PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य



पहिलोपोस्ट

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य

कैलालीः ८ वटा विधेयक पारित गर्दै सुदूरपश्चिम प्रदेश सभाको बर्से अर्थात् बजेट अधिवेशन अन्त्य भएको छ। सभामुख अर्जुनबहादुर थापाले आइतबार प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र पढेर सुनाएपछि बजेट अधिवेशन अन्त्य भएको घोषणा गरे।

जेठ १ गते सुरु भएको बर्से अधिवेशनमा ८ वटा विधेयक पारित भएका छन् । अनुगमन समिति गठन हुनुका साथै ३९ घण्टासम्म चलेको अधिवेशनमा ३६ वटा बैठक सञ्चालन भएको थापाले प्रदेश सभालाई जानकारी गराए ।

चौथो अर्थात् बर्से अधिवेशनमा प्रदेश स्वरोजगार कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,  औद्योगिक व्यवसाय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन विधेयक, बजेट पारित, प्रदेशका केही ऐन संशोधन सम्बन्धी विधेयक र प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी ८ वटा विधेयक पारित भएका हुन् ।

बर्से अधिवेशनमा प्रदेश स्वरोजगार कोष तथा प्रदेश लोक सेवा आयोग जस्ता महत्त्वपूर्ण विधेयक पारित भएकाले तिनको कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले अधिवेशन अन्त्यपछि प्रतिक्रिया दिए ।

बर्से अधिवेशनको समीक्षाका क्रममा सत्तारुढ दलका प्रमुख सचेतक तारा लामा तामाङले यो अधिवेशनमा सरकारलाई सच्चिन र आगामी कार्यदिशालाई चुस्त बनाउन आफूहरुले महत्त्वपूर्ण भूमिका खेलेको बताए। सरकारले राजधानी कार्यान्वयनमा केही कदम अघि सार्ने अपेक्षा गरिएकोमा त्यसो हुन नसकेकोप्रति भने उनले असन्तुष्टि जनाए।

समीक्षाका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा= रणबहादुर रावलले सरकारले बर्से अधिवेशनमा सांसदहरूको सम्मान र प्रदेशको विकासमा प्रतिबद्धता जनाए अनुरूप काम गर्ने लक्षण नदेखाएको आरोप लाए। अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी -राजपा)की सांसद मालामती कुमारी रानाले पनि सरकारका काम कारवाही प्रभावकारी बन्न नसकेको प्रति तीव्र असन्तुष्टि जनाइन्।

सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशनमा बजेटको विषयमा सरकार र सांसदहरूबीच असन्तुष्टि बढेपछि लगातार ९ पटकसम्म बैठक सरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell