सापारुको अन्त्यसँगै मध्यपुर थिमीमा विभिन्न नाचहरु प्रदर्शनमा आएका छन्। थिमी, बोडे, नगदेशमा निलबाराही, महांकाल, अष्टमातृका, भष्मासुर मोहिनी लगायत नाच प्रदर्शनमा आएका हुन्।
यता शनिबार मध्यरातदेखि भने मध्यपुर थिमीमा लोपोन्मुख 'लायकू भैलः' नाच सुरु भएको छ। नेपालभाषामा लायकूको अर्थ दरबार र भैलः को अर्थ भैरव भन्ने हुन्छ।
४७ वर्ष रोकिएको सो नाच स्थानीयको सक्रियतामा केही वर्ष यतादेखि पुन: सञ्चालनमा आएको हो।
मध्यपुर थिमिको लायकूबाट निस्किने यो नाच शनिबार बालकुमारी मन्दिर परिसरमा प्रदर्शन गरिएको थियो। तान्त्रिक विधिअनुसार नचाइने भैलः नाच आउने चार दिनसम्म प्रत्येक साँझदेखि राति अबेरसम्म विभिन्न टोलहरुमा प्रस्तुत गरिनेछ।
यस नाचमा दुई जना भैलः, दाःगिं (कुमारी) दुई जना र ज्यापूँग एक गरी पाँच देवगण सहभागी हुने गर्छन्। यस ज्यापुगः मा सोहन श्रेष्ठ, न्हापा भैलः मा विनोद श्रेष्ठ, लिपा भैलः मा सजन श्रेष्ठ, न्हापा दा:गिंमा सज्जन श्रेष्ठ तथा लिपा दागिंमा सोनिश श्रेष्ठले नाच नाच्दै छन्।
भैल:ले खड्ग, कुमारीले डमरु र ज्यापुँगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गर्छन्। नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत हुने गर्छन्। त्यसपछि ज्यापुँगःले ताय् ले हानेर उनीहरूलाई शान्त बनाइन्छ।
भूमिसुधारका कारण रोकिएको नृत्य
भैल: अत्यन्तै शक्तिशाली देवता हुन्। नेपाल भाषी बसोबास गर्ने टोलटोलमा भैल: को पूजा हुन्छ। नृत्य हुन्छ। तर ती सबै प्रचलन विस्तारै लोप हुँदै गएका छन्।
थिमीमा देखाइने लायकू भैल: नृत्य पनि २०२५ सालमा रोकिएको बताइन्छ। रोकिनुको कारण थियो नापीको आधारमा २०२४ सालमा भूमिसुधारले लायकू भैल: का गुठियारहरूको जग्गा रैतानी गर्नु। गुठीको जग्गा मासिएपछि भैल: नाचका पःमा (प्रधान नाइके) लगायतका आयस्ता नै खोसियो र कहिल्यै रोक्न नहुने भैल: नृत्य रकम अभाव भएर रोकियो।
४७ सालसम्म नाच रोकिएसँगै नाच सिकाउने, बाजा बजाउने र बाजा बजाउन सिकाउने गुरुहरू रहेनन्। जिउँदो रहेकाहरूलाई पनि नाचबारे कम मात्रै ज्ञान थियो। नाचमा लगाउने ख्वापा (मुकुन्डो), गरगहना, पोसाक केही नष्ट भए केही हराए। फलस्वरूप नृत्य नै लोप प्रायः भइसकेको थियो।
दुर्लभ किताब भेट्टाएसँगै ब्युँतियो भैल:
नाच लोप भएता पनि स्थानीयहरूले कयौँ साल यसलाई फेरि ब्युँताउने प्रयास गरेका थिए। स्थानीय सरकार आएपछि मध्यपुर थिमी नगरपालिकाले पनि उनीहरूलाई सघायो। तर, ४७ वर्षसम्म हराएको कुरा एक्कासि पाउन कहाँ सजिलो हुन्थयो र। न नाच्न जान्ने कोही थिए र नाच्न सिकाउन नै।
शून्य प्रयासबीच उनीहरूलाई ढुंगो खोज्दा देउता भेटिएजस्तै भयो, जतिबेला उनीहरूले लायकू भैल: नृत्यबारे एउटा अत्यन्त दुर्लभ र लुकाइएको पुस्तक भेट्टाए।
पुस्तकमा लायकू भैरव नृत्यबारे आवश्यक सबै जानकारी उल्लेख गरिएको थियो। नृत्यविधि, नाच्नेले लगाउने मखुन्डो बनाउने विधि, कलाकारका पोसाक र गरगहनासम्बन्धमा विस्तृत जानकारी पुस्तकमा उल्लेख थियो।
त्यही पुस्तकका आधारमा २०७२ सालमा लोप प्राय: भइसकेको लायकू भैल: नृत्य ब्युँताइएको थियो। त्यसपछि पनि लगातार दुई वर्ष भैल: नृत्य प्रदर्शन गरियो। तर, ०७५ सालमा थिमीका प्रजापति समुदायले पनि भैल: नृत्य प्रस्तुत गर्ने भएपछि लायकू भैल नृत्य त्यस वर्ष देखाइएन।
यस वर्ष भने फेरि लायकू भैल: मध्यपुर थिमीमा नाच्न निस्किएका छन्।