
सुर्खेतः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवको किल्ला मानिने कालिकोटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृहजिल्ला भित्रिएसँगै सुरक्षा चुनौती थपिएको छ। केही दिनअघि गृहजिल्ला पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समूहका कार्यकर्ताले बम विष्फोट गराउँदै आएका छन्।
विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत प्रभावशाली नेताको पकड रहेको कालिकोटमा लगातार दुई दिन बम विष्फोट गरेर आतंकित बनाउने काम गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
हिजोमात्रै कालिकोटकै पचाल झरना गाउँपालिकामा एक कार्यक्रमको उद्घाटन गर्न पुगेको मुख्यमन्त्री शाही रहेको ठाउँभन्दा करिब ५ किलोमिटर टाढा बम विष्फोट गरेको थियो। तर, प्रहरीले भने यसलाई हल्लाको संज्ञा दिएको छ।
आज पनि मुख्यमन्त्री शाही लक्षित गरी बिहान १० बजे कालिकोट रास्कोटमा दुई वटा बम विष्फोट गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए। कोटिलागाउँबाट रास्कोटको एक कार्यक्रम उद्घाटन गर्न पुगेका मुख्यमन्त्री शाही लक्षित गरी करिव ३०० मिटरको दुरीमा बम विस्फोट गरेको प्रहरीले जनाएको छ। बम विस्फोटबाट कुनै पनि क्षति नभएको प्रहरीको भनाई छ। मुख्यमन्त्री शाहीसँग प्रदेशसभा सदस्य कुर्मराज शाही पनि साथमा रहेका छन्।
केही दिन अघिदेखि मुख्यमन्त्री शाही गृहजिल्लाका विभिन्न औपचारिक कार्यक्रम उद्घाटन र नेता तथा कार्यकर्ता भेटघाटमा निस्किएका छन्।
कालिकोटमा पछिल्लो सयम सुरक्षा व्यवस्था थप कडा पारिएको डिएसपी शर्माले बताए। ‘पछिल्लो समय केही अराजक गतिविधि हुन थालेको छ,’ उनले भने, ‘हामीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै केही कडाइ गरेका छौँ।’