PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भारतीय विदेशमन्त्री जयशंकर आइपुगे काठमाडौं, परराष्ट्र सचिव बैरागीले गरे स्वागत



प्रवीण रानाभाट

भारतीय विदेशमन्त्री जयशंकर आइपुगे काठमाडौं, परराष्ट्र सचिव बैरागीले गरे स्वागत

काठमाडौं: भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। नेपाल भारतको संयुक्त आयोगको बैठकमा भाग लिन आइपुगेका विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरे।

जयशंकरलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि विमानस्थल पुगेका थिए।

जयशंकरले आज आयोगको बैठकका अतिरिक्त राजनीतिक भेटघाट पनि गर्नेछन्।

बैठकमा सहभागी हुनुअघि नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नेछन्। यस्तै, जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यतालिका रहेको छ।

विदेशमन्त्री भएपछि उनी पहिलोपटक नेपाल आएका हुन्। संविधान जारी हुनुअघि जयशंकर नेपाल आएका थिए। तत्कालीन विदेश सचिव समेत रहेका जयशंकरको नेपाल भ्रमणपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो। कतिपयले जयशंकरलाई नाकाबन्दीका सूत्रधार समेत बताउँदै आएका छन्।

आयोगको बैठक आज ३ बजे उद्घाटन हुँदैछ। बैठकमा राजनीति, सीमा सुरक्षा, व्यापार र पारवहनलगायत विषयमा छलफल हुनेछ। केही द्विपक्षीय सम्झौताको पनि तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell