
काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मंगलवार राति करिब सवा ११ बजेतिर कोटेश्वरतिरबाट बालकुमारीतर्फ जाँदै गरेको महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले कोटेश्वर क्षेत्रको पुलमुनि ठक्कर दिएको हो। ठक्करबाट घाइते भएका अन्दाजी ६० वर्षीय एक मानिसको उपचारको क्रममा बुधवार ट्रमा सेन्टरमा मृत्यु भएको महाशाखाका एसपी रविकुमार पौडेलले जानकारी दिए।
इन्स्पेक्टरको कमान्डमा रहेको भ्यानले एक्कासी सडकमा बाटो काट्न पुगेपछि ठक्कर दिएको एसपी पौडेलको दाबी छ। 'एक्कासी मानिस बाटोमा आएको देखियो। हाम्रो गाडी तीव्र र नियम विपरीत थिएन। एक्कासी मानिस आएपछि दुर्घटना भएको छ,' एसपी पौडेलले भने।
मृतकको सनाखत हुन सकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सडकपेटीमा बस्दै आएका मानिस भएको बुझिएको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले गाडी र चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। 'दुर्घटना हो अरु अन्य मानिसको हकमा झैं चालकलाई कारवाही हुन्छ,' वृत्तका प्रमुख डिएसपी दुर्गाराज रेग्मीले भने।