PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मोडलिङबाट रजतपटमा डेब्यु गरेकी रेविका, भन्छिन्, 'एक दुइटा फिल्ममा अनुहार देखाएर हराउँदिनँ'



मन्दिरा खत्री

मोडलिङबाट रजतपटमा डेब्यु गरेकी रेविका, भन्छिन्, 'एक दुइटा फिल्ममा अनुहार देखाएर हराउँदिनँ'

नेपाली रजतपटमा नवनायक नायिकाहरूको कमी छैन। धेरैले फिल्मी क्षेत्रमा आफ्नो अभिनयको भविष्य टिकाउने प्रयास गरे। तीमध्ये केही मात्रै सफल रहे। धेरै स्थापित हुन संघर्षरत छन्। तिनैमध्येकि एक हुन् रेविका गुरुङ। फिल्म 'मारुनी'बाट डेब्यु गर्दैछिन् रेविका। भदौ १३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको मारुनीको प्रमोसनसँगै उनी अर्को फिल्मको तयारीमा छिन्। उनी कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ फिल्म 'म'मा अनुबन्धित भएकी छिन्। कस्तो रहला रेविकाको डेब्यु? मन्दिरा खत्रीले गरेको कुराकानीः-

डेब्यु गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ?

फिल्मलाई लिएर निकै उत्साहित छु। डेब्यु फिल्म भएकाले धेरै अपेक्षा छ। 

मारुनीको अफर कसरी आयो?

म म्यासेन्जरको म्यासेज रिक्वेस्ट नहेर्ने मान्छे, त्यो दिन चाहिँ कहाँबाट मैले हेरेछु। पुनम दिदी (मारुनीकी निर्माता) ले पठाउनु भएको रहेछ। उहाँसँग कुरा भएपछि मैले नम्बर दिएँ र भेटेर कुराकानी भयो। उहाँले मलाई फिल्म अफर गर्नुभयो। म तयार भएँ। उहाँले मलाई 'लिलीबिली'मा अनुबन्धित हुँदा नै नोटिस गर्नुभएको रहेछ।

तर, 'लिलीबिली'मा अनुबन्धित हुँदाहुँदै के कारणले फिल्मबाट पछि हट्नुभयो नि?

म 'लिलीबिली'मा अनुबन्धित भइसकेकी थिएँ। छायांकन विदेशमा हुने भयो। मेरो भिसा लागेन। त्यसैले म फिल्मबाट पछि हट्नु पर्‍यो।

डेब्यु फिल्मबाटै स्थापित भइसकेका कलाकारसँग स्क्रिन शेयर गर्दै हुनुहुन्छ। आफू छायामा परिन्छ कि भन्ने लागेन?

अहँ लागेन। मलाई आफूमाथि पूर्ण विश्वास छ। मलाई लाग्दैन कि म कुनै पनि तरिकाले छायामा परेको छु। मैले यो फिल्मका लागि सक्दो मेहनत गरेको छु। साम्राज्ञी र पुष्पसँग काम गर्दा खुसी छु। बाँकी सबै दर्शकमा निर्भर हुन्छ।

मारुनीमा कस्तो भूमिकामा देखिँदै हुनुहुन्छ?

मेरो लिड रोल छ। सिम्पल र इनोसेन्ट केटीको रोलमा देखिएकी छु। मारुनी दुई नारीको कहानी हो। त्यसैले फिल्म मसालेदार र 'फुल अफ ड्रामा' र लभस्टोरी जनरामा निर्माण भएको छ।

फिल्मको प्रमोसनमा कति व्यस्त हुनुहुन्छ?

प्रमोसनको लागि त्यस्तो धेरै भागदौड त भएको छैन। बिस्तारै सुरु हुन्छ।

फिल्मसम्मको यात्रा कसरी तय गर्नुभयो ?

मेरो मामा फेसन फोटोग्राफर हुनुहुन्छ। उहाँसँग हिँड्दाहिँड्दै धेरैले मलाई मोडलिङ गर्न सुझाव दिनुहुन्थ्यो। त्यसरी नै म मामासँग विभिन्न कार्यक्रममा जाने गर्थेँ। त्यहाँ नै म नोटिसमा परेकी रहेछु।

नेपाली फिल्ममा नयाँ कलाकार आउने जाने क्रम चलिरहन्छ। एउटामा अभिनय गरेपछि पर्दाबाट हराउने गर्छन् नि कलाकार?

सबैको आ-आफ्नो छनोट हो। कलाकारले फिल्म छनोटमा धेरै ध्यान दिन्छन्। मलाई पनि धेरैले फिल्म छनोटमा धेरै विचार गर भनेर सुझाएका छन्। तर, अहिले नै म फिल्मी क्षेत्रमा यति भिजिसकेँ कि अब म लामो समय फिल्मबाट अलग बस्न सक्दिनँ। राम्रो स्क्रिप्ट आउँछ भने म पछि हट्दिनँ।

राम्रो फिल्म पाउन कलाकारहरूले निकै संघर्ष गर्नुपर्छ। तपाईँले कस्तो कठिनाइ भोग्नुपर्‍यो? 

फिल्मी क्षेत्रमा आउन मैले खासै संघर्ष गर्नु परेन। 'लिलीबिली'मा पनि टिभिएसबाटै सेलेक्ट भएर आएकी थिएँ। 'मारुनी' पनि पुनम दिदीले सीधै अफर गर्नुभएको थियो। फिल्मी क्षेत्रमा पसिसकेपछि चाहिँ अलि गाह्रो हुँदो रहेछ। परिवारको साथ र सहयोगले सहज बनाएको छ।

भनेपछि घरपरिवारबाट राम्रो रेस्पोन्स पाउनु भएको छ?

म फिल्मी क्षेत्रमा जान्छु भनेर घरमा कसैले सोच्नु पनि भएको थिएन। मेरो सोच स्नातकोत्तर गर्छु भन्ने थियो। स्नातकपछि मात्र केही काम गर्ने विचार थियो। एक्कासी फिल्मको अफर आउँदा घरका सबै जना एकदम खुसी नै हुनुभयो।

कसलाई आफ्नो आइडल मान्नु हुन्छ ? 

मेरो आमा नै मेरो जीवनको सबैभन्दा ठूलो आइडल हुनुहुन्छ। फिल्म क्षेत्रमा भर्खरै सिक्दैछु उहाँहरूलाई हेरेर म पोजेटिभ इनर्जी पाउँछु। 

मारुनीको युनिटसँग काम गर्दाको अनुभव कस्तो रह्यो?

पहिला त धेरै मानिसको अगाडि कसरी अभिनय गर्ने जस्तो भएको थियो। सबैले सहयोग गर्नुभयो र मलाई असहज महसुस भएन। अलिअलि तनाव त भइहाल्छ तर तनावसँगै रमाइलो पनि भयो। मैले सोचेको पनि थिइनँ त्यति रमाइलो हुन्छ भनेर।

मारुनीबाट 'म' सम्मको यात्रा कसरी तय भयो?

मारुनीको लागि मैले कान्तिपुर फिल्म एकेडेमीबाट करिब २० दिनको वर्कशप लिएको थिएँ। त्यसपछि एक दिन मलाई एकेडेमीबाट कल आयो। भेटेर फिल्मको स्क्रिप्ट सुनेँ। मलाई स्क्रिप्ट मनपर्‍यो र मैले 'म' अभिनय गर्न तयार भएँ।

यो हिरोसँग चाहिँ अभिनय गर्नुपर्छ भन्ने चाहना होला नि?

अहिले नै मैले त्यस्तो केही सोचेकै छैन। जोसँग गरे पनि हुन्छ। मलाई सबै हिरोसँग स्क्रिन शेयर गर्न मन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell