PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

हे माधवी ! सकेँ भने फेरि तिमीलाई भेट्नेछु ...!



पहिलोपोस्ट

हे माधवी ! सकेँ भने फेरि तिमीलाई भेट्नेछु ...!
२०३९ सालको मदन पुरस्कार ग्रहण गर्दै मदनमणि दीक्षित। फोटो सौजन्य: मदन पुरस्कार गुठी

  • मदनमणि दीक्षित-

यहाँहरु सबैका हृदयमा यसबेला रहेकी माधवीलाई नमस्कार गर्दै तिनैलाई सम्बोधन गर्ने अनुमति निम्ति विनम्र प्रार्थना गर्दछु…

हे माधवी !

मदन पुरस्कारद्वारा तिमी पुरस्कृत भयौ। तिम्रो द्विरागमन सम्पन्न भयो। तिम्रो इतिहास फर्किएर आएको छ, बढी फराकिलो, बढी जिउँदो र बढी मानववादी भएर। बढी सौम्य, झन् विदूषी उत्सर्गवति-सहनशिला-निष्ठावति र आत्मदर्शी भएर तिमी फेरि आयौ हजारौं वर्षपछि। यसपालिको तिम्रो मन्त्र भने शान्तिमन्त्र हुनेछ। तिमीले देख्ने विमोचन उपन्यासका पिच्छल, सारिका, भल्लाक्ष, गिरिका र शान्ताका जस्ता होइनन् कि मान मात्रकै पूर्ण विमोचनको अब साक्षी हुनेछ्यौ तिमी, माधवी !

त्यसैले व्यासकी माधवी तिमी हजारौं बर्षपछि अहिले मात्र पुरस्कृत भयौ किनभने तिमीले वरुणवलीमा अब कुनै शिशुलाई अर्पित गर्नुपर्ने छैन, घोडाहरुसित साटिनुपर्ने छैन, नियोग निम्ति विश्वामित्रको आदेश पालन गरेर प्रमतकलाई विरक्त स्वागत गर्नुपर्ने छैन र आफूले उनेको मालामा गालवका फूल निम्ति अब रित्तो ठाउँ छाड्दै जानुपर्ने छैन।

हर्यश्व दासशालाको ‘अमोह‌‍ऽमस्मि’ मन्त्रको त्यो अज्ञात दासले गरेको भविश्यवाणी- ‘अमोह‌‍ऽमस्मि !' शान्त हो पुलह शान्त ! हाम्रो प्राणहरण निम्ति आदेश दिन थालिस्? अन्त्य त मेरो पो आउँदै छ, हामी दासहरुले एक दिन दासशालाका श्रृंखलाको यो संसारबाट मोक्ष पाउनेछौं, यो संसारबाट अँध्यारो सागरपारिको प्रकाशमा हामी पुग्नेछौं, बरु तिमीहरु नै त्यो अँध्यारो सागरमा डुब्नेछौ’- आजको संसारमा चरितार्थ हुँदैछ- तिम्रो वैष्णवी मन्त्रपछि आजको वर्ग-विमोचनका मन्त्रद्वारा।

मेरा आँसु, रगत र पसिनामा निथ्रुक्क भिज्दै तिमीले फेरि यो संसारमा गएको चैत्रमा शब्दरुप पाएकी थियौ, गालवले दोस्रोपटक गुरुदक्षिणा चढाएर गुरुतर भारबाट मुक्ति पाएको थियो। म प्रसन्न थिएँ। तिम्रो र गालवको साहचर्यमा न्याना उच्छवास छाड्दै मैले ती सात बर्षजति बिताएर २९ चैत्रमा तिमीहरुसँग बिदा लिएको थिएँ। अहिले यो पुरस्कार पाएर गालवले सँधै नै देवी ‘माधवी!’ भनेर सम्बोधन गरिएकी तिमी वारुणी महामाया फेरि मेरा सामु आइपुग्यौ। शब्दरुपमा, कर्मरुपमा र शब्द तथा कर्मको समन्वय रुपमा।

शब्दरुपमा स्वागत छ देवी माधवी, तिमी यसै गरी सँधै-सँधै फर्किएर आइरहे- मेरा शब्द भएर, अरुका शब्द भएर, लाखौं नेपालीका शब्द भएर। वाणी, भारती, सरस्वतीका रुपमा सँधै हाम्रा हृदयमा बास गरिरहे। अनि विमोचनकारी कर्म भएर पनि तिमी बारम्बार आइरहे यो नेपालमा। लेनिनले सामाजिक परिवर्तन निम्ति संगठन गर्दा कर्म र शब्दलाई सँधै सर्वोच्च ठाउँ दिएका थिए। आजको यो संसारलाई देखेर तिमीले बुझेकी छँदैछौ नि देवी !

मानव समाजमा कर्म र शब्द अमृत, अजर, अमर र शाश्वत छन्। शब्दले ईश्वरसमेतको सृष्टि गर्‍यो, कर्मले ज्ञान-विज्ञान र विकासमा क्रान्ति गरिरहेछ र दुवैको समन्वयले विश्वमा स्थायी शान्ति ल्याउने भएको छ। तिमी त्यो समवेत रुप हौ माधवी र समवेत भएरै मेरो जीवनमा आयौ- आफ्नो अधूरो रहेको कर्म, त्यो स्वयम्बरलाई हजारौं वर्षपछि नेपालमा यहाँ पुरा गर्‍यौ। साँच्चै नै आजको संसार मानव जीवनको परिपूरतितर्फ नै त झन्झन् लम्किरहेको छ। आऊ अघि बढौं- सँगसँगै। त्यो कर्णिकार बोटमुन्तिर गालवसामु गरेको आफ्नो त्यो प्रतिज्ञालाई आज फेरि सम्झ- ‘सहनाभवतु सहनौ भुनक्तु सहवीर्य करवावहै… ।‘ त्यस दिनको तिम्रो त्यो प्रतिज्ञा नै आजको हाम्रो, समग्र नेपालीको प्रथम प्रतिज्ञा हुनुपरेको छ। लौ आऊ देवी माधवी, सँगै उभिएर शान्त मनले त्यो प्रतिज्ञालाई आज हामी सबै फेरि दोहोर्‍याऊँ। मेरो जीवनमा तिम्रो द्विरागमन त्यही प्रतिज्ञामा सार्थक हुनेछ- अब तिमीले र गालवले त्यसरी पहिले झैं दासत्वमा भौँतारिँदै हिँड्नुपर्ने छैन र सजिलै गुरुदक्षिणा- भारबाट मुक्ति पाउनेछौ।

‘चरैवेति-चरैवेति’ कै त त्यो तिम्रो जीवन थियो। आज त्यसमा झन् नयाँ दिशा र झन् नयाँ वेग थप्नुपरेको छ, लौ फेरि सँगै काम गरौं, सबै नेपालीमा नयाँ शक्ति थपौं। व्यासासनसामु हात जोडेर हजारौं वर्ष मौन उभिरह्यौ महाभारतमा, अब हिँड र नेपालको तीर्थयात्रा गर्दै संसारलाई अँगालोमा अटाउने कोसिस गर। नेपालीहरु तिम्रा साथ छन्। यी सात हिमाल र ती एक्काइस् सागर तिम्रै कर्मक्षेत्र हुन्।

मलाई थाहा छैन देवी माधवी, तिमी के भाषा बोल्थ्यौ। तर तिम्रो जीवनले यो मेरो नेपाली भाषामा थप पूर्णता र बढी परिपूर्ति पायो- त्यो परिपूर्ति नभएको भए तिमी पुरस्कृत पनि हुने थिइनौ र एउटा ठूलो राष्ट्रिय सम्मानबाट वञ्चित हुने थियौ। तिम्रो यो सम्मानमा आज व्यास नै कति प्रसन्न भए होलान्, मेरो त के कुरा ! तिम्रो समयमा मुद्रा थिएन देवी- मन्त्र र माला थिए। त्यसकारण आजको यो पुरस्कारको राशिलाई भन्दा पनि साथको यो दीयोको प्रकाशलाई हेर, आफ्नो अमोह‌‍ऽमस्मिको- म प्राण हुँ, म मानिस हुँ- भन्ने मूलमन्त्रलाई सार्थक तुल्याउन नेपाली वाङ्मयको अझ बढी सम्बर्द्धन निम्ति यो पुरस्कारलाई, यो दीपशिखालाई न्याय र विवेकका दृष्टिले हेरेर ग्रहण गर अनि अझ सुन्दरी, झन् विदुपी, झन् आत्मनिष्ठ, आत्म-निग्रही, झन् उज्याली र शब्द-कर्म-समन्वयी भएर नेपाली वाङ्मयको अभिवृद्धि निम्ति हरेक वर्ष आऊ र यसैगरी पुरस्कार र दीपशिखा ग्रहण गर्दै नेपाली लेखनीको सरस्वतीरुपको सम्बर्द्धन गर देवी ! यो मदन पुरस्कार भनेको तिम्रै निम्ति थियो, तिम्रै निम्ति भयो र तिम्रै निम्ति रहिरहने विश्चित विश्वास गर। आत्मविश्वासलाई गुमाउनु पर्ने छैन भन्ने बुझ।

मलाई थाहा छ, आजको यो कथावारे तिमीले व्यास, वैशम्पायन र शुकलाई मुटु अठ्याउने गरी सुनाउनेछ्यौ। तिम्रो आफ्नो कथाको यो निम्ति त तिमीप्रति आभार व्यक्त गर्छु। तिमीसित मेरो यस्तो साक्षात्कार नै त मेरा निम्ति ठूला ज्ञानका श्रोत बनेका छन्।

धन्यवाद छ देवी, म फेरि पनि तिमीप्रति नै ऋणी रहनेछु र सकेँ भने फेरि तिमीलाई भेट्नेछु।

२०४० साल असोज २५ गतेका दिन आयोजित समारोहमा ‘माधवी’ग्रन्थका लागि प्रदान गरिएको २०३९ सालको मदन पुरस्कार ग्रहण गरेपछि माधवीका स्रष्टा मदनमणि दीक्षितले व्यक्त गरेको उदगार। यो उदगार हामीले मदन पुरस्कार गुठीको साइटबाट साभार गरेका हौं। साहित्यकार दीक्षितको बिहीवार बिहान निधन भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell