चितवन : पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर प्रहरीले पक्राउ गरेका रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय बाहिर प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
एक प्रहरी भ्यानमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाट्ठीचार्ज गरेको हो। प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठक बसिरहँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। अवस्था नियन्त्रणमा लिनका लागि चितवन जिल्लामा रहेका प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मीलाई भरतपुरमा तैनाथ गरिएको छ। यस्तै हेटौंडाबाट दंगा नियन्त्रण प्रहरीलाई समेत परिचालन गरिएको छ।
रविका समर्थकहरुले शुक्रवारबाट नै चितवनका विभिन्न स्थानमा रविलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्। शुक्रवार प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुंगा हानेपछि हिजो केहीबेर बेर अवस्था असामान्य बनेको थियो।
यसैबीच, लामिछानेलाई भेटन कांग्रेस छाया सरकारका गृह मन्त्री दिलेन्द्रप्रसाद बडु चितवन पुगेका छन्। पहिलोपोस्टसँग कुरा गर्दै बडुले आफूले एसपी दानबहादुर मल्ल र प्रमुख जिल्ला अधिकारीलाई निष्पक्ष छानविन हुनुपर्ने र दुराग्रह पूर्ण तरिकाले कसैलाई नफसाइयोस भनेर भनेको बताए।
शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो। प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो।
बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पक्राउ गरेपछि बिहिवार राति नै थप अनुसन्धानका लागि उनीहरुलाई चितवन लगिएको थियो।
साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए।