PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः जित्नै पर्ने दबाबमा नेपाल र माल्दिभ्स



पहिलोपोस्ट

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः जित्नै पर्ने दबाबमा नेपाल र माल्दिभ्स

काठमाडौंः काठमाडौंमा जारी एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ। समूह 'ए' मा रहेका नेपाल र माल्दिभ्स दुवै पहिलो खेलमा फितलो प्रदर्शन गर्दै ३–० को सोझो सेटमा किर्गिस्तानसँग पराजित भएका थिए।

किर्गिस्तान लगातार २ खेलमा सहज जित निकाल्दै समूह विजेताका रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ। नेपाल र माल्दिभ्सबीचको खेल आज साँझ ५ बजे लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा हुने छ। नेपाल र माल्दिभ्सबीचको विजेता समूह ‘ए’ बाट अर्को चरणमा प्रवेश गर्ने छ।

आजै उज्बेकिस्तान र अफगानिस्तान तथा तुर्कमेनिस्तान र बंगलादेशबीच पनि प्रतिस्पर्धा हुने छ। उज्बेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो। उज्बेकिस्तान र अफगानिस्तानको खेल दिउँसो ३ बजे तथा तुर्कमेनिस्तान र बंगलादेशको खेल साँझ ७ बजे सुरु हुने छ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। समूह ‘ए’ मा नेपाललगायत किर्गिस्तान र माल्दिभ्स रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन्।

भदौ ७ गतेसम्म हुने एभिसी सेन्ट्रलजोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललगायत किर्गिस्तान, माल्दिभ्स, तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तानको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell