
काठमाडौँः चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस समितिले प्रतिस्पर्धी ९ उम्मेद्वारको मंगलबारबाट प्रस्तुतीकरण र अन्तर्वार्ता गर्दैछ। लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्तापछि ९ उम्मेद्वारमध्ये तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नेछ।
समितिले आइतबारदेखि नै अन्तर्वार्ताको तयारी गरे पनि मंगलबारका लागि सारेको थियो। मंगलबार (आज) पाँच जना प्रतिस्पर्धीले प्रस्तुतीकरण दिनेछन्। जसमा प्रा.डा. पारश कुमार पोखरेल, प्रा.डा. निलमणि उपाध्याय, प्रा.डा. तरुण पौडेल, प्रा.डा. यहुनचन्द्र शिवाकोटी र प्रा.डा. रमेशप्रसाद सिंह रहेका छन्।
यस्तै, बुधबार चार जनाको प्रस्तुतीकरण रहनेछ। जसमा प्रा.डा. राजेन्द्रप्रसाद सिंह, प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भु कुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी रहेका छन्।
दुई आवेदन रद्द
आवेदन दिएकामध्ये दुई जनाको नामावली समितिले रद्द गरेको थियो। प्रा.डा. प्रमोद कुमार सर्राफ र प्रा.डा. जे.एन पाण्डेयको उम्मेदवार समितिले रद्द गर्दै प्रस्तुतीकरणका लागि नबोलाउने निर्णय गरेको थियो। आयोगसँग कुनै पनि स्वार्थको टकराव नभएको लगायतका स्वयम् घोषणाहरु नगरेको भन्दै समितिले छनोट कार्यविधि अनुसार प्रस्तुतीकरणका लागि नबोलाएको हो।
उम्मेदवारले आफ्नो चार वर्षे व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ।
समितिले प्राप्त नामावलीमध्ये बढीमा तीन जनाको नाम नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ।
सिफारिस समितिले पहिलोपटक माग भएको विज्ञापन रद्द गरी साउन १ गते दोस्रो सूचना निकालेको थियो। छनोट कार्यविधि अनुसार प्राप्त आवेदनमा ऐनले तोकेको योग्यता नपुगेको भन्दै दोस्रो सूचना निकालिएको थियो।
समितिले नियुक्तिका लागि सम्भावित उम्मेदवारहरूको सूची सरकारसमक्ष पेस गर्नेछ।
चिकित्सा शिक्षा ऐनको दफा ५ मा आयोग गठनसम्बन्धी व्यवस्था छ। आयोगको अध्यक्ष भने प्रधानमन्त्री रहने व्यवस्था छ। कार्यकारी प्रमुखका रूपमा उपाध्यक्ष रहने व्यवस्था ऐनमा छ।
के छन् योग्यता
ऐनको दफा २४(१) ले उपाध्यक्षका योग्यता तोकेको छ। जसमा मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा २० वर्षको अनुभव भएको व्यक्ति उपाध्यक्षका लागि योग्य हुनेछ। शिक्षण संस्थाका बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सकलाई पनि उपाध्यक्षका लागि योग्य मानिएको छ।
आफ्नो निजी व्यवसायसँग स्वार्थ नभएको व्यक्ति हुनुपर्नेछ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध बिक्री वितरण वा ओसारपसार, राहदानी दुरुपयोग लगायतका फौजदारी कसुरमा अदालतबाट कसुरदार ठहरिएको व्यक्ति अयोग्य हुनेछ। चार वर्षे कार्यकाल रहने उपाध्यक्षको उमेरहद ६५ वर्ष कायम गरिएको छ। समितिले ६१ वर्ष उमेर ननाघेको व्यक्तिले मात्र आवेदन दिन सक्नेगरी कार्यविधि बनाएको छ।
के गर्छ आयोगले
आयोगले चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्नेछ। भने एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्नेछ।
संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह तथा विधाको मापदण्ड र स्तरसम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने अधिकार आयोगलाई हुनेछ। यस्तै चिकित्सा शिक्षासम्बन्धी अनुसन्धान नीति निर्धारण आयोगले गर्नेछ।
आशयपत्र, सम्बन्धन र सम्बन्धन खारेजसम्बन्धी नीति र मापदण्ड तय गर्ने अधिकार पनि आयोगलाई हुनेछ।