
भरतपुरः राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका-१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ। बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन्। शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ।
भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। विद्युत् सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात, पैसाको लकर र सर्बर सुरक्षित रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। रासस