काठमाडौं: आज सापारु अर्थात गाईजात्रा। नेवार समुदायमा साया: (सायात) का रुपमा आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतोकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। केहीले भने बाजासहित गाईलाई नै नगर परिक्रमा गराउने गर्छन्। नेपालभाषामा 'सा' भनेको गाई र 'या:' भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गयो।
काठमाडौं उपत्यकामा सापारुलाई विभिन्न किसिमले मनाउने गरिन्छ। काठमाडौंमा दिवंगतहरुको सम्झनामा बालबालिकाहरुलाई सिंगारेर गाई अंकित चित्र, मुकुन्डो, सिङ लगाएर नगर परिक्रममा गराउने गरिन्छ। त्यसक्रममा बालबालिकालाई फलफूल, रोटीलगायतका खानेकुरा दिने चलन रहेको छ। यता कीर्तिपुरमा पनि व्यंग्यात्मक रुपमा सापारु मनाइने गरिन्छ।
पाटनमा भने बालबालिकालाई देवीदेवताका रुपमा सजाएर नगर परिक्रमा गर्ने गरिन्छ। गाईजात्राको भोलिपल्ट मतया (दिपयात्रा) गरी मन्दिर, बहा: बही घुम्ने गरिन्छ। विभिन्न बाजा बजाउँदै व्यंग्य गर्दै मन्दिर र विहारहरुमा भोज चढाउँदै बिहानैबाट सुरु हुने मतमामा मानिसहरुले दिवंगत आत्माको शान्तिको कामना गर्ने गर्छन्।
उपत्यकामा मनाइने सापारुमध्ये भक्तपुरमा मनाइने सापारुलाई आकर्षक मानिन्छ। यहाँ बालबालिकालाई सजाएर नगर परिक्रमा गराइँदैन।
यहाँ भने ताहासां (ताहामचा) बनाएर नगर परिक्रमा गर्ने गरिन्छ। मृत व्यक्तिको सम्झनामा बाँसको चारखुट्टे खट बनाएर त्यसमा दिवंगत व्यक्तिको तस्विर र बसाहा राखेर जात्रा गर्ने चलन रहेको छ। विशेषगरी लट्ठी जुधाई सांगीतिक तालमा नाचिने 'घिन्ताङ घिसी' भक्तपुरको आकर्षण हो।
'ताहा मचा गना ते.. ग्वाखङ प्वाले ते.. ग्वाखङ प्वाले म्न्ह्यङ्सा.. खुसिङ चुइक छुवेय..' भन्दै सात दिनसम्म घिन्ताङ घिसी प्याखं नचाउने गरिन्छ।