PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जापान उडानमा निगमको लापरवाही: भिसा नपाएर 'कन्ट्री मेनेजर' स्वदेश फिर्ता



वसन्तराज उप्रेती

जापान उडानमा निगमको लापरवाही: भिसा नपाएर 'कन्ट्री मेनेजर' स्वदेश फिर्ता

काठमाडौं: अगस्टको २९ तारिखबाट जापानको ओसाका उडान सुरु गर्न लागेको नेपाल वायुसेवा निगमका जापान‘कन्ट्री मेनेजर’भिसा नपाएका कारण स्वदेश फिर्ता भएका छन्।

एक वर्षअघिदेखि जापानको ओसाका शहरमा उडान भर्ने तयारी गरिरहेको निगमले सन्तोष पाण्डेलाई जापानको ‘कन्ट्री मेनेजर’को रुपमा जापान पठाएको थियो। पर्यटक भिसामा जापान पुगेका पाण्डेले ‘वर्क पर्मिट’ नपाएपछि स्वदेश फिर्ता भएका हुन्।

पाण्डेले ‘वर्क पर्मिट’भिसाको लागि गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचनको कम्पनी आसुका ट्राभल्सबाट आवेदन दिएका थिए। यसअघि पनि पाण्डेले हिराचनकै कम्पनीमार्फत् नै आवेदन दिएर छ महिने वर्क पर्मिट पाएका थिए। हिराचनको कम्पनीले यसअघिदेखि नै जापानमा 'जेनरल सेल्स एजेन्ट'को रुपमा काम गर्दै आएको छ।

सरकारले हिराचनको कम्पनीलाई सेल्स एजेन्टबाट हटाएपछि उनले आवश्यक कागतपत्र नदिएपछि पाण्डेले भिसा नपाएको भनिएको छ। तर, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय ध्वजावाहकले कन्ट्री मेनेजरको रुपमा पठाएको प्रतिनिधिको भिसाको लागि नीजि कम्पनीमार्फत् आवेदन दिनु चरम लापर्बाहीको नमूना हो।

‘निगमले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर वर्क पर्मिटका लागि आवेदन दिन सक्थ्यो, गर्नुपर्ने पनि त्यही हो,’ निगमका एक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘तर व्यवस्थापनले निगमलाईनै दाउमा राखेर निजी कम्पनीबाट वर्क पर्मिटका लागि आवेदन दियो। त्यही कारण निगमका कर्मचारी वर्क पर्मिट सकिएर स्वदेश फर्किनुपर्ने अवस्था आयो।’

वर्क पर्मिट नभएपछि कन्ट्री म्यानेजर नेपाल आउन बाध्य भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए।

'सन्तोष पाण्डे अहिले नेपाल आउनुभएको छ। उहाँको भिसा रद्ध भएको छैन। तर देवमान हिराचनले वर्क पर्मिटको कागजपत्र नदिएपछि फेरी भिसा अप्लाइ गर्न नेपाल आउनुभएको छ,' चन्दले भने,’अहिले परराष्ट्रसँग समन्वय गरेर वर्क पर्मिटको प्रकृया अगाडि बढ्दैछ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell