PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

मध्यपुर थिमीमा यस वर्ष लायकू भैल नृत्य प्रदर्शन हुनेः नृत्यको प्रशिक्षण जारी



पहिलोपोस्ट

मध्यपुर थिमीमा यस वर्ष लायकू भैल नृत्य प्रदर्शन हुनेः नृत्यको प्रशिक्षण जारी
फोटो: K K MANANDHAR/ LYAKU BHAILA

काठमाडौंः गाईजात्राको लगत्तै वर्षैपिच्छे मध्यपुर थिमीमा गरिने चारदिने लायकू भैल (लायकू भैरव) नृत्य यस वर्ष भने गरिने भएको छ। रोकिएको ४७ वर्षपछि ०७२ सालमा पहिलोपटक लायकू भैल भक्तपुरका टोलटोलमा देखाइएको थियो।'

 त्यसपछि पनि लगातार दुई वर्ष भैरव नृत्य प्रदर्शन गरियो। तर ०७५ सालमा भक्तपुरका प्रजापति समुदायले पनि भैरव नृत्य प्रस्तुत गर्ने भएपछि लायकू भैरव नृत्य त्यस वर्ष नदेखाइएको भैरव नृत्यका संयोजक अर्जुन श्रेष्ठले बताए।

 लायकू भैरवको नृत्य भक्तपुरको मध्यपुर थिमीका विभिन्न टोलमा देखाइन्छ। नेपाल भाषामा लायकू भैल प्याखँ भनिने लायकू भैरव नृत्य मल्लकालमा सुरु भएको मानिन्छ। हरेक वर्षको साःपारु (गाईजात्रा) लगत्तै चार दिन यो भैरव नृत्य देखाइन्छ।

लायकू भैरव नृत्यका संयोजक अर्जुन श्रेष्ठका अनुसार गथांःमुग चतुर्दशीको दिनदेखि लायकू भैरव नृत्यको अभ्यास भइरहेको छ।

लायकू भैरव नृत्यमा लायकू भैरव र कुमारी २÷२ जना र ज्यापु गःचा १ जना गरी ५ जना कलाकार हुन्छन्। नृत्यमा बाजामध्ये दागःखिँ १२ जनाले बनाउँछन्, ८ जनाले प्वंगा बजाउने, ८ जनाले भुस्याय् बजाउने र ४ जनाले म्वाहाली (सहनाई) बजाउने गर्छन्। यी सबै बाजा ३२ प्रकारका तालमा बजाइन्छ र तिनै बाजाको तालमा लायकू भैरव नृत्य चार दिनसम्म चल्छ।


कसरी ४७ वर्ष रोकियो नृत्य ?
यो भैरव नृत्य ०२५ सालमा रोकियो। कारण थियो– तीन वर्षअघि गरेको नापीको आधारमा ०२४ सालमा भूमिसुधारले नृत्यका गुठीयारहरुको जग्गा रैतानी बनाइदिनु। गुठीको जग्गा मासिएपछि भैरव नृत्यका पःमा (प्रधान नाइके) हरुको आयस्ता नै खोसियो। नृत्यका लागि रकम अभाव भएर नृत्य रोकियो ।

त्यसपछि ४७ वर्षसम्म नृत्य रोकिएसँगै नृत्य सिकाउने, बाजा बजाउने र बाजा बजाउन सिकाउने गुरुहरु पनि एक एक गर्दै बिते र नृत्य सिकाउने कोही बाँकी रहेन। यसका साथै नाचमा लगाउने मखुन्डा नष्ट भए। नृत्यका गरगहना पोसाक नष्ट भए, हराए । फलस्वरुप नृत्य नै लोपप्रायः भयो भन्दा पनि हुन्छ भन्छन् संयोजक अर्जुन श्रेष्ठ। 


फेरि कसरी सुरु भयो लायकू भैरव नृत्य ?
केही व्यक्तिहरु जो नृत्यबारे जानकार थिए, उनीहरू यसलाई फेरि ब्युँताउने प्रयासमा थिए। यसका लागि उनीहरूले झन्डै दुई वर्ष निरन्तर प्रयास गरे। यसबीच उनीहरुलाई दैवले नै सघाए भन्दा पनि फरक नपर्ला। उनीहरुको प्रयासबीच ढुंगो खोज्दा देउता भेटेजस्तै भयो, जतिबेला उनीहरुले लायकू भैरव नृत्यबारे एउटा अत्यन्त दुर्लभ र लुकाइएको पुस्तक भेट्टाए। 

पुस्तकमा लायकू भैरव नृत्यबारे आवश्यक सबै जानकारी उल्लेख गरिएको थियो। नृत्यविधि, नाच्नेले लगाउने मखुन्डो बनाउने विधि, कलाकारका पोसाक र गरगहनासम्बन्धमा विस्तृत रुपमा सबै जानकारी पुस्तकमा उल्लेख रहेको छ। 

अहिले त्यही पुस्तकका आधारमा भैरव नृत्य ब्युँताइएको गुरु मुतीकुमार श्रेष्ठ बताउँछन्। मुतीकुमार आफैं भैरव नृत्यका नर्तक हुन्। पहिलोपल्ट लायकू भैरव नृत्यमा सहभागी हुँदा उनी १९ वर्षका लक्का जवान थिए। त्यसबेला उनीसँग नाच्ने कलाकार साथी कोही पनि बाँकी छैनन्।

नृत्यगुरु मुतीकुमारले नृत्यसम्बन्धी पुस्तक फेला नपरेको भए भैरव नृत्य फेरि ब्युँताउन सम्भव नभएको बताए। उनका अनुसार नृत्यसम्बन्धी पुस्तक तान्त्रिक विधिले तयार पारेको हुनाले सबैलाई देखाउन हुँदैन। त्यहीं पनि सबैलाई पुस्तकबारे जानकारी नभएको नृत्य गुरु मुतीकुमारले बताए।
भैरव नृत्यका व्यवस्थापक राजकुमार श्रेष्ठका अनुसार पुस्तकमा उल्लेख भएका सबै जानकारीसमेत सबैलाई भन्न हुँदैन। आफूहरुले दुर्लभ पुस्तक जोगाएर राखेको मात्र नभएर त्यसका आधारमा अर्को पुस्तकसमेत तयार पारिसकेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell