सहर जनकपुरले मैथिली साहित्यलाई प्रतिनिधित्व गर्छ। जहाँ धर्म र संस्कृति हुन्छ, त्यहाँ संवेदना प्रचुर हुन्छ र साहित्य पनि त्यही मौलाउँछ। त्यसैले जनकपुरमा हुने महोत्सवले सहरको सांस्कृतिक, धार्मिक, साहित्यिक मूल्यमान्यतालाई पुनःस्थापना गर्न टेवा पुर्‍याउँछ।’

नेपाल भ्रमण वर्ष २०२० लाई नै मध्यनजर गर्दै प्रदेश सरकार र सरोकारवालाहरूको पहलमा सांस्कृतिक एवम् ऐतिहासिक सहर जनकपुरमा पनि आउँदो कात्तिक १७ र १८ गते साहित्य महोत्सव हुने घोषणा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell