
काठमाडौंः पूर्वयुवराज पारस शाह विभिन्न लफडाका कारण विवादमा आइरहने व्यक्तिमा पर्छन्। त्रिपुरेश्वरमा ट्राफिक नियम उल्लङ्घन गरेर पछिल्लो पटक विवादमा आएका शाह फेरि अर्को काण्डका कारण विवादित बनेका छन्।
शाहले आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा खटिएका एक प्रहरीलाई दुर्व्यवहार गरेका छन्। विमानस्थलको भिआइपी कक्षको सुरक्षामा खटिएका सईले शाहका छोरा र भान्जालाई चेकजाँच गर्न खोजेपछि शाहले सईमाथि हातपात गरेका थिए। पूर्वयुवराज शाह आइतबार आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पुगेका थिए।
ड्युटीमा रहेका प्रहरीलाई कसैले हातपात गरेमा प्रहरीले सार्वजनिक अपराधमा मुद्धा चलाउन सक्छ। तर पीडित सईले कुनै पनि जानकारी नदिएकाले प्रहरीले कुनै पनि कारबाहीको तयारी गरेको छैन।
विमानस्थल प्रहरी यस घटनामा खुलेर बोल्न चाहेको छैन। विमानस्थलका एसएसपी सन्दीप भण्डारी, एसपी कृष्ण कोइरालाले आफू बिदामा भएको भन्दै कुनै औपचारिक जानकारी दिन चाहेनन्।